नवलपरासीको बर्दघाट सुस्तापूर्व कावासोतीमा रु ६८ लाख लागतमा निर्माण सम्पन्न भएको दृश्यावलोकन स्थल (भ्यूटावर) बेवारिसे बनेको छ । कावासोती नगरपालिका-१ बालुवाडाँडामा रु ६८ लाख लगानीमा ६० फिट अग्लो टावर निर्माण गरिएको थियो ।
तीन वर्षअघि निर्माण सम्पन्न भएको टावरको प्रयोग रेखदेख एवं सञ्चालन गर्ने निकायका अभावमा अहिले बेवारिसे अवस्थामा पुगेको हो । टावरको अहिले स्टिलका बार चोरी हुन थालेका छन् भने भ्यूटावर मद्यपान र धुमपान गर्नेको रोजाइको केन्द्र बन्न थालेको छ ।
स्थानीय जितुमाया रानाका अनुसार भ्यूटावरमा लगाइएको स्टिलको बार काटेर लगिएको छ, भित्ताका प्लास्टर उप्किएको छ, लेउ लागेको छ, यत्रतत्र फोहर फालिएको छ, जमिन पनि धाँजा भएर फाट्न थालेको छ ।
टावर बनेपछि पर्यटकीय गतिविधि बढ्ने र स्थानीयको आयआर्जनमा वृद्धि हुने आशाले रानालगायत भ्यूटावर नजिकै घर भएका स्थानीयवासी खुसी भएका थिए, तर भ्यूटावर बनेको तीन वर्ष हुँदासम्म पनि सञ्चालनमा नआउँदा खुसीभन्दा पनि अहिले असुरक्षा बढेको उनको भनाइ छ ।
भ्यूटावर सञ्चालन गर्ने निकाय नहुँदा विकृति बढ्दै गएको र बाटोमा हिँड्न पनि डरलाग्दो भएको उल्लेख गर्दै उनले भनेकी छन्, ‘अबेर रातिसम्म मदिरा सेवन गर्नेको समूह धेरै आउन थालेको छ, कहिलेकाहीँ त दिउँसै पनि लट्ठिएर हिँड्दा स्थानीय बालबालिकालाई पनि डर हुने अवस्था सृजना भएको छ ।’
कावासोती-१ का वडाध्यक्ष तबारक अहमद मियाँले भ्यूटावर सञ्चालनमा नआए पनि दैनिक सयभन्दा धेरै आन्तरिक पर्यटक भ्यूटावर क्षेत्र घुम्न आउने गरेको बताए । व्यवस्थित रूपमा भ्यूटावर सञ्चालन नहुँदा दैनिक आम्दानीको स्रोत गुमिरहेको र रेखदेख नहुँदा त्यस क्षेत्रमा फोहरको थुप्रो लागेको भन्दै उनले तत्काल भ्यूटावर व्यवस्थित रूपमा सञ्चालन गर्ने गरी नगरपालिकामा पहल गरिरहेको जानकारी दिए ।
भ्यूटावरको वरिपरि पहिरो जान थालेपछि आर्थिक वर्ष २०७९/८० मा रु १० लाख बजेट विनियोजन गरी नगरपालिकाले ‘कम्पाउण्ड वाल’ लगाउन सुरु गरेको थियो । चालु आवमा पनि कम्पाउन्ड वाल निर्माणका लागि रु १० लाख रकम विनियोजन गरिएको छ । भ्यूटावर व्यवस्थापन र नियमित सञ्चालनका लागि नगरपालिकाले प्राथमिकतामा राखेको कावासोतीका नगरप्रमुख विष्णुप्रसाद भुसालले बताए ।
समुद्री सतहबाट झण्डै आठ सय मिटर उचाइमा रहेको भ्यूटावर पूर्वपश्चिम राजमार्गको फलफूलचोकबाट ११ किलोमिटरको दूरीमा रहेको छ । यस क्षेत्रबाट जिल्लाका अधिकांश भूभागसँगै चितवनसहित भारतीय क्षेत्रसमेत देख्न सकिन्छ ।
photo: rss
प्रतिक्रिया