जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौँको गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलमा सिरहा घर भई हाल काठमाडौं महानगरपालिका-३ बसुन्धारा बस्दै आएकी एक महिलाको हत्या गरेको आरोपमा दुईजनालाई पक्राउ गरी आज (२३ भदौ) सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका-३ का ४० वर्षीय रामविनय महरी तथा सर्लाहीको बसगरिया गाउँपालिका-५ घर भई हाल काठमाडौं महानगरपालिका-३ बसुन्धारा बस्ने २४ वर्षीय सन्तोषराम महरा रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
यही भदौ २० गते गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित ढुङ्गाको चेपभित्र महिलाको शव भेटिएपछि जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धको टोलीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानकै क्रममा दुवैजनालाई प्रहरीले पक्राउ गरेको हो । रामविनय र सन्तोषरामलाई शनिबार काठमाडौं महानगरपालिका-३ बसुन्धारा क्षेत्रबाट पक्राउ गरिएको हो । मृतक महिलाका आफन्तहरु अहिलेसम्म सम्पर्कमा नआएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रतिक्रिया