- आरपी उपाध्याय, नवलपरासी
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाअन्तर्गत पर्ने प्रदेश र संघीय सरकारद्वारा निर्माणाधीन सडक अपुर्ण भएको भन्दै जनप्रतिनिधिद्वारा मंगलबार (२५ भदौ)देखि दबाबमुलक रिले अनसन सुरु गरिएको छ।
इलाका प्रशासन कार्यालय सेमरीमा प्रतापपुर गाउँपालिकाका जनप्रतिनिधिहरुद्वारा सडक निर्माण कार्य सुरु भइ पूरा नभएसम्म रिले अनसन जारी रहने आन्दोलन परिचालन समितीका संयोजक एवं प्रतापपुर गाउँपालिका उपाध्यक्ष मानकुमारी चौधरीले जानकारी दिएकी छन् ।
प्रतापपुर गाउँपालिकाद्वारा गरिएको पहिलो चरणको आन्दोलनमा जिल्ला प्रशासन कार्यालयमा एक घण्टा धर्नासहित पत्रकार सम्मेलन एवं प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र र दोस्रो चरणको आन्दोलनमा रिले अनसन गरिएको बताइएको छ।
सत्याग्रहसहित रिले अनसनमा उत्रेका जनप्रतिनिधिहरुले प्रदेश र संघ सरकारको बजेटमा सडक निर्माण कार्यमा ढिलासुस्ती गर्ने, निर्माण व्यवसायी तथा कम्पनीलाई कारवाही गर्ने, प्रतापपुर गाउँपालिकाअन्तर्गत पर्ने हुलाकी राजमार्ग ४ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने र पालिकाअन्तर्गतका अलपत्र रहेको प्रदेश र संघ मातहतका सम्पुर्ण सडक निर्माण कार्य सम्पन्न गर्नुपर्ने माग सहित आन्दोलनकारीहरु चरणवद्ध रुपमा उत्रिएका हुन् ।
रिले अनसनको सुरुवात गर्दै प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले नारायण चोकदेखि परासीसम्म, सेमरीदेखि बेलाटारीसम्म बाटोको दुर्दशा हेरेर समाधानको हरेक प्रयास गरिएपनि सडक निर्माण कार्य सुरु नभए यता अन्तमा तीनदिने रिले अनसन गर्न बाध्य भएको जानकारी दिए ।
अध्यक्ष यादवले आफुहरुद्वारा जारी रिले अनसन पूरा गर्न राजनीतिक दल, संघ र प्रदेशका सांसद, नागरिक समाज, प्रेस जगत, आम सर्वसाधारण नागरिक सबैमा सहयोगको अपिल पनि गरे ।
मङ्गलबारदेखि सत्याग्रहसहितको रिले अनसनमा संविधानसभा सदस्य एवं नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, लुम्बिनी प्रदेश सभा सदस्य विश्वप्रेम पाठक, प्रतापपुर गाउँपालिकाका सम्पुर्ण जनप्रतिनिधि एवं सर्वसाधारणको पनि अनसनस्थलमा उपस्थिति रहेको थियो।
तीनदिने रिले अनसनपश्चात् आन्दोलनकारीद्वारा प्रस्तुत माग सम्बोधन नभएमा पालिका अध्यक्ष यादव स्वयं भाद्र २८ गते आमरण अनसन सुरु गर्ने पनि आन्दोलन परिचालन समितिले जानकारी दिएको छ।
प्रतिक्रिया