नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सरकारले यातायातसम्बन्धी प्रष्ट नीति नल्याउँदा यातायात क्षेत्र समस्याग्रस्त अवस्थामा रहेको बताएका छन् ।
बुधवार पोखरामा पोखरा यातायात प्रालिको छैटौं वार्षिक साधारण सभामा उपाध्यक्ष सिटौलाले सरकारले कुनै अध्ययन र अनुसन्धानबिना यातायात समितिहरुलाई कम्पनीमा लैजाने निर्णयले यातायात क्षेत्र तहसनहस भएको बताएका हुन् ।
सरकारले सिण्डिकेटको नाममा अनुसन्धानबिना कम्पनीमा रुपान्तरण गर्ने निर्णयले यातायात क्षेत्र धराशायी भएको उल्लेख गर्दै सिटौलाले यातायात क्षेत्र वर्तमान अवस्थामा अभिभावकविहीन अवस्थामा रहेको बताएका थिए । उनले सवारी बीमाको विषयमा पनि स्पष्टता नभएकाले व्यवसायीहरु मर्कामा परेको बताउँदै राज्यले कानूनमा भएका व्यवस्थालाई व्यवहारमा लागू गरेको छैन, यातायात क्षेत्र अस्तव्यस्त बनेको समेत उनको भनाइ थियो ।
सरकारले यातायात क्षेत्रको सिण्डिकेट हटाएर अनुसन्धानबिना कम्पनीमा रुपान्तरण गर्ने निर्णय गऱ्यो त्यो निर्णयले यातायात क्षेत्र क्षतविक्षत भएको छ,’ उनले भने, ‘यातायात क्षेत्र कम्पनीमा गएपछि जुन विधि र कार्यविधि बन्नुपर्ने हो‚ अहिलेसम्म बनेको छैन । अहिलेसम्म सरकारले कुनै कार्यविधि नबनाएको कारणले नागरिकताको आधारमा कम्पनी खडा भएको छ, त्यसले गर्दा अस्वस्थ प्रतिष्पर्धा छ ।’ उनले सरकारले कम्पनीको रुपमा कुनै पनि कार्यविधि नबनाएकाले नागरिकताको आधारमा कम्पनी खोल्ने प्रवृत्ति बढ्दा अस्वस्थ प्रतिष्पर्धा बढेको आरोप पनि लगाए ।
सरकारसँग कुन सवारीसाधन कहाँ जाने भन्ने कुनै विधि पद्धति नभएको दाबी गर्दै उनले विधि र पद्धति नभएका कारण पनि सडक दुर्घटना बढिरहेको जिकिर गरे ।
प्रतिक्रिया