केन्द्रीय परिषद्को राष्ट्रिय भेला गर्दै रास्वपा

केन्द्रीय परिषद्को राष्ट्रिय भेला गर्दै रास्वपा


राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषद्को राष्ट्रिय भेला आज (१ असोज) सुरु हुँदैछ । आज र भोलि काठमाडौंको प्रज्ञाभवन कमलादीमा हुने भेलामा देशभरबाट एक हजार ५०० प्रतिनिधि सहभागी हुने रास्वपाले जनाएको छ ।

राष्ट्रिय भेलाको शुभारम्भ पार्टीका सभापति रवि लामिछानेले गर्दैछन् । उद्घाटनअघि प्रज्ञाभवनमा सामूहिक विश्वकर्मा पूजा गरिँदैछ । आज विभिन्न प्रतिवेदन र प्रस्तावमा छलफल हुने, पहिलो दिन सबै प्रदेशले रिपोर्टिङ गरेपछि आर्थिक, अनुशासन र संसदीय मामिलासँग सम्बन्धित प्रतिवेदन पेस गरिने जनाइएको छ । आजै विधान संशोधन, नीति-विचार, मूल्य-मान्यता, क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबारेका प्रस्ताव राख्ने कार्यसूची छ ।

प्रस्तुत सबै प्रतिवेदन र प्रस्तावउपर भोलि बुधबार समूहगत छलफल हुनेछ । भोलि नै प्रश्नोत्तरका लागि तीन घण्टा समय छुट्याइएको छ भने अपराह्न सभापति लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । सबै प्रतिवेदन र प्रस्ताव पारित गरेपछि पहिलो महाधिवेशनको मिति र स्थान घोषणा गर्दै भेला भोलि नै सकिनेछ ।

पार्टीलाई थप सुदृढ र जनपक्षीय बनाउन भेला सफल हुने रास्वपाका नेताहरुले विश्वास व्यक्त गरेका छन् ।