भावी पर्यटन-जनशक्तिलाई सशक्त बनाउने कार्यक्रम आरम्भ

भावी पर्यटन-जनशक्तिलाई सशक्त बनाउने कार्यक्रम आरम्भ


नेपालमा पर्यटन व्यवसायीहरूको आगामी पुस्तालाई वर्तमानसँग अभ्यस्त गराउने उद्देश्यले नेपाल पर्यटन बोर्डले एउटा पहलको शुभारम्भ गरेको छ ।

नेपाल पर्यटनबोर्डको सभाकक्षमा आयोजना गरिएको Empowering Future Tourism Leaders : Sharing Knowledge & Growth शीर्षकको मासिक शृङ्खलाको उट्घाटन सत्रमा शुभश्री कलेज अफ म्यानेजमेन्टको ब्याचलर अफ होटल म्यानेजमेन्ट कार्यक्रमका ६५ विद्यार्थी सहभागी भए ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले कार्यक्रमको महत्वलाई जोड दिँदै भने, ‘यो हाम्रो पर्यटनको भविष्य प्रवर्द्धन गर्ने पहल हो । हामी यस क्रममा भाइबहिनी र उद्योगीहरूको साथको अपेक्षा गर्दछौं ।’ यस्तै अहिलेको पर्यटनको प्रवृति Experience travel को रहेको पनि उनले बताए । ‘यो पहल ज्ञान हस्तान्तरणको लागि मात्र होइन, यो हाम्रो पर्यटन उद्योगको भविष्यलाई आकार दिने युवा नेताहरू बनाउने अभियान हो’- सिइओ जोशीले थपे ।

कार्यक्रममा बोल्दै बोर्डका वरिष्ठ निर्देशक हिकमतसिंह ऐरले यो कार्यक्रमले बिद्यार्थी भाइबहिनीहरूलाई जागिर उन्मुख हुने भन्दा पनि उद्यमी बन्न जोड लगाउनुपर्ने बताए । बोर्डका वरिष्ठ प्रवन्धक विमल कँडेलले नेपालका अनुपम पर्यटकीय सम्पदाहरुको बारेमा प्रस्तुतिकरण गरेका थिए । यसैगरी कार्यक्रममा सुभश्री कलेजका प्राचार्य मनिता ओलीले युवा जनशक्तिले हरेक समय केही न केही सिकिरहनु पर्ने र यस कार्यक्रमले पनि सबैलाई सिक्ने मौका दिएको बताइन् ।

यस पहलले उद्योग विशेषज्ञता र उदीयमान प्रतिभाहरू बीचको खाडललाई कम गर्दै आवश्यक वातावरण सिर्जना गर्नेछ भन्ने आशा बोर्डको रहेको छ । साथै यसले सिकाइ, सहकार्य र नवप्रवर्तनलाई बढावा दिनेछ । यस सत्रले अनुभवी पेशा व्यवसायी, शिक्षक, र विद्यार्थीहरूलाई पर्यटनमा नवीनतम प्रवृत्तिहरू छलफल गर्न र भविष्यका अवसरहरू अन्वेषण गर्न अभिप्रेरित गर्नेछ । सहभागीहरूले अनुभव साटासाट र एकअर्कालाई प्रेरणा दिने मौका पाउनेछन् ।

सहभागी हुन चाहने अन्य कलेज, शैक्षिक संस्थाहरूले यस कार्यक्रममा संलग्न हुनको लागि पर्यटन सम्पदा तथा संसाधन विकास (TP & RD) महाशाखाको पर्यटन क्षमता विकास (HRD) एकाइमा सम्पर्क गर्नुपर्ने हुन्छ ।

कार्यक्रमको सञ्चालन बोर्डका अधिकृत रिखीमाया राइले गरेकी थिइन् भने कार्यक्रमको समन्वय बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदीले गरेका थिए । नेपाल पर्यटन बोर्ड नेपालमा दिगो पर्यटन प्रवर्द्धन गर्न र प्रमुख पर्यटन गन्तव्यको रूपमा देशको छवि बढाउन प्रतिबद्ध छ। नवीन कार्यक्रमहरू र साझेदारीहरू मार्फत, बोर्डले पर्यटन उद्योगको विकासलाई दीर्घकालीन सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।