कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा सोमबार (७ असोज) दिउँसो भएको भेटमा उहाँहरूबीच द्विपक्षीय हितका विविध विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।
मन्त्री अधिकारीले नेपाल-भारत सम्बन्ध मित्रता र सहयोग, सार्वभौम समानता, आपसी सम्मान र विश्वासका सिद्धान्तमा आधारित रहेको स्मरण गर्नुभयो । कृषि क्षेत्रमा लगानी र विकासका लागि नेपाल सरकार लागि परेको जनाउँदै मन्त्री अधिकारीले त्यसमा भारत सरकारको थप सहयोग अपेक्षा राखेको बताउनुभयो ।
नेपालका कृषिजन्य उत्पादनलाई भारतीय बजारमा सहज पहुँच पुर्याउन सहजीकरणका लागि आग्रह गर्दै मन्त्री अधिकारीले भन्नुभयो, ‘यसले दुई देशबिचको आर्थिक सम्बन्ध र व्यापार प्रवर्द्धनलाई बलियो बनाउनेछ ।’ सो अवसरमा राजदूत श्रीवास्तवले नेपालको कृषि क्षेत्रको विकास र विस्तारमा भारत सरकार सहयोग र सहकार्यका लागि तयार रहेको बताउनुभयो ।
प्रतिक्रिया