विपदमा परेका १६१ जनाको हेलिकप्टरबाट सकुशल उद्दार

विपदमा परेका १६१ जनाको हेलिकप्टरबाट सकुशल उद्दार


गृह मन्त्रालयले शनिबार र आइतबार बिहान (१३ असोजसम्म) नेपाली सेनाको हेलिकप्टरबाट बाढी, पहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेको १ सय ६१ जनाको सकुशल उद्दार गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले आइतबार बिहानदेखि काभ्रेपलाञ्चोकका विभिन्न पालिकाबाट अहिलेसम्म ८३ जनाको उद्दार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिएका छन् । खराब मौसमका कारण शनिबार नै हेलिकप्टर त्यहाँ पठाइएपनि उद्दार गर्न असहज भएको थियो ।

काभे्रपलाञ्चोकमा अहिले नेपाली सेनाका तीन वटा हेलिकप्टरले उद्दार कार्य जारी राखेको छ । प्रवक्ता तिवारीका अनुसार गृह मन्त्रालयको अनुरोधमा विपद्को जोखिममा रहेका नागरिकहरुको उद्दारमा सेनाले लगातार हवाइ उद्दार गरिरहेको छ ।

त्यसैगरी शनिबार काठमाण्डौं उपत्यकामा १३, सिन्धुलीमा ३३ र मकवानपुरमा ३२ जनाको हवाइ उद्दार गरिएको थियो । गृह मन्त्रालयका प्रवक्ता तिवारीले बाढी, पहिरोका कारण अवरुद्ध राजमार्ग खुलाउन सबै संयन्त्र परिचालन गरिएको बताए ।

गृह मन्त्रालयको तथ्याङ्क अनुसार बाढी, पहिरो र डुबानबाट १ सय ७ जनाको मृत्यु, ६४ जना बेपत्ता र ७३ जना घाइते भएका छन् । गृहमन्त्री रमेश लेखकले सुरक्षा संयन्त्र र सरोकारवाला निकायलाई उद्दार, राहत, घाइतेको स्वास्थ्य उपचार र अवरुद्ध सडक सुचारु गर्न तदारुकपताका साथ लाग्न निर्देशन दिइसकेका छन् ।