पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान

पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान


कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले ‘हेर्ने कथा’का पात्र प्रकाश तामाङलाई जग्गा उपलब्ध गराएका छन् । उनले भोजपुरस्थित षडानन्द नगरपालिकामा तामाङलाई पाँच रोपनी तीन आना जग्गा, एकहल गोरु र हाते ट्याक्टर उपलब्ध गराएका हुन् ।

प्रकाशले आफ्नै पुर्ख्यौली गाउँमा कृषि पेसामा आबद्ध हुने इच्छा व्यक्त गरेपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्यसमेत रहेका पूर्वमुख्यमन्त्री राईले कृषि गर्न आवश्यक पर्ने जग्गासहति गोरु र हाते ट्र्याक्टर उपलब्ध गराएको जानकारी दिए । उनले हजारौँ युवा विदेश गइरहेको वर्तमान अवस्थामा प्रकाशले आफ्नै ठाउँमा खेतीकिसानी गर्ने इच्छा गरेकाले आवश्यक सहयोग गरेको उल्लेख गरे ।

पूर्वमुख्यमन्त्री राईले प्रकाशलाई गाउँमा एक उदाहरणीय कृषक बनेर काम गर्नसमेत आग्रह गरे । प्रकाशलाई उनले एक महिनाअघि रु एक लाख नगद पनि सहयोग गरेका थिए ।

पूर्वमुख्यमन्त्री राईपत्नी जाङ्मु इन शेर्पाको पहलमा प्रकाशलाई मालपोत कार्यालय भोजपुरमा उक्त जमिन लिखित पास गरिएको छ । राई पत्नी शेर्पाका नाममा रहेको जग्गा प्रकाशका नाममा पास गरिदिएपछि आज (१३२ असोज) एक कार्यक्रमकाबीच लालपुर्जा हस्तान्तरण गरेका हुन् ।

जग्गाको लालपुर्जासँगै कृषि सामग्री पाएपछि प्रकाशले राई दम्पतीले गरेको सहयोगले कृषिकर्ममा लाग्न थप हौसला मिलेको बताए । परिवारको सम्पर्कबाट करिब ३५ वर्ष बाहिर रहनुभएका तामाङ हेर्ने कथामार्फत सम्पर्कमा आएका थिए ।

photo: rss