बागमति प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले केही सहकारी संस्थाले गरेका गलत कारोबार तथा बदमासीका कारण सबै सहकारी संस्था बदनाम बन्नुपरेको बताएका छन् । भक्तपुर सूर्यविनायक नपा-२ बालकोटस्थित मैत्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारणसभालाई प्रमुख अतिथिको रूपमा शनिबार सम्बोधन गर्दै मन्त्री ठकुरीले सहकारी संस्थाले विधान र ऐन-कानुनको पालना गरेर कारोबार गरे कुनै समस्या नआउने जिकिर गरे । मैत्रिय सहकारीले नीति-नियम पछ्याउँदै आफ्ना सेयर सदस्यहरूलाई सेवा प्रदान गरिरहेको आफूले जानकारी पाएको उल्लेख गर्दै उनले मैत्रियले जस्तै नीति/व्यवहार अवलम्बन गरी संस्था सञ्चालन गर्न अन्य सहकारीहरूलाई सुझाव दिए ।
साधारणसभा उद्घाटन समारोहको सभापतिसमेत रहेका संस्थाका अध्यक्ष बालमुकुन्द उपाध्यायले ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने अभियानमा आर्थिक विकास र सामाजिक रुपान्तरणको लागि सहकारी एक आधार रहेको उल्लेख गर्दै नाफाका लागि जे पनि गर्ने गलत प्रवृत्तिविरुद्ध धावा बोल्ने नैतिक मूल्य र सिद्धान्तमा आधारित उद्यम भएको जिकिर गरे । साधारणसभाबाट प्राप्त सुझाव एवम् निर्णयहरूलाई कार्यान्वयन गर्दै संस्थाले प्रवाह गर्ने सेवा/सुविधा र प्रतिफललाई अझ प्रभावकारी तुल्याइ संस्थालाई थप सुदृढ बनाउँदै लैजाने प्रतिवद्धता उनले प्रकट गरे ।
साधारणसभालाई सम्बोधन गर्दै सूर्यविनायक नपाका सहकारी शाखाका प्रमुख राजेन्द्र श्रेष्ठले विभिन्न सहकारी अनुगमन गर्ने क्रममा मैत्रिय सहकारी नियमसंगत ढंगले चलेको तथ्य/तथ्याङ्कले प्रष्ट्याएको जानकारी दिए । यस्तै, भक्तपुर जिल्ला बचत तथा ऋष सहकारी संघका सञ्चालक पञ्चकृष्ण श्रेष्ठले पनि मैत्रिय ऋण तथा बचत सहकारी संस्था भक्तपुर जिल्लाकै राम्रा सहकारीमध्येमा एक भएको बताए ।
संस्थाका सचिव सुमन सिलवालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको शाखलाई सुरक्षित गरी सदस्यहरूको जीवनस्तर उकास्न संस्था हरदम क्रियाशील रहने जानकारी दिए ।
आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष दिवाकर सिलवालले शेयर सदस्यहरूको साथ-सहयोग, धैर्यता र विश्वासका कारण संस्थाको प्रगति उत्साहजनक रूपमा वृद्धि भएको बताए भने लेखा सुपरिवेक्षण समितिका संयोजक भाइकाजी खत्रीले ‘वित्तिय अनुशासन र पारदर्शिता नै सहकारी संस्थाको सफलताको मूल आधार हो’ भन्ने मूल मर्मलाई आत्मसात गर्दै मैत्रिय सहकारी अघि बढेको धारणा राखे ।
सो अवसरमा मैत्रिय सहकारी संस्थामा सेयर सदस्य सङ्ख्या चौध सय हाराहारी रहेको, ०८०/८१ मा ४१ करोड १५ लाख १५ हजार ७ सय ७२ रुपैयाको कारोबार भएको, सेयर पुँजी ३ करोड २२ लाख ७८ हजार पाँचसय तथा जगेडा कोषमा १ करोड २९ लाख ५४ हजार एक रुपैयाँ रहेको जानकारी दिइयो ।
राजेन्द्र पराजुलीको आकर्षक एवम् प्रभावकारी उद्घोषणका साथ सञ्चालित साधारणसभामा मेनु उपाध्यायलाई नगदसहित ‘मैत्रिय जेष्ठ सदस्य सम्मान’ प्रदान गरिएको थियो भने विभिन्न विधामा अन्य पुरस्कार र सम्मान पनि प्रदान गरिएको थियो । जसअनुसार नियमित बचततर्फ समिता सिलवाल, बालबचततर्फ सुनिभा सिलवाल, दैनिक बचततर्फ लक्ष्मी श्रेष्ठ, आवधिक बचततर्फ सिताराम अधिकारी, असल कारोबारतर्फ विविका गिरी र आयुष्मान सिलवाललाई नगदसहित मैत्रिय शैक्षिक सम्मान (एसईई-२०८०) प्रदान गरिएको सञ्चालक समितिका सदस्य नवीन उप्रेतीले जानकारी दिए ।
प्रतिक्रिया