भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरमा देशकै ठूलो चार्जिङ हब बनाउने तयारी भइरहेको जानकारी दिएकी छन् । चितवन अटोमोबाइल डिलर्स एशोसिएशनले आयोजना गरेको पहिलो ‘काडा अटो एक्स्पो’को बुधबार (१६ असोज) उद्घाटन गर्दै उनले नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गरेर ठूलो चार्जिङ स्टेशन बनाउन लागेको बताइन् ।
स्टेशनका लागि महानगरपालिकाले जग्गा उपलब्ध गराउने र प्राधिकरणले छिट्टै निर्माण गर्ने, यसका अतिरिक्त सार्वजनिकस्थलमा महानगरपालिकाकै लगानीमा चर्जिङ स्टेशन बनाउन लागेको उनको भनाइ छ ।
महानगर प्रमुख दाहालले भरतपुर महानगरपालिका-३ नगरवनको छेउमा अटोल्याण्ड बनाउन लागिएकोमा स्थानीयले नबुझेर अवरोध गरेको गुनासो पनि गरिन् ।
कार्यक्रममा एशोसिएशनका अध्यक्ष राजन पियाले चार्जिङ स्टेशन, अटोल्याण्ड, मोटर्स स्पोर्सका लागि ट्रयाक निर्माणमा महानगरपालिकाको सहयोगको अपेक्षा गरे भने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विद्युतीय मोटरले देशको अर्थतन्त्र बलियो बनाउन मद्दत पुग्ने धारणा राखे ।
एक्स्पोमा २८ वटा स्टल रहेका छन् । ती स्टलमा २५ भन्दा बढी कम्पनीका कार, जीप, मोटरसाइकललगायत सवारीसाधन रहेका छन् । यही असोज १९ गतेसम्म सञ्चालन हुने एक्स्पोमा करिब ८० प्रतिशत विद्युतीय सवारीसाधन रहने छन् ।
प्रतिक्रिया