बाढीपहिरोबाट क्षतिग्रस्त पुल र सडक स्थायी रुपमा निर्माण गर्न २५ अर्ब लाग्ने

बाढीपहिरोबाट क्षतिग्रस्त पुल र सडक स्थायी रुपमा निर्माण गर्न २५ अर्ब लाग्ने


गत साता मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोका कारण भत्किएका सडक तथा पुलको स्थायी मर्मत गर्न रु २० अर्बदेखि २५ अर्ब लागत लाग्ने अनुमान गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षतिग्रस्त सडक निरीक्षणपछि संरचनाहरुको स्थायी रुपमा सुधार गर्न सो बराबरको बजेट आवश्यक भएको जनाएको छ ।

मन्त्रालयका अनुसार क्षतिको विस्तृत विवरण सङ्कलन जारी छ । प्रारम्भिक अनुमानअनुसार सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्र रु तीन अर्ब लाग्ने देखिएको छ ।

मन्त्रालयका सचिव केशवकुमार शर्माले गत हप्ताको भीषण वर्षाका कारण ३४ वटा राजमार्गहरुका आठ सय पाँच स्थानमा पहिरो गई सडक अवरुद्ध भएकोमा सात सय ७४ स्थानको पहिरो हटाउने काम सकिएको जानकारी दिएका छन् । २९ वटा राजमार्गमा विभागीय तथा भाडाका यन्त्र उपकरण र जनशक्ति प्रयोग गरी यातायत सञ्चालन गरिसकिएको छ । अझैसम्म पाँच वटा मुख्य राजमार्गका ३१ स्थानमा अवरुद्ध भएको यातायात सञ्चालन गर्न अनवरत प्रयास जारी रहेको उनको भनाइ छ । सचिव शर्माका अनुसार यसका लागि कतिपय स्थानमा पहिरो हटाउनुका अतिरिक्त कटिङ फिलिङ टेवा पर्खालका साथै ह्युम् पाइप र अस्थायी प्रकृतिको बेलिब्रिजसमेत राखी यातायात सञ्चालन गर्नुपर्ने अवस्था छ ।

यही असोज ११ र १२ गते आएको अबिरल वर्षाका कारण देशको विभिन्न भागका नदीहरुमा भीषण बाढी आउनुका साथै विभिन्न स्थानमा पहिरो जाँदा ठूलो जनधनको ठूलो क्षति भएको थियो ।

हाल अरनिको राजमार्गमा लार्चा-कोदारीकोपाँच किलोमिटरमा मर्मत सकिएको छैन भने लिपिङ पुल र लार्चाको बेलिब्रीज बगाएका कारण यातायात अवरुद्ध भएको छ ।

बिपी राजमार्ग चौकीडाँडा-कालढुङ्गा १८ किमिमध्ये करिव १२ किमि सडक पूर्णरुपमा बगेका कारण केही स्थानमा सवारी साधनहरु रोकिएको अवस्था छ ।

‘रोशी खोलाको पानीको बहावलाई मध्यनजर गरी सम्भव भएसम्मका सबै विकल्पहरु प्रयोग गरी अस्थायी रुपमा यातायात सञ्चालन गरिने छ’, सचिव शर्माले भनेका छन् । पुष्पलाल (मध्यपहाडी) राजमार्ग दोलालघाट-राकथुम ८० किमि खण्डका धेरै ठाउँमा पहिरो पन्छाउने काम भइरहेको छ ।

शर्माका अनुसार कान्ति राजपथको घपेली-बगुवामा १३ किमि र बागमति पुलको दाँया-बाँया एप्रोच मकवानपुर तथा ललितपुर दुवै तर्फबाट पहिरो सफा गर्ने काम भइरहेको छ । मेची राजमार्ग रमिते-फिदिमको आठ किमि, हेवा पुलसहित रमिते डाँडाको पहिरो हटाउने काम भइरहेको छ ।

photo: rss