दशैँअगाडि नै नागरिकका घरमा खानेपानी पुर्‍याउने मन्त्री यादवको प्रतिवद्धता

दशैँअगाडि नै नागरिकका घरमा खानेपानी पुर्‍याउने मन्त्री यादवको प्रतिवद्धता


खानेपानीमन्त्री प्रदीप यादवले दशैँअगाडि नै काठमाडौंवासीका घरमा खानेपानी पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा उनले पानीका लागि तड्पिइरहेका काठमाडौंका नागरिकलाई दशैँभन्दा अगाडि नै खानेपानी खुवाउने लक्ष्यअनुसार काम भइरहेको जानकारी दिए ।

‘काठमाडौंवासी पानीका लागि निकै तड्पिएका छन्, मेलम्चीका नागरिकसँग आग्रह गरेर दशैँअगाडि काठमाडौंवासीका घरमा पानी पुर्‍याउँछौँ’, मन्त्री यादवले भने, ‘विपद्को समयमा सबै नागरिकले एकजुट भएर आफूसँग भएको चिज प्रदान गर्नु नै धर्म हो ।’

काठमाडौंमा मेलम्चीको पानी ल्याउन र मेलम्ची खानेपानीको अवरोध खुलाउनका लागि आफू मेलम्चीबासीका घरमै पुगेर अनुरोधसमेत गर्ने जानकारी दिँदै मन्त्री यादवले भने, ‘मेलम्चीबासीका समस्या के हुन्, कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा मसहित सिङ्गो मन्त्रालय तयार छ । मेलम्ची खानेपानीको अवरोध खुलाउन र काठमाडौँका पानी ल्याउन म उहाँहरूको घरैमा पुग्छु ।’

यसैगरी उनले मेलम्चीका पीडित नागरिकका जायज मागलाई सम्बोधन गराउन आफू हरतरह लागि परेकाले मेलम्चीवासीको मागको सहमति नजिक पुगेको बताए । बाढीपहिरोका कारण पछिल्लो समय मुलुकमा असहज परिस्थिति रहेको भन्दै उहाँले परिस्थिति बुझ्न र काठमाडौंमा पानी पठाउन मेलम्चीवासीसँग आग्रह गरे ।

मेलम्चीका स्थानीयवासीले राखेका जायज मागलाई सरकारले वार्ताको माध्यमबाट समाधान गर्ने मन्त्री यादवको भनाइ थियो । सोही क्रममा मन्त्री यादवले केही दिनपहिले आफू दक्षिणकालीका नागरिकका घरैमा पुगेर बिन्ती बिसाएपछि ललितपुरमा खानेपानी सहजरूपमा ल्याउन सफल भएको दाबी गरे ।

मेलम्चीका स्थानीयवासीले विपद्को यस घडीमा काठमाडौंमा पानी पठाउने विषयमा अवस्य साथ दिने आशा रहेको मन्त्री यादवले जानकारी दिए । ‘अहिले विपद्को घडि छ । यो समय आन्दोलन गर्ने बेला होइन, अहिले भनेको एक अर्कालाई सहयोग गर्ने समय भएकाले मेलम्चीवासीले पानी पठाउन अवस्य सहयोग गर्नुहुन्छ’, उनले भने ।

हालैको अविरल वर्षाका कारण गएको बाढीपहिरोले देशका २१ जिल्लामा ठूलो क्षति पुर्‍याएको र खानेपानीमा मात्रै करिव साढे रु तीन अर्बको क्षति पुर्‍याएको मन्त्री यादवको भनाइ छ । बाढीकै कारण काठमाडौंका महाङ्काल मैदानमा भएका मेसिनरी वस्तुमा क्षति भएको, कीर्तिपुरको सुन्दरीघाट ट्रान्समिसन र पम्पलगायत मेसिनरी सबै सामान ध्वस्त भएकाले विपद् व्यवस्थापनबाट खानेपानी पुनःनिर्माणको काम गर्ने तयारी गरेको उनले जानकारी दिए ।

photo: rss