हे ईश्वर !

हे ईश्वर !



यो संसार तिमीले नै रचेका हौ भने
आफ्नै सृष्टिप्रति यति निर्दयी किन भयौ ?
किन यति धेरै आँसुहरू बगिरहेका छन् ?
किन हरेक मोडमा पीडाका पहाड उभिएका छन् ?
कसको पापको सजाय हो यो –
निर्दोष बालकको रुवाइ ?
कसको अपराधको मूल्य हो –
आमाको खाली काख ?
भूकम्प दियौ
बाढी दियौ
पहिरो दियौ
अकाल र महामारी दियौ
यति हुँदा पनि पुगेन र ?
प्रकृतिको क्रोधले
थलिएको मानवता
घाउमाथि घाउ बोकेर
बाँचिरहेको छ
तर आज त लाग्छ –
तिमी आफैंले आफ्नै सृष्टि भत्काउन थालेका छौ !
के हामी यति खराब भयौं ?
के हाम्रो अस्तित्व नै तिमीलाई बोझ बन्यो ?
प्राकृतिक विपत्तिले नपुगेर
अब मानिसलाई
मानिसबाट टुक्र्याउने
एका-अर्काको जीवन खोस्ने
यस्ता दुःखहरू किन पठायौ ?
उत्तर देऊ, हे सृष्टिकर्ता !
किन यति धेरै वेदना ?
किन यति धेरै अन्याय ?
किन यति धेरै मृत्यु ?
जब मन्दिरमा दीप बालिन्छ
मानिसले तिम्रो नाम जप्छ
तब तिमी कहाँ हुन्छौ ?
जब निराशाले कसैको अन्तिम सास चोर्दै हुन्छ
तब तिमी किन मौन बस्छौ ?
म रिसाएको छैन
तर थाकेको छु…
विश्वास टुटेको छैन
तर प्रश्नहरूले भरिएको छु !

✦ ✦ ✦

(भाषा साहित्यतर्फ बेलाबखत कलम चलाइरहने प्रिमुला भण्डारी सिक्किमनिवासी हुनुहुन्छ । उहाँ सिक्किमका पूर्व मुख्यमन्त्री एवम् वरिष्ठ साहित्यकार स्व. नरबहादुर भण्डारी तथा नेपाली भाषालाई भारतको लोकसभामा अथक लडाईं लडेर संवैधानिक मान्यता दिलाउने पूर्व सांसद श्रीमती दिलकुमारी भण्डारीकी छोरी हुनुहुन्छ ।)