मानिसहरु अत्याधिक भोको केवल आर्थिक अभावको कारणले मात्र भएका होइनन्, बढीभन्दा बढी मानिसहरुले धेरै मात्रामा खानेकुराहरु जथाभावी फ्याँकेको कारणले पनि भएका छन् । सरकारले संसद्बाट कडाभन्दा कडा कानून बनाएर जथाभावी खाना फ्याँक्ने कार्यलाई निरुत्साहित गर्नुपर्छ ।
✍ कल्याण गुरुङ
आज पनि नेपालमा लाखौं र विश्वमा करोडौं मानिसहरु छन्, जसले दुई छाक खाना खान पाउँदैनन् । जो गरिबीको रेखामुनि छन् र अति विपन्न छन् ।
नेपालमा आज पनि हरेक होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस, भान्सा घर, भोज-भतेर, पिकनिक र पार्टीहरुमा मानिसहरुले खाना फ्याँकेर खानेकुराहरु प्रशस्त बर्बाद गरिरहेका छन्, जसले लाखौं मानिसलाई दुई छाक खाना खान पुग्छ ।
यसैले, हामीले खाना जथाभावी फ्याँक्न छोड्यौं र ती अन्नहरु खाना नपाएका गरिबहरुको चुल्होमा पुऱ्याउन सक्यौँ भने भोकले गर्दा असंख्य मानिसहरु अस्वस्थ हुने थिएनन्, मर्ने थिएनन् ।
तपाईं धनी हुनुहुन्छ तर तपाईंको शान खाना जथाभावी फ्यालेर बढ्दैन, बरु गरिब मानिसहरुलाई खाना खाने राम्रो र उचित प्रबन्ध गरेर तपाईंको वैभव बढ्छ । तपाईंको सानो त्याग कसैको सामान्य जीवनको बाँच्ने आधार हुन सक्छ । तपाईंको फराकिलो सोचले सबैलाई दुई छाक खाना खाने अन्न दिलाउन सक्छ ।
सरकारको आवश्यकता ऐश्वर्य, शक्ति र सामर्थ्य भएकाहरुलाई भन्दा बढी विपन्न, अभाव, गरिबी, विभेद, भोक र अन्यायमा बाँच्न विवश भएकाहरुलाई हुन्छ ।
नेपाल सरकारले देशमा सरकार भएको वास्तविक अनुभूति सदैव दिलाउनुपर्छ ताकि कुनै पनि बालबालिका, वृद्धवृद्धा र मानिसहरुले बाध्यताले जीवनमा कहिल्यै पनि खानाको अभाव भोग्नु नपरोस् र भोको पेट बाँच्न विवश हुनु नपरोस् ।
नेपाल सरकारले संसद्बाट कडाभन्दा कडा कानून बनाएर जथाभावी खाना फ्याँक्ने कार्यलाई निरुत्साहित गर्नुपर्छ । जसले जथाभावी खाना फ्याँक्छ, उसलाई २० गुणा बढी जरिवाना र अनिवार्यरुपमा तीन दिन भोको बस्नुपर्ने कडा सजायको व्यवस्था कानूनमा गर्नुपर्छ ।
मानौँ, कुनै व्यक्तिले २५० रुपैयाँबराबरको खाना जथाभावी फ्याँक्यो भने उसलाई २० गुणा बढी अर्थात् ५,०००/- रुपैयाँ जरिवाना गर्ने र कसैले एक हजार रुपैयाँबराबरको खाना फ्याँकेमा उसलाई २०,०००/- रुपैयाँबराबर जरिवाना गर्ने कडा कानून ल्याउनु पर्छ ।
जसले एक लाख रुपैयाँभन्दा बढीको खाना जथाभावी फ्याँक्छ, उसलाई पच्चिस गुणा बढी जरिवाना र पाँच दिन भोको पेट अनिवार्यरुपमा बस्नुपर्ने कडा कानून ल्याउनुपर्छ ।
जसले पाँच लाख रूपैयाँ भन्दा बढीको खाना जथाभावी फ्याँक्छ, उसलाई तीस गुणा बढी जरिवाना र सात दिन भोको पेट अनिवार्यरुपमा बस्नुपर्ने कडा कानून ल्याउनु पर्छ ।
यस्तो कडा कानूनी व्यवस्थाले मानिसलाई आर्थिक दण्ड मात्रै दिँदैन, यसको साथसाथै भोको बस्नुको मानसिक र शारिरिक पीडाको अनुभूति पनि दिलाउँछ । गरिबहरुले कसरी भोकभोकै बाँचेका रहेछन् भन्ने पीडासँग साक्षात्कर गर्ने सुनौलो अवसर पनि दिन्छ र सुध्रिने मौका पनि जुराउँछ ।
यी सबै जरिवानाको रकम गरिबहरुलाई खाना खुवाउने कार्यमा खर्च गर्नुपर्छ ।
मानिसहरु अत्याधिक भोको केवल आर्थिक अभावको कारणले मात्र भएका होइनन्, बढीभन्दा बढी मानिसहरुले धेरै मात्रामा खानेकुराहरु जथाभावी फ्याँकेको कारणले पनि भएका छन् ।
प्रतिक्रिया