कीचकबधमा नवौं चरणको उत्खनन् जारी

कीचकबधमा नवौं चरणको उत्खनन् जारी


  • राजबाबु शंकर, झापा

झापाको भद्रपुर नगरपालिका-२ मा पर्ने सूर्यनगरस्थित ‘कीचकबध’स्थलमा पुरातत्व विभागको टोलीले यही जेठ ८ गतेदेखि नवौं चरणको उत्खनन् गरिरहेको छ ।

पुरातत्व विभागका वरिष्ठ पुरातत्वविद् उद्धव आचार्यको नेतृत्वमा यही जेठ ६ आएको प्रमुख पुरातत्व अधिकृत नवराज अधिकारी र फोटोग्राफर रामचन्द्र श्रेष्ठको तीन सदस्यीय टोलीले स्थानीयको सहयोगमा कीचकबध स्थलमा पुनः उत्खनन् शुरु गरेका हुन् । पुरातत्व अधिकृत अधिकारी भने केही दिनपछि फर्किसकेको बुझिएको छ ।

यही जेठ २४ गते भद्रपुरस्थित नागरिक एफएम समूह र प्रेस क्लब-भद्रपुरका अध्यक्ष राजबाबु शंकरको टोलीले कीचकबधमा पुगेर उत्खनन््को स्थलगत जानकारी लिएको हो ।

सीमित सघीय बजेटबाट हालसम्म भइरहेको उत्खनन्मा स्थानीय तहको समन्वय नहुँदा कामले गति लिन नसकेको देखिएको छ । प्रदेश सरकारले पनि हालसम्म यस ऐतिहासिक पुरातात्विक स्थलको संरक्षण र पर्यटकीय प्रवद्र्धनमा ध्यान दिएको छैन । जसले गर्दा सीमित बजेटका कारण वर्षैपिच्छे उत्खनन् गरिरहनु पर्ने र बाँकी काम अधुरो रहने गरेको छ ।

मूलतः कीचकबधको संरक्षण र विकासका लागि तत्काल एक गुरुयोजनाको आवश्यकता देखिएको छ । संघका साथै प्रदेश र संघीय सरकारले यस ठाउँलाई राष्ट्रिय गौरवको परियोजनाको रूपमा अगाडि बढाउन आवश्यक छ । यस ऐतिहासिक स्थललाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सके भद्रपुरको मात्र नभई समग्र कोशी प्रदेशकै आर्थिक तथा सांस्कृतिक उत्थानमा ठूलो टेवा पुग्ने निश्चित छ । तर, उत्खनन् शुरु भएको ४७ वर्षसम्म पनि सरोकारवालाहरू गम्भीर हुन सकेको पाइँदैन । जसले गर्दा कीचकबधको यो गौरवमय पुरातात्विक इतिहास केवल वर्षैपिच्छेको उत्खनन्मै सीमित रहँदै आएको अवस्था छ ।

प्रारम्भमा २०३५ सालमा मेची क्याम्पसका प्रमुख घनश्याम खनालको नेतृत्वमा पहिलो पटक उत्खनन्् गरिएको १० बिघा क्षेत्रफलको यस स्थलमा हालसम्म ९ वटा ऐतिहासिक दरबारका संरचना फेला परिसकेका छन् । सो स्थानमा २०५८ सालदेखि भने नेपाल सरकारको पुरातत्व विभागले आचार्यको नेतृत्वमा उत्खनन् गरिरहेको छ ।

महाभारतकालीन विराट राजाको सालो कीचकको दरबार रहेको विश्वास गरिएको उक्त स्थानमा यसपटक जारी नवौं चरणको उत्खनन् यही जेठ २९ गतेसम्म गरेर ३० गते टोली फर्किने वरिष्ठ पुरातत्वविद् आचार्यले जानकारी दिएका छन् । कीचकबधमा फेला परेका इँटा गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भेटिएका इँटासँग मिल्ने पनि उनको कथन छ ।

किंवदन्ती अनुसार, पाण्डव गुप्तबास बसेका बेला द्रौपदीमाथि कुदृष्टि राखेका कारण भीमसेनले बिराटनगरदेखि लखेट्दै ल्याउँदा कीचकलाई यहीं ठाउँमा बध गरेका थिए । त्यही कारण यस स्थानलाई कीचकबधस्थल भनिन थालेको स्थानीय बताउँछन् ।

हालसम्म यस स्थलमा उत्खनन्बाट २२०० वर्ष पुरानो दरबारको सुरक्षा पोष्ट, पर्खाल, तबेला, त्यसबेला मानिसले प्रयोग गर्ने भाला, बाण र माटाका भाँडावर्तन, पुराना इँटाका टुक्रा र कम्पाउण्ड सहितको भौतिक संरचना भेटिएको छ । जुन पुरातात्विक वस्तुहरुको कार्बन परीक्षणबाट यो स्थल २२–२३ सय वर्ष पुरानो मानिएको छ । जुन समयमा भारतमा शुङ्ग कुषाणकाल थियो ।

भद्रपुरको शरहदमै यति महत्वको राष्ट्रिय सम्पदा र अझ विश्व सम्पदासम्म हुन सक्ने प्राचीन ऐतिहासिक स्थल फेला परे पनि स्थानीय सरकारले, स्थानीयले गठन गरेको संरक्षण समितिले र अझ प्रदेश सरकारले समेत संघीय सरकारले गरिरहेको सुस्त उत्खनन्कै रमिता हेरिरहनु बाहेक अपनत्व ग्रहण गर्न नसक्नु विडम्बना भएको छ । यो भनेको ‘माल पाएर पनि चाल नपाएको’ अवस्था हो ।