केपी शर्मा ओली प्रधानमन्त्री बन्नुभएको तीन सातापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रोपटक उहाँसँग टेलिफोन संवाद गर्नुभएको छ । गत सोमबार (कात्तिक १६ गते) वीरगन्जस्थित सीमा क्षेत्रमा प्रहरीको गोली लागी एक भारतीय नागरिकको मृत्यु भएपछि मोदीले ओलीलाई टेलिफोन गर्नुभएको हो । करिब बाइस मिनेट लामो टेलिफोन संवादमा दुई प्रधानमन्त्रीबीच निकै तातो संवाद भएको बुझिएको छ । प्राप्त जानकारीअनुसार मोदीले सीमा क्षेत्रमा आफ्नो नागरिकको हत्या भएको विषयलाई लिएर आपत्ति जनाउनुभएको थियो । प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्धलाई सामान्य बनाउन पहल हुनुपर्ने बताउँदै भारतीय कर्मचारी र गुप्तचर संस्थाहरूले गलत रिपोर्टिङ गरेर तपाईंलाई गुमराहमा राखेको र दुईपक्षीय सम्बन्धलाई अप्ठ्यारोमा पारेको भन्नुभएपछि भारतीय प्रधानमन्त्रीले त्यसको प्रतिवाद गर्नुभएको थियो । मोदीको भनाइ थियो, ‘हाम्रा कर्मचारीहरूले जे भनेका छन् त्यो मेरो पनि भनाइ हो भन्ने तपाईंले बुझ्नुपर्छ । मलाई र हाम्रा कर्मचारीलाई अलग्याएर बुझ्न आवश्यक छैन । नेपालको स्थितिबारे मलाई राम्ररी थाहा छ, यो राजनीतिक समस्या हो र राजनीतिक तवरमै समस्याको समाधान खोजिनुपर्छ, सीमा क्षेत्रमा या अन्यत्र कतै बल प्रयोग गरेर होइन ।’
संवादका क्रममा प्रधानमन्त्री केपी ओलीले नाकाबन्दी नहटेका कारण नेपाली जनताले कष्ट व्यहोर्नुपरेको बताउँदै नाकाबन्दी हटाउन भारतीय कर्मचारीहरूले अवरोध पैदा गरेको भनाइ राख्नुभएको थियो । जवाफमा मोदीले नेपालमा सामान्य स्थिति भएपछि मात्र सामान जानसक्ने स्थिति रहेकोले राजनीतिक रूपले समस्याको समाधान खोजी आन्तरिक स्थिति सामान्य बनाउन सुझाव दिनुभएको थियो । मोदीले आफूहरू सामान रोक्ने पक्षमा कहिल्यै नरहेको पनि संवादका क्रममा स्पष्ट गर्नुभएको बुझिएको छ ।
त्यसअघि भारतीय राजदूत रनजित रेले गृहमन्त्री शक्ति बस्नेतलाई भेटी सीमा क्षेत्रमा तनाव नबढाउन चेतावनी दिनुभएको थियो । राजदूत रेले मंगलबार प्रचण्डलाई पनि भेटेर बल प्रयोग नगरी राजनीतिक प्रक्रियाद्वारा समाधान खोज्न सुझाव दिनुभएको थियो । सीमामा तनाव बढाउने काम भएसम्म र बल प्रयोग गरी समाधान खोज्ने प्रयास भएमा भारतले यसलाई गम्भीरतापूर्वक लिने जनाउ पनि प्रचण्डलाई दिनुभएको थियो ।
प्रतिक्रिया