प्रस्तुतिमा शालीन, व्यवहारमा अत्यन्त कुटिल मानिने काङ्गे्रस महामन्त्री कृष्णप्रसाद सिटौला अर्को एक प्रयासमा पनि असफल भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएर आफू उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्न गरिएको प्रयासमा सिटौला असफल भएका थिए । यो असफलताबाट चिन्तित बनेका उनी आफू राष्ट्रपति बन्ने र काङ्गे्रसलाई समेत सरकारमा सहभागी गराउने योजनामा थिए । प्रचण्डलाई मनाउन सफल भएको ठान्ने सिटौला प्रचण्डले दिएको वचनकै आधारमा राष्ट्रपति बन्न अग्रसर भएका थिए । कात्तिक ७ गते शनिबार बिहान भएको काङ्गे्रस पदाधिकारी बैठकमा राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा छलफल भएको थियो । उक्त बैठकमा सुशील कोइरालालाई राष्ट्रपतिको उम्मेदवार बनाउन प्रस्ताव हुँदा कोइरालाले ‘इरिट्रेड’ हुँदै झर्किएर ‘म हुन्न, म हुन्न’ भनेका थिए । त्यसपछि उपसभापति रामचन्द्र पौडेलले वरिष्ठ नेता शेरबहादुर देउवालाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गर्दा देउवाले पनि सो प्रस्तावलाई अस्वीकार गरेका थिए । सुशील र देउवापश्चात् उपसभापति रामचन्द्र पौडेलको नाम प्रस्ताव भयो । पौडेलले आफू सक्रिय भूमिकामा रहने बताउँदै तेह्रौँ महाधिवेशनमा पार्टीको सभापति बन्न इच्छुक रहेको जानकारी बैठकलाई गराएका थिए । तीन प्रमुख नेताहरूले राष्ट्रपतिको उम्मेदवार बन्न नमानेपछि सोही प्रस्ताव महामन्त्री प्रकाशमान सिंहसमक्ष राखियो । सिंहले पनि आफू सक्रिय भूमिकामा रहने भन्दै उम्मेदवार बन्न अस्वीकार गरिदिए । त्यसपछि कसैले ‘कि सिटौलाजी नै उम्मेदवार बन्ने हो’ भनेर प्रस्ताव राखेझैँ गरिदिए । प्रस्ताव हल्का ढङ्गले राखिएको भए पनि सिटौलाले गम्भीर प्रतिक्रिया दिए । सिटौलाको भनाइ थियो, ‘ठीक छ, म राष्ट्रपतिको उम्मेदवार बन्न तयार छु ।’ सिटौलाको कुरा सुनेर बैठकका सबै सहभागी चकित परे । सिटौलालाई उम्मेदवार बनाउने पक्षमा सुशील कोइरालासहित अधिकांश पदाधिकारी थिएनन्, त्यसैले केन्द्रीय समितिको बैठकमै प्रस्ताव राखेर छलफल गरी निर्णय लिने भन्दै पदाधकारी बैठक टुङ्ग्याइयो । सोही दिन दिउँसो केन्द्रीय समितिको बैठक निर्धारण गरिएको थियो । बैठकमा राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्नेबारेमा लामो छलफल हुँदा कसैले पनि सिटौलाको नाम लिएनन् । उम्मेदवार चयन गर्ने जिम्मेवारी वरिष्ठ नेता शेरबहादुर देउवा, सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेललाई दिने निर्णय गर्दै बैठक समापन भयो । त्यसपछि पनि सिटौला आफ्ना पक्षमा वातावरण बनाउन सक्रिय भइरहे । प्रचण्डको समर्थन प्राप्त गर्न सिटौलाले भरमग्दुर प्रयास गरे र प्रचण्डले एकपटक केपी ओलीसँग त्यस सम्बन्धमा कुरा पनि गरेका हुन् । तर, विद्या भण्डारीलाई राष्ट्रपति बनाउने निर्णय लिइसकेको एमालेले आफ्नो निर्णय बदल्ने सङ्केत दिएन । एमालेलाई मनाउन नसकेपछि प्रचण्ड पनि सत्तासमीकरणमा असर पर्छ भन्दै पछि हटे । प्रचण्डलाई काङ्गे्रसको पक्षमा ल्याउन शेरबहादुर देउवा र रामचन्द्र पौडेलले अन्तिमसम्म पनि प्रयास जारी राखेका थिए । त्यसबीचमा केबी गुरुङ र मानबहादुर विश्वकर्माको नाम सर्वाधिक अगाडि आयो । विश्वकर्माले चुनाव जित्ने स्थिति भए मात्र आफू उम्मेदवार बन्ने जनाउ पार्टीका नेताहरूलाई दिए । गुरुङले भने हार या जित जे भए पनि आफू उम्मेदवार बन्न तयार भएको जानकारी दिएपछि काङ्गे्रसले राष्ट्रपतिमा केबी गुरुङ र उपराष्ट्रपतिमा अमियकुमार यादवलाई उम्मेदवार बनाउने निर्णय लियो । गुरुङलाई उम्मेदवार बनाएर केही दिनअघिबाट नै गृहकार्य गरेको भए गुरुङ विजयी बन्न असम्भव थिएन । तर, काङ्गे्रसले उम्मेदवार तय गर्न ढिलाइ गरेका कारण ‘चलखेल’ गर्ने समय बाँकी रहेन ।
यसरी कृष्ण सिटौलाको राष्ट्रपति बन्ने प्रयास पनि असफल भएको हो । सिटौलाले आफू राष्ट्रपति बनेमा केपी ओली नेतृत्वको सरकारमा काङ्गे्रसलाई समेत सहभागी गराउने योजना बनाएका थिए । यद्यपि काङ्गे्रस नेतृत्व ओली सरकारमा सहभागी हुने सम्भावना भने छँदै थिएन र अहिले पनि छैन । यस प्रकरणबाट सिटौला भने नराम्रोसँग ‘एक्स्पोज’ भएका छन् ।
प्रतिक्रिया