
काठमाडौं । आन्दोलनरत तराई–मधेसकेन्द्रित राजनीतिक दलसँग वार्ता गर्न सरकारमा सहभागी दलका तर्फबाट तीन सदस्यीय उच्चस्तरीय वार्ता टोली गठन गरिएको छ । उच्चस्तरीय राजनीतिक संयन्त्रको आइतबार बसेको बैठकले एमाओवादी अध्यक्ष प्रचण्डको संयोजकत्वमा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र उपप्रधानमन्त्री कमल थापा सदस्य रहेको वार्ता टोली गठन गरिएको हो । तराई–मधेसमा आन्दोलतरत दलले सरकारको वार्ता टोलीसँग वार्ता गर्न आनाकानी गरेको भन्ने समाचार सार्वजनिक भएपछि सरकारले संयन्त्रका संयोजकको संयोजकत्वमा वार्ता टोली गठन गरेको बताइएको छ ।
सरकारले यसअघि उपप्रधानमन्त्री थापाको संयोकत्वमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेल, सामान्य प्रशासनमन्त्री रेखा शर्मा र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री रामजनम चौधरी सदस्य रहनुभएको वार्ता टोली गठन गरेको थियो । आन्दोलनरत दलसँग वार्ताका क्रममा उच्च तहमा नै वार्ता हुनुपर्ने माग आन्दोलनरत पक्षबाट उठेपछि सरकारले आज पुनःअर्को वार्ता टोली गठन गरेको हो ।
आइतबार गठित वार्ता टोलीमा उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक दाहाल, प्रधानमन्त्रीका प्रतिनिधिका रुपमा खनाल र सरकारी वार्ता टोलीका संयोजक थापा सहभागी भएको अर्को वार्ता टोली गठन गरेको हो । उच्चस्तरीय वार्ता टोलीमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रतिनिधिलाई पनि सहभागी गराउने सरकारको तयारी रहेको बताइन्छ ।
प्रतिक्रिया