
काठमाडौं । नेपालका सम्पूर्ण भाषा, साहित्यिक विधा, गीतसङ्गीत, चलचित्र, नाटक, ललितकला, लोकसाहित्य, संस्कृति आदिको विकास, विस्तार र समुन्नयनका लागि योजनाबद्ध रूपमा कार्यक्रम ल्याउन मदन भण्डारी कला साहित्य प्रतिष्ठानले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ । प्रधानमन्त्री ओली प्रमुख संरक्षक रहेको मदन भण्डारी फाउन्डेसन अन्तर्गतको प्रतिष्ठानका अध्यक्ष डा. विजय सुब्बाको नेतृत्वमा बालुवाटार गएको प्रतिनिधिमण्डलले सातसूत्रीय नीति र ३६ सूत्रीय कार्यक्रमसम्बन्धी ज्ञापनपत्र बुझाउँदै प्रतिलिपि अधिकार कानुनलाई सशक्त बनाउनुपर्ने, ‘गाउँ गाउँमा विद्यालय : ठाउँ ठाउँमा पुस्तकालय’को नीति तर्जुमा गर्नेुपर्ने, हरेक नेपाली राजदूतावासमा सांस्कृतिक सहचारीको व्यवस्था गर्नुपर्ने, स्रष्टाहरुलाई परिचयपत्र दिलाउनुपर्ने लगायतका माग गरेको छ ।
प्रतिष्ठानले नेपाली लोकसंस्कृतिको अभिलेखीकरण गर्नुपर्ने, संस्कृति विश्वविद्यालयको स्थापना गरिनुपर्ने, सुविधासम्पन्न सिर्जनाग्राम, नाट्यपाठशाला–रङ्गमञ्च तथा चलचित्र नगरी निर्माण गरिनुपर्ने, ७० वर्ष कटेका स्रष्टाहरुलाई आजीवन भत्ताको व्यवस्था गरिनुपर्ने, सरकारी वैदेशिक भ्रमणमा स्रष्टाहरुलाई समावेश गरिनुपर्ने, साहित्यिक पत्रकारिता सहयोग र प्रतिभा उपचार कोषको रकम वृद्धि गरिनुपर्ने, चलचित्र हलमा इ–टिकेटिङको व्यवस्था गरिनुपर्ने तथा सरकारी वा गैरसरकारी सञ्चारमाध्यममा राष्ट्रभक्ति, राष्ट्रिय प्रकृति, संस्कृति र जीवन पद्धति झल्किने खालका गीत–सङ्गीतलाई प्राथमिकता दिनुपर्ने माग पनि गरेको छ ।
यस्तै, सङ्घीय राज्यहरूमा ललितकला एकेडेमी तथा कला शिक्षा संस्था एवं केन्द्रीय तथा सङ्घीय राज्यमा कला सङ्ग्रहालय, कलाग्राम र कला ग्यालरीको स्थापना हुनुपर्ने, सम्पूर्ण मन्त्रालय र मातहतका सरकारी कार्यालय, संस्थान, नेपाली दूतावास र सार्वजनिक संस्थानमा कलाकृति सजाउन राष्ट्रिय बजेटमा उपयुक्त प्रतिशत छुट्याउनुपर्ने लगायत माग पनि ज्ञापनपत्रमा समेटिएको राससले जनाएको छ ।
सो अवसरमा प्रतिष्ठानका सल्ल्लाहकार प्रा राजेन्द्र सुवेदी, उपाध्यक्ष प्रा डा कृष्णप्रसाद घिमिरे, महासचिव देवी नेपाल, सचिव डा विन्दु शर्मा, कोषाध्यक्ष यशोदा अधिकारी, सचिवालय सदस्य देशभक्त खनाल, शान्तकुमार राई, अशोक राई, गीतकार श्याम तमोट लगायतको सहभागिता थियो ।
प्रतिक्रिया