जीवन साँच्चै नै सुन्दर हुन्छ, अर्को अर्थमा भन्नुपर्दा, जीवनलाई बुझ्ने दृष्टिकोण सुन्दर र सकारात्मक हुनुपर्छ । मैले धेरैपहिले ओस्कार अवार्ड वितरण समारोह टीभीमा हेरेको थिएँ । विश्वभरिका रुपहलीपर्दाका सिनेकलाकारहरु र यस ग्रहका नामुद सेलेब्रेटीहरुको जमघटले सधै ओस्कार अवार्ड समारोह अति नै रोमाञ्चक र मनोराञ्जनात्मक हुने गर्दछ । त्यस वर्ष विदेशी भाषाको चलचित्रहरुमा ओस्कार अवार्डको नोमिनेशनमा नेपाली चलचित्र काराभान पनि चुनिएको थियो । यसले गर्दा मलाई पनि त्यो समारोहको प्रसारण टीभीमा हेर्ने इच्छा जागेको थियो । विदेशी चलचित्रहरुसँगको प्रतिस्पर्धामा काराभानले अवार्ड पाओस् र नेपाली भाषाको चलचित्रले एउटा नयाँ आयाम थपोस भन्ने आशा गरेको थिएँ, तर, अवार्डचाँहि इटालीको चलचित्र “लाइफ इज ब्युटीफुल” ले प्राप्त गर्यो । दोस्रो विश्वयुद्धताका जर्मनीले यहुदीहरुलाई क्याम्पमा बन्दि बनाइएको कथामा अधारित चलचित्रमा कठिनाइ भित्रबाट नै सुन्दर जीवनको जन्म हुन्छ भन्ने सन्देश अत्यन्त सुन्दर ढंगले प्रस्तुत गरिएको थियो । यो विदेशी, इटाली भाषाको चलचित्रले जीवनलाई सुन्दरताको द्योतक मान्दै जीवन जिउने प्रेरणा सबैलाई दिएको थियो । हामीले कुनै कुरामा असफल भयौं भने असफलताको कारण भरसक केही कारणहरुमाथि थोपार्ने गर्दछन् । तर, वास्तवमा कारण हामी नै स्वयंम हौ । हामी सधै जीवनमा कुनै न कुनै हिसाबबाट संघर्षरत रहन्छौ । यो एउटा जीवन भोगाइको क्रमिक सिलसिला हो जस्लाई हामीले प्रत्येक पल जति कठिन् कार्य गरेतापनि त्यस कठिनाइ भित्रको सुन्दरतालाई बुझ्न सक्नुपर्छ भन्ने मेरो विचार हो ।
जीवनको प्रत्येक पाटालाई समेट्दै जाँदा सबैभन्दा पहिले जीवनको अघि बढ्ने पहिलो कदम आफ्नो सानो परिवारबाट नै शुरु हुने गर्दछ । हामी त्यही परिवारको मायामोह, स्नेह, सुखदुखभित्रको दायराभित्र नै दगुरीरहेका हुन्छौ । यसरी जीवन परिवारको दायराभित्र दगुरीरहेको अवसरमा बाहिर नियाँल्ने हामीलाई फुर्सदपनि हुदैन । मेरो जीवनको सेरोफेरोपनि त्यही परिवारको दायराभन्दा बाहिर कहिल्यै फुत्केनन् । मेरो काँधमाथि सधै ठूलो जिम्मेवारीको बोझ लादेको जस्तो महशुस भइरहन्थ्यो र जिम्मेवारी सकिइने र यसबाट केही समयको लागि भएपनि उम्कने फुर्सद कहिल्यै निकाल्न सकेको थिएन । यतिका उमेरसम्म देशविदेश घुमियो, कैयौं राष्ट्रहरुमा काम गरियो, तर, ती सबै बाध्यताको परिधिभित्र समेटिएका जीवनका क्रियाकलापहरु थिए । गतवर्षको अन्तमा मेरा बगैचामा फुलेका २जना सन्तानहरुले हाम्रो वैवाहिक जीवनको ३०वी वर्षगाँठको अवसरमा हामीलाई सरप्राइज दिदै चढाइएको सौगात अहिलेको १२ दिने यूरोप भ्रमण थियो । आफ्नै स्नेह र मायाले हुर्काएका यी २ जना सन्तानले हाम्रो अनुभूतिलाई महशुस गरेर जम्मै विषयवस्तुलाई भुलेर स्वच्छ, स्वतन्त्र भएर यूरोप भ्रमण गर्ने उपहार दिएका थिए र यतिबेला मैले यात्रा संस्मरणलाई आवरण दिदै लेख्दैछु । छोराछोरीले क्रिसमसको अवसर पारेर भ्रमणको अग्रिम बुकिंग गरेका रहेछन्, तर त्यतिबेला यूरोपको कक्रिइने जाडोमा भ्रमण रमाइलो नहुने हुनाले मार्च महिनाको १८ देखि २९ तारिखसम्म भ्रमण गर्ने प्रोग्राम मिलाएका थियौं ।
मेरी श्रीमतीले यसरी भ्रमणको अग्रिम बुकिंग थाह नै नदिइ किन गरेकी भनेर छोरीलाई सोध्दा छोरीले भनेकी थिईन, “तपाइहरुले हाम्रो लागि मात्र दुःख गर्नुहुन्छ आफ्नो बारेमा कहिल्यै सोच्नु हुन्न… अब यो भ्रमण तपाइहरु २ जना ढुक्क र स्वच्छन्द भएर, सबै चिज भुलेर आनन्दित हुँदै भ्रमण गर्ने हो, यो हाम्रो बुवाआमा प्रतिको आदर जनाउने पहिलो कदम हो र कसरी खुशी बनाउने भन्ने सानो प्रयास हो” भन्ने शब्दहरु हङकङबाट फोनमा भन्दा श्रीमतीले आँखाबाट हर्षका आँशु बररर खसाइन् र मलाई भनिन्, “बच्चाहरुलाई सानै देख्छु म तर, पाको, बुझ्ने भैसकेकी रहिछिन् मेरी छोरी” भन्दै तौलियाले आँशु पुछ्दै मलाई फोनमा छोरीसँग बोल्न दिएकी थिईन् । जीवन कहिलेकहिँ भावनात्मक खुशीको लहर बन्दै छचल्किन्छ । मैले बच्चालाई धन्यवाद दिंदै आशीर्वाद दिएँ । हाम्रो यो भ्रमण सातओटा राष्ट्रहरुको १२ दिने भ्रमण थियो । बच्चाहरुको हामीप्रतिको अनुभूति र श्रद्धा देखेर यस घडि मलाई जीवनदर्शन सुखको श्रोत र अनुपम वरदान ठान्दै पहिलोचोटि जीवनको सुन्दरतालाई नजिकबाट चियाउने मौका पाएजस्तो लागिरहेको छ ।
१७ मार्च २०११ को दिनसम्म हामीले सबै भ्रमणमा लैजाने सामग्रीहरु, कपडाहरु प्याक गरिसकेका थियौं । एउटा डिजिटल क्यामेरा, ह्यान्डिक्याम भीडीयो क्यामेरा र ७ वटा क्यासेटहरु तैयार पारसिकेको थिएँ । सातवटा क्यासेट सातवटा राष्ट्रकोलागि भनेर किनेको थिएँ । हामीले विशेष शनिवार र आइतवारको छुट्टीको दिनमा नै तैयार पारेका थियौं । दिनांक १८ मार्च २०११ बिहान साढे ६ बजे उठ्यौं र छिट्टै तैयार भयौं । एउटा बत्ती बाल्यौं, साइतमा हिँड्नुअघि आफ्नो आरध्यदेवलाई पूजा गरेर हामी सवा सात बजे घरबाट क्यानाडावाटरका लागि हिड्यौं । हाम्रो यात्रा क्यानाडावाटरबाट शुरु हुनेथियो । क्यानाडावाटरबाट एक्सपात एक्सप्लोर कम्पनीको कोचबाट हामी सातवटा राष्ट्रका लागि ठीक सात बजेर ५५ मिनट जाँदा प्रस्थान ग-यौं । हामीभन्दा पहिले नै सबै भ्रमणकारीहरु कोचमा बसिसकेका रहेछन् । भ्रमणको बारेमा टूर गाइड, समी कोट्स (मेरी छोरीको नाम समीसँग मिल्ने नाम) ले टूरको बारेमा सुरक्षा र गन्तव्यको बारेमा हाँस्दै भन्दैथिईन् । बिहानको समय भए पनि त्यति जाडो थिएन । घरबाट हिँड्दा घरमा भाडामा बस्ने गगन भाइले शुभकामना दिंदै बिदा गरेका थिए । अलि ढिलो होला जस्तो भएकोले बाटोमा एक्स्पात एक्सप्लोरका ज्याकलाई फोन गरेको थिएँ, तर हामी समयमा नै पुगेकाले हाम्रो यात्रा पूर्वनिर्धारित समयभन्दा ५ मिनटपहिले हिड्यौं । एउटा नयाँ उमंग लिएर हामी नयाँ गन्तव्यतिर लागिरहेका थियौं । त्यसैबेला हङकङबाट छोरीको फोन आयो । हामीभन्दा बढी छोरी खुशी र उत्साहित थिईन् । यात्रामा सतर्क रहनको लागि भन्दै थिईन् । श्रीमतीले छोरीलाई आशीर्वाद दिईन् फेरि त्यसैबेला कान्छाबाबा, लेफ्टिनेन्ट रिटायर दानबहादुरले पञ्चासे समाज, यूकेको मिटिङमा आउनेबारे सोध्दै थिए, तर म आफू भ्रमणमा भएको हुनाले पछि कुरा गरौला भनेर कुराको बीट मारेँ ।
हाम्रो गाडी आफ्नो रफ्तारमा दक्षिणपूर्व लण्डन हुँदै डोभरतिर गुडिरहेको थियो । गाडी हिडेको केहीक्षणपछि भ्रमणकारीहरु आ-आफ्नो क्यामेराहरु निकाल्दे दृष्यहरु खचाखच खिंच्न थालेका थिए । आकाशमा बादल थियो र पानी पर्लाजस्तो देखिन थाल्यो । दिन उज्यालो भएको भए डोभर अवस्थित हृवाइटक्लिप् केहीबेर हेर्ने र फोटोहरु खिच्ने कुरा गाइडले गरेकी थिईन् । डोभर नजिकिँदै थियो, श्रीमतीले सोध्दैथिईन्, “हाम्रो गाडी टनलबाट जाने होकि जहाजबाट जाने हो ” भनेर सोधिन् । मैले हामी अब ठूलो जहाजमा चढेर इङ्गलिश च्यानल पार गर्नेछौ र गाडी पनि त्यही जहाजमा लोड गरेर पारि क्यालेइमा (फ्रान्सको बन्दरगाह) जानेछौ । यस्तै कुराहरु गरिरहँदा डोभर पनि आइ पुग्यौं । सबैजनाको पासपोर्ट र सूचना विवरण भर्ने सानो लिस्टमा आफ्नो विवरणहरु भरेर लामबद्ध भयौं र केहीक्षणपछि इमिग्रेशन नाघेर हामी जहाजतर्फ सबैजना गइरहेका थियौं । “स्पिरिट अफ ब्रिटेन” नामक जहाजबाट चढेर हामी अहिले फ्रान्सतर्फ लागिरहेका थियौं । जहाजको ६ तल्लामा गएर विश्राम गर्ने ठाउँमा बस्यौं । जहाजभित्र ड्यूटी फ्रि समानहरु थिए, तर, हामीले केही लिएनौ । बाहिर सिमसिम पानी परिरहेको थियो, त्यसैले दृष्यहरु सफा देखिरहेको थिएन । समुन्द्रमा छालहरु केही उत्तेजित भएझै प्रतीत हुन्थ्यो, तर भित्र बसेकाहरुलाई जहाज चलिरहेको अनुभूति भइरहेको थिएन । म सोंचिरहेको थिएँ यही इङलिश च्यानल पार गरेर आजभन्दा २००० वर्षपहिले रोमनहरुले बेलायतमा चढाइ गरेर कैयौं शताब्दीसम्म शासन गरेका थिए । यही च्यानलको वारिपारि रहेका २ देशहरु, बेलायत र फ्रान्सले सयवर्षे युद्धहरु लडेका थिए । यस्तै यही इङलिश च्यानलले बोकेका इतिहासहरु सोच्दै च्यानल पार गरिरहेका थियौं । हृवाइटक्लिफ् आँखाबाट ओझेल हुँदै गयो अहिले म टाढा-टाढा क्षितिजसम्म समुन्द्र नै समुन्द्र देखिरहेको छु । आजभन्दा लाखौ वर्षपहिले फ्रान्स र बेलायतको भूभाग जोडिएको थियो भनिन्छ, तर, पछि पृथ्वी परिवर्तन हुने क्रममा बीचको भूभाग धसिएर यो च्यानलको निर्माण भएको हो भन्ने भूगर्वविद्हरुको ठहर छ ।
जहाजभित्र नै बुरियाले थर्मसमा लगेको कफी दिईन् । मलाई आफ्नी श्रीमतीको सबैभन्दा मनपर्ने कुरा जस्तोसुकै अवस्थामा पनि केही पिउने र खानेकुराको जोहो गर्ने बानी हो । डोभरको हृवाइटक्लिफ मौसम राम्रो नभएकोले हामीले धेरै फोटोहरु लिएका थिएनौ । एउटा फोटो यसै स्तम्भमा प्रकाशित गरेको छु, तर, त्यति प्रष्ट छैन । मैले प्रत्येक ठाउँको भीडीयो रेकर्ड र फोटोहरु खिँच्न छोडेको थिईँन । हामी यतिबेला एकदमै खुशी थियौं र संसारका भाग्यशालीहरु मध्ये हामी पनि भाग्यमानी रहेछौ भन्ने भान भइरहेको थियो । यस समयलाई आनन्दमयी र संस्मरणीय बनाउनको लागि हामी अत्यन्त उत्सुक थियौं । अहिले नयाँ ठाउँ, नयाँ गन्तव्यतिर गइरहेका थियौं । इङलिश च्यानल पार गर्नुअघि केहीबेरका लागि डोभरमा बसेका थियौं त्यतिबेला भ्रमणका साथीहरुले विदेशी पैसा, यूरो र स्विस फ्रेंक सटही गरेका थिए, तर, मैले पहिले नै लण्डनमा साटेर ल्याएको थिएँ । यूरोपेली राष्ट्रहरुमा (यूरोपियन युनियन अन्तर्गत पर्ने) बेलायत र स्विट्जरल्याण्ड बाहेक सबै राष्ट्रमा यूरो करेन्सीको प्रयोग गरिन्छ । स्विट्जरल्याण्ड यूरोपियन युनियन अन्तर्गतको राष्ट्रमा पर्दैन ।
झन्डै सवाघण्टाभित्र हामी इङलिश च्यानल पारगरेर फ्रान्सको बन्दरगाह क्यालेइमा पुग्यौं । पहिलोचोटि फ्रान्सको धर्तीमा पाइला टेकेँ । मौसम अहिले राम्रो भएको थियो । एकदुईदिन पछि मौसम सफा रहने सूचनाले हामी खुशी थियौं । हामी अहिले विस्तारै भ्रमणटोलीका साथीहरुसँग झ्याम्मिदै थियौं । १३ वटा राष्ट्रहरुबाट ३४ जनाको ठूलो भ्रमणटोली एकत्रित भएर सातवटा राष्ट्रहरुकालागि हामी भ्रमण गरिरहेका थियौं । बेलायत छाडेर फ्रेन्च भूमिमा कोच आफ्नो रफ्तारमा गुडिरहेको थियो । हाम्रो आज साँझ पेरिसको फोरेस्टहिल होटेलमा बस्ने बन्दोबस्त ट्राभल एजेन्सीले मिलाएको थियो । फ्रान्सका जमीन पनि मलाई बेलायतको जस्तै लाग्यो, तर समथल र उपजाउको हिसाबमा मलाई फ्रान्सेली भूमि अझ राम्रो लागिरहेको थियो । बाटाहरु सबै उस्तै बेलायतका जस्ता सफा र फराकिला देखियो । सडकबाट पर क्षितिजसम्म गाउँहरु एकनासका घरहरुले सज्जिएका देख्यौं । घाम कोल्टे परिसकेको थियो । गाडी आफ्नो गन्तव्यलाई नाप्दै अघि बढ्दै थियो । गाइडले पेरिसको बारेमा भन्न लागिन् र बेलुकि सातबजे राति पेरिसको एउटा महत्वपूर्ण गिरजाघर स्याकरे च्योर र वरिपरिका रेडलाइट क्षेत्र घुमाउने प्रोग्राम बताएकी थिईन्, तर, यसमा इच्छा हुनेहरुलाई मात्र भनेकी थिईन् । हामीलाई रेडलाइट क्षेत्रको महत्व थिएन, तर ऐतिहासिक चर्च हेर्ने रहर भने मनमा पलाएको थियो । पौने ६ बजेतिर हामी प्रेमीहरुको सुन्दर पेरिस शहरको बाह्य भागमा प्रवेश ग-यौं । मोटरको ट्राफिक लण्डनको भन्दा बढी भएको प्रतीत भइरहेको थियो । ठूलठूला भवनहरु सँगसँगै पुरानो इतिहास बोकेका भवनहरुलाई नाँघ्दै हामी बेलुकि सवा ६ बजे फोरेस्टहिल होटलमा पुग्यौं । पेरिस शहरलाई हिटलरले कब्जा गर्दा ध्वंसात्मक बमहरु पेरिसमा खसाउनु परेको थिएन र दोस्रो विश्वयुद्धमा पेरिस शहर खण्डहार हुनुबाट बचेकोले यहाँका भवनहर २ हजार वर्ष देखिको इतिहास बोकेका भवनहरु छन् ……
अर्को भागमा पेरिसको बारेमा लेख्नेछु ..
प्रतिक्रिया