राष्ट्रपति विद्या भण्डारीको शपथ ग्रहण समारोहलाई प्रभावित गर्न न्यायपरिषदका सचिव नृपध्वज निरौलाले कानून र संविधानविपरीत सार्वजनिक विज्ञप्ति जारी गरेको रहश्योदघाटन भएको छ । संविधानअनुसार राष्ट्रपतिको शपथ प्रधानन्यायाधीशबाट हुने भएकोले प्रधानन्यायाधीश पराजुली नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीलाई शपथ गराउन अपरान्ह साढे तीन बजे नै शितल निवास पुग्नुभएको थियो । त्यसैबीचमा न्यायपरिषदको सचिव रहेका निरौलाले प्रधानन्यायाधीश पराजुली गत साउन २१ गते नै अवकाश भइसकेको भनी आफूले लेखेको पत्र सञ्चारमाध्यमहरू मार्फत सार्वजनिक गराएका थिए । उनले सपथ ग्रहणलाई नै बिथोल्ने उद्देश्यले पत्र तयार गरी सञ्चारमाध्यमहरूलाई उपलब्ध गराएको बुझिएको छ ।
नेपालको संविधानअनुसार प्रधानन्यायाधीशले राष्ट्रपतिसमक्ष राजीनामा दिएको, उमेर पैंसठ्ठी वर्ष पूरा भएको, प्रधानन्यायाधीशविरुद्ध संविधानले धारा १०१ बमोजिम महाभियोगको प्रस्ताव पारित भएको, संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिले पदमूक्त गरेको, फौजदारी कसुरमा अदालतबाट सजाय पाएको या मृत्यु भएको अवस्थामा मात्र पदमुक्ति हुनेछ । न्यायपरिषदको सचिवलाई न्याय परिषदबाट पत्राचार गर्ने अधिकार भए पनि प्रधानन्यायाधीशलाई पदमूक्त गर्ने कुनै कानूनी अधिकार नभएको देखिन्छ ।
न्यायपरिषद ऐन २०७३ ले न्यायसेवाका व्यक्तिहरूको सेवाअवधिसम्बन्धी जानकारी गराउने व्यवस्था गरेको छ । ऐनको दफा ३१ को उपदफा १ मा भनिएको छ– ‘कुनै न्यायाधीश उमेरका कारणले अवकाश हुने भएमा न्याय परिषदले अवकास हुनुभन्दा कम्तिमा साठी दिनअगावै सोको जानकारी सम्बन्धित न्यायाधीश र निकायलाई गराउनुपर्ने छ ।’ तर नृपध्वजले भने आफूखुशी पत्र लेखी सम्बन्धित व्यक्ति र निकायलाई जानकारी गराउनुभन्दा पहिले नै सञ्चारमाध्यमहरूलाई उपलब्ध गराएर संविधान र कानूनको धज्जी उडाइदिएका छन् ।
गोपाल पराजुलीको जन्ममिति र सेवा अवधिबारे गत वर्ष उहाँको नियुक्तिका लागि सिफारिसका क्रममा पनि बहस छलफलमा आएको थियो । शैक्षिक योग्यताका प्रमाणपत्र र नागरिकता समेतको अध्ययन गरी पराजुलीको जन्ममिति २०१० वैशाख १६ गते भएको र सेवा अवधि २०७५ बैशाख १५ सम्म रहेको किटान गरेको थियो । सोही आधारमा संवैधानिक परिषदले गोपाल पराजुलीलाई नियुक्त गर्न सिफारिस गरेको थियो । संसदीय सुनुवाईको क्रममा पनि पराजुलीको जन्ममितिबारे उजुरी परेको र संसदीय समितिले पनि २०१० बैशाख १६ गते नै जन्ममिति भएको ठहर गरेको थियो । यसअनुसार पराजुली आगामी बैशाख १५ गते सेवा निवृत्त हुनुहुनेछ । तर परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले उपलब्ध गराएको पत्रमा गोपाल पराजुलीको जन्म मिति २०११ बैशाख १३ गते भनी उल्लेख गरेको छ । परीक्षा नियन्त्रण कार्यालयको पत्रअनुसार पराजुलीको सेवा अवधि २०७६ बैशाख १२ गतेसम्म कायम रहने हुन्छ । जबकि पराजुलीले आफ्नो जन्ममिति २०११ नभई २०१० बैशाखमा भएको स्पष्ट गर्दै आउनुभएको छ र उहाँले २०७५ बैशाख १५ गते नै आफू सेवा निवृत्त हुने बताउनुभएको छ ।
परीक्षा नियन्त्रण कार्यालयको पत्रमा उल्लेख भएको जन्ममितिअनुसार पराजुलीको अवकाश मिति तय गर्ने हो भने २०७६ बैशाख १२ गतेलाई मान्नुपर्ने हुन्छ । तर, सचिव निरौलाले के आधारमा २०७४ साउन २१ गतेलाई अवकाश मिति भनी प्रचार गराएका हुन् सो नै रहश्यको विषय बनेको छ ।
वास्तविकता यस्तो हुँदाहुँदै पनि सर्वोच्च अदालतको न्यायाधीश चोलेन्द्र शमशेर राणा र न्याय परिषदका सचिव नृपध्वज निरौलाले संविधान र कानूनविरोधि व्यवहार गरेकोले निजहरूमाथि कानूनी कारवाही गर्नुपर्ने अवस्था उत्पन्न भएको छ ।
हुर्नुहोस् परीक्षा नियन्त्रण कार्यालयको पत्र-
यो पनि हेर्नुहोस्-
प्रतिक्रिया