खुव सुम्सुम्याएँ
माया गरेँ तिमीलाई
पे्रमको सागर नै खसाएँ तिमी भनेर
आँखाभरि तिम्रो तस्बिर सजाएँ
हण्डर र ठक्करसँग कुस्ताकुस्ती खेलेर
तिमीलाई शहरको रूपमा चिनाएँ
राजधानीको रूपमा अथ्र्याएँ
तर पापको र अधर्मको खानी रहेछौ तिमी
माया र विश्वास
बेकाम रहेछ तिम्रा लागि
सद्गुण र सदाचार
आदर्श र मानवीयता
उहिल्यै भग्नावशेष बनाइसकेछौ
स्वार्थन्धता मूलमन्त्र रहेछ तिम्रो
तिमी सुकिलोको नाममा कात्ती परिसकेछौ
तिमी बौद्धिकताको नाममा सडिसकेछौ
ए ! शहर
एक काठमाडौं
अति भो, अब त अति भो
तिमी सम्साँझै
देशभरिका सपनाहरू डायरिया छाड्दा रहेछौ
र उल्टी गर्दा रहेछौ सदाचार
भट्टी पसलको टेबुलमा बसेर
राष्ट्रियताको ढाँचा बनाउँदा रहेछौ
तिमी लाचार, पीडक र बैगुनी रहेछौ
मान्छेभित्र पस्न नसक्ने रहेछौ
मान्छेलाई आफ्नो अङ्गालोमा बजाउन नसक्ने रहेछौ ।
काभे्र
कविता लेख्न जान्नुपर्छ– भाग्यशाली अधिकारी
सत्यलाई असत्यले छोप्न सक्नुपर्छ
असत्यलाई धु्रवसत्य बनाउन सक्नुपर्छ
कविता लेख्न जान्नुपर्छ ।
चोरलाई साधु भन्नुपर्छ
साधुलाई चोर बनाउन सक्नुपर्छ
जोरले च्याँठ्ठिएर कराउनुपर्छ
के–के न भएजस्तै देखाउनुपर्छ
कविता लेख्न जान्नुपर्छ
आफ्नोलाई धाप मार्नुपर्छ
अर्कोलाई मार छास्नुपर्छ
माथि चढ्नेलाई तल खसाल्नुपर्छ
अगाडि लम्कनेलाई पछाडि तान्नुपर्छ
कविता लेख्नु जान्नुपर्छ
ए महाशय कविता लेख्न जान्नुपर्छ
आफ्नै छेउ आए घचाड्नुपर्छ
उठ्न खोज्नेलाई थचार्नुपर्छ
ठाउँठाउँमा राख्न सक्नुपर्छ
उस्तै परे तर्साउनु पनि पर्छ
त्यस्तैलाई धम्क्याउनु पनि पर्छ
कविता लेख्न जान्नुपर्छ
अवसर परे छोप्नुपर्छ
भेल आए बग्नुपर्छ
झुटको खेती मौलाउनुपर्छ
कहिले कतै बौलाउनुपर्छ
कविता लेख्न जान्नुपर्छ
चाकडी चाप्लुसी मोल्नुपर्छ
हो कि जस्तो पार्नुपर्छ
गोडा मोल्न सक्नुपर्छ
कविता लेख्न जान्नुपर्छ
ए महाशय तिमीले कविता लेख्न जान्नुपर्छ
अनेक राजनीति गर्नुपर्छ
अनेक विधि अपनाउनुपर्छ
तब त तिम्रा कविता बुलन्द हुन्छ
त्यस्तै तिम्रा कविता कहाँ बुलन्द हुन्छ
अनि पो तिम्रा कविताले झ्याली पिट्न सक्छ
कविता लेख्न जान्नुपर्छ ।
– दुराडाँडा, लमजुङ
पुस्तक समीक्षा
कमलको सार्थक कृति सुकर्म
नेपाली साहित्यका पाठकका लागि कमल रिजाल त्यति नयाँ नाम होइन । लामो समयदेखि जीवन र दर्शनको क्षेत्रमा कलम चलाउँदै आएका रिजाल विशेषगरी समन्वयवादी चिन्तक मानिन्छन् । आध्यात्मिक क्षेत्र र भौतिक जगत्लाई एउटै सिक्काको दुई पाटा ठान्ने रिजाल आफैँमा एउटा कुशल पत्रकार पनि हुन् । उनका करिब ५५ सय वर्षको इतिहास समेटेर लेखिएको ‘सुकर्म’ उपन्यास हालै प्रकाशित भएको छ । उनले डिकुरा प्रकाशनद्वारा प्रकाशित यस उपन्यासमा ज्ञान र विज्ञान दुवै पाटोलाई सँगसँगै केलाउने प्रयास गरेका छन् । उपन्यासले अन्तरिक्ष विज्ञानको क्षेत्रमा आगामी पाँच सय वर्षसम्मको मानव गतिविधिलाई समेत केलाउने प्रयास गरेको छ ।
वास्तवमै सुकर्म त्यस्तो उपन्यास हो जो उपन्यासलेखन परम्परामा हालसम्मकै नौलो प्रस्तुति हो । लेखकले सपनाको व्योमयानमा कल्पनाको लहरलाई यसरी कुदाएका छन् कि पृथ्वीदेखि धु्रवलोकसम्मको स्थितिलाई उतार्न सफल भएका छन् । यसभित्र जीवन छ । दर्शन छ । ज्ञान पनि छ । विज्ञान पनि छ । अनि परामनो विज्ञानसमेत त्यसैको लहरमा उनिन पुगेको छ । उपन्यासको प्रमुख पात्र जसको नाममा उपन्यासको नामै तानिन पुगेको छ सुकर्म आफैँमा साहित्य, कला र दर्शन त हुँदै हो साथसाथै हरेकको जीवनयात्रा पनि हो र समग्र मानव समाज र सभ्यताको अतीतको प्रतिनिधि र सुखद भविष्यको संवाहक पनि हो । पृथ्वीदेखि अन्तरिक्ष हुँदै अन्तत: समग्र विश्वब्रह्माण्ड नै गागरमा सागरको भाँती यसमा अटाएको छ । व्यष्टि संसार पनि यसैभित्र भेटिन्छ, समष्टि संसार पनि यसैभित्र पाउन सकिन्छ । संसारको परा स्वरूप पनि यसैभित्र छ अपरा (स्थुल) स्वरूप पनि यसैभित्र छ । वेदका मन्त्र तथा उपनिषद् ऋषिकुमारहरूले देखेका संसार पनि यसैमा अटाएको छ । न्युटन, ग्यालिलियो आदि हालका खगोल, भूगोलवादी सबै किसिमका वैज्ञानिकले देखेका संसार पनि यसैभित्र टुसाएको छ ।
डार्बिनको विकासवाददेखि फ्रायडको यौनवादसम्म र शंकराचार्यको अद्वैतवाददेखि माक्र्स र फ्रेडरिक एंगेल्सको द्वन्द्वात्मक भौतिकवादसम्मको समन्वयात्मक स्वरूपको रूपमा समेत लिन सकिने उपन्यास सुकर्म विगत पाँच हजार वर्षदेखि आगत पाँच सय वर्षसम्मको विश्वपरिघटनाको रोमाञ्चक प्रस्तुति पनि हो । सुकर्मजस्तै उपन्यासका अर्का मूल पात्र सुभद्र पनि उपन्यासको पात्र मात्र नभई भाव नै हो । वास्तवमा जसले अहर्निश सर्वकल्याणको चिन्तन गर्छ त्यही नै सुभद्र हो । करिब पाँच हजार वर्षपूर्व हराएको साथी सुकर्मको खोजमा निस्केका सुभद्रले यसका लागि समग्र खगोल र भूगोल चहार्ने काम मात्र गरेका छैनन् परास्वरूपले सप्तर्षिलोक भेदन गरी ध्रुवलोकसम्म पुगेर पनि काम फत्ते गरेर मात्र फर्केका छन् ।
जुनसुकै काममा पनि एक्लै परिन्छ कि भनेर डराउन हुन्न । यात्रामा निस्कँदा सुरुमा सबै एक्लै हुन्छन् । जति सँगसाथी मिल्छन् बाटामै भेटिने हुन् । एक्लो परिन्छ कि भनेर डराउने हो भने यात्रामा निस्कनै सकिँदैन । मसक्क आँटेर निस्कने हो भने यति सहयोगी साथी भेटिन्छन् कि जुन उसले कल्पना नै गरेको हुन्न भन्ने पनि उपन्यासबाट पाइने अर्को सन्देश हो । वास्तवमा संसारमा हाल जति बेथिति बढेको छ सबै मानिसकै कारण हो । संसारलाई बिगार्न न स्वर्गबाट देवीदेवता आएका छन् न पातालबाट भूतप्रेत नै आएका छन् । मानिस सोच्छन् एउटा बोल्छन् अर्को र गर्छन् झन् अर्को । यही नै संसार बिगार्ने मूल सूत्र हो । मानिस सबैले जे बोल्छन् त्यही गर्ने हो भने केही गर्नैपर्दैन संसार आफैँ स्वर्ग नै हुन पुग्छ भन्ने तथ्यलाई पनि उपन्यासले राम्रैै केलाउने प्रयास गरेको छ ।
सर्सर्ती हेर्दा उन्यास घटना विवरणको वर्णनात्मक प्रस्तुति हो कि जस्तो लागे पनि विषयवस्तु प्रस्तुतीकरणको हिसाबले यति बढी रहस्यमय हुन पुगेको छ कि उपन्यास वास्तवमै जस्तो भावले हेर्यो त्यस्तै देखिन पुगेको छ । पात्रहरूको चयनदेखि विषयवस्तुको गुम्फन नै यसरी गरिएको छ कि सुरुदेखि अन्यसम्म पाठकहरूले जस्तो सोच्यो त्यस्तै देख्न र जस्तो चाह्यो त्यस्तै पाउन सक्छन् ।
भूगोलको वर्णनको क्रममा पूर्व, पश्चिम, उत्तर, दक्षिण सर्वत्र प्राचीन भूगोल र आधुनिक भूगोलाई जसरी समन्वय गरेर विवेचन भएको छ त्यो पनि वास्तवमै नौलो प्रस्तुति हो । उपन्यासले प्राचीन सातद्वीप र सात समुद्रलाई आधुनिक द्वीप र समुद्रसित समन्वय गरेर देखाउन जुन तथ्य उद्घाटन गर्न खोजेको छ त्यो साँच्चै मार्मिक छ । प्रसङ्गअनुसार तत्तत् स्थानको पात्र र स्थानको नामले उपन्यास साँच्चै यथार्थताको कुञ्जी हुन पुगेको अनुभूत हुन आउँछ । उदाहरणका लागि कोरिया प्रायद्वीपलाई प्राचीन क्रौञ्चदीप, जापानलाई प्राचीन पुस्करद्वीप, चीनलाई प्राचीन जम्बुद्वीपको किंपुरुष खण्ड, हालका युरोपियन भूभागलाई प्राचीन प्लक्षद्वीप, खाडीक्षेत्रलगायत कतिपय अफ्रिकी भूभागलाई प्राचीन शाल्मलीद्वीप, हालका कतिपय दक्षिण अमेरिकी भूभागलाई प्राचीन शाकद्वीप र क्यानेडियन भूभागलाई प्राचीन कुशद्वीपको संज्ञा दिएर उपन्यासले ती–ती क्षेत्रका पहिलेदेखि अहिलेसम्मका गतिविधिलाई जुन ढङ्गले केलाउने प्रयास गरेको छ त्यसबाट पाइने मिठास साँच्चै वर्णनातीत हुन पुगेको छ ।
उपन्यासले प्राणी उद्विकासको क्रमलाई दिग्दर्शन गर्दै जसरी संसारभरिका मानिसलाई एउटै पुर्खाका सन्तान प्रमाणित गर्ने प्रयास गरेको छ त्यसले मानवमात्रमा सद्भाव वृद्धिको ढोका राम्रै खोल्ने प्रयास गरेको छ भन्नुपर्छ । त्यस्तै संसारभरिका धर्मसम्प्रदायलाई केलाउँदै सबैलाई उत्तिकै सम्मान गर्ने प्रयास भएकाले धार्मिक सहिष्णुताको क्षेत्रमा उपन्यास बेजोड नमुना बन्न पुगेको देखिन्छ । उपन्यासले हिन्दूदर्शनको ओमकार प्रणवलाई मन्त्र मात्र नभई यन्त्रकै रूपमा उभ्याउने प्रयास गरेको छ । हाल संसारमा विज्ञान र प्रविधिको क्षेत्रमा जे–जति विकास भएका छन् त्यसको् मूल आधार पनि यही प्रणव यन्त्र नै हो भन्ने उसको मान्यता छ । यसको अर्थ उसले हिन्दूदर्शनलाई मात्र सम्मान दिएको छ भन्ने होइन बौद्ध, इसाई र मुस्लिम धर्मदर्शन र उनीहरूको प्रवर्तकलाई पनि उत्तिकै सम्मान दिने प्रयास गरेको छ ।
विशेषगरी उपन्यासले अन्तरिक्ष युगमा त नयाँ अध्यायकै ढोका खोलिदिएको छ । हालसम्म वैज्ञानिकहरू अन्तरिक्षमा जीव भए–नभएको अनुमानसम्म लगाउन सकिरहेका छैनन् तर उपन्यासले त्यहाँ मानिसभन्दा पनि बढी चेतन प्राणी भएको ठहर गरिसकेको छ । उसले वृहस्पति ग्रहलाई विकासको यतिमाथि शिखरमा देखाएको छ कि पृथ्वीबासी त्यसको छेउछाउसम्म पनि पुग्न सकिरहेका छैनन् । उपन्यास भन्छ– वृहस्पति ग्रहमा यस्ता घरहरू पनि बनिसकेका छन् जुन आवश्यकताअनुसार उड्न र गुड्न पनि सक्छन् । त्यति मात्र होइन त्यहाँका प्राणीहरूसमेत उड्ने गर्छन् ।
यद्यपि एउटा औपन्यासिक कल्पनामा के–कति सत्यता हुन्छ यसै भन्न सकिन्न । तथापि यसले वैज्ञानिक खोजको नयाँ पाना खोलिदिएको तथ्यलाई भने स्वीकार्नैपर्छ । यसै पनि साहित्यकारको कल्पनामा पनि कुनै न कुनै सत्यता रहेकै हुन्छ । कहीँ पनि र कहिले पनि नभएको कुराको कल्पना पनि हुन सक्दैन । मानिसले चन्द्रलोक भेदन गरेको कथासमेत सयौँ वर्ष पहिले नै कुनै साहित्यकारको कथाको पानामा आइसकेको थियो । अहिले पनि कतिपय साहित्यकारले भन्दै आएका छन्– एउटै गल्तीले पनि पूरा लेखलाई गलत सावित गरिदिन्छ भने एउटै मात्र सच्चाइले पनि पूरा उपन्यासलाई सत्यसावित गरिदिन्छ । यदि उनीहरूका भनाइमा अलिकति मात्र सत्यता छ भने पनि उपन्यास पूर्णत: सच्चाइको धरातलमा उभिएकोमा कतै शङ्का छैन ।
विनिता पौडेल
कानुनका विद्यार्थीलाई अति उपयोगी पुस्तक
वाणिज्य कानुनसम्बन्धी अङ्गे्रजी भाषाको अत्यन्त उपयोगी पुस्तक बजारमा आएको छ । ख्यातिप्राप्त व्यक्ति नगेन्द्रराज घिमिरे, दुर्गा खड्का र हरिप्रसाद मैनालीको सहलेखनमा तयार भएको उक्त पुस्तकको सम्पादन कुन्दन शर्मा मिश्र र अधिवक्ता गणेशबहादुर खत्री (केसी)ले गर्नुभएको छ । एलएलएम, एलएलबी र बीबीएसका विद्यार्थी तथा वाणिज्य कानुनमा रुचि राख्नेहरूका लागि यो पुस्तक विशेष उपयोगी हुने देखिन्छ ।
कानुनका प्राकृतिक, ऐतिहासिक, विश्लेषणात्मक, समाजशास्त्रीय, सामाजिक र व्यावहारिक अवधारणाबारे पुस्तकमा रोचक एवम् तथ्यपरक विश्लेषण गरिएको छ । करार कानुनका विभिन्न पक्षहरूलाई विस्तृत रूपमा समेटेर व्याख्या र विश्लेषण गरिएको सो पुस्तकमा पाँच भाग र २५ विभिन्न विधागत विषय सामेल छन् । वर्षा लिगल सर्भिस एण्ड रिसर्च सेन्टरले प्रकाशित गरेको कुल चार सय ५८ पृष्ठको उक्त पुस्तकको मूल्य रु. ४ सय ९५ र संस्थागत रु. ६००।– मूल्य निर्धारण गरिएको छ ।
प्रतिक्रिया