दैलेख – मोतीराज बम

दैलेख – मोतीराज बम


indreniउधिनेर डेकेन्द्र थापाको कङ्काल
प्राण लिइसकेपछि
पश्चात्तापमा परेको लक्षिराम घर्ती
साँच्चै पट्टी बाँधेर आँखामा
मुक्ति प्रधानले प्रदान गरेको लेटर बम
बाबुराम हराम भएपछिको
हुकुमत आदेश
कालो शासनको अँध्यारो लप्काले
भुत्ते बनाएको सत्य सेवा सुरक्षणम्
निरीह जनताको छातीमा गोली ठोक्न नसक्ने
लाक्षी सीडीओ र डीएसपी
यस्तै, यस्तै
विचित्र चित्रको क्यानभासमा
द्वन्द्वको त्रासदी र
हिंसाको पुनरावृत्ति
बाँचिरहेछ दैलेख ।
मृत्यु पर्खिरहेको अखण्ड ज्वाला
पहिचान खोजिरहेको सावरको पाउपोस
मुर्चुङ्गा बजाउन छोडेको छामगाड
देउसी खेल्न छोडेको लोहोरे खोला
यस्तै, यस्तै
स्मृति र विस्मृतिको चौबाटोमा
दारुले दारुण बनाएको बटुवाझैं
जीवन गुजारिरहेछ दैलेख ।
नौमुलेको कारुणिक चीत्कार
अझै सेलाएको छैन
शाही कोर्राले कत्लेआम भएको
बिचरा दमाईं
अझै घर फर्किएको छैन
सन्काहा श्रीमान्को ज्यादतीमा परेर
आगो र मट्टीतेल ओढिरहेकी
बिचरी अबोध कमिनी
अझै तङ्ग्रिएकी छैन
यस्तै, यस्तै
पीडा र प्रताडनाको भुङ्ग्रोमा
न्याय जलाइरहेछ दैलेख ।
दैलेख बोलिरहेको छ
काठमाडौं कान थुनिरहेको छ
दैलेख लेखिरहेको छ
काठमाडौं कागज च्यातिरहेको छ
दैलेख, द्वन्द्वका घाउ मेटाउँदै
सुर्खेत झर्छ
काठमाडौं द्वन्द्वका खाटा उप्काउँदै
दैलेख, उक्लन्छ
यस्तै, यस्तै
चक्र र दुश्चक्रको मझेरीमा
झमेला झेलिरहेछ दैलेख ।

अनुरोध दानवहरूसँग – पुरुषोत्तम ढकाल
दुख्छ नि मन किन नदुख्नु ?
पोल्छ नि छाती किन नपोल्नु ?
जल्छु नि म किन नजल्नु ?
दानवहरूले चिथोर्दा ।
म पनि त मान्छे हुँ
कोट्याउँदा घाउ
सल्काउँदा राँको
पोल्दा शरीर
दुख्छु म, जल्छु र छटपटाउँछु म !!

हात माग्यो दानवले
हात थियो हातै दिएँ
साथ माग्यो दुष्टले
साथ पनि दिएँ
भोकै छु भन्यो
गाँस पनि दिएँ
रात थियो अँधेरी
बास पनि दिएँ
भन्यो मुटु देऊ, तर सकिनँ दिन मुटु
कल्पेर मुटु नहुँदाको जिन्दगी, रोएँ म, छटपटाएँ म !!

गुनासो छैन मेरो
मुटु खाने दानवहरूसँग
मिलेर मलाई डस्नेहरूसँग
तै पनि हे दानवहरू हो !
यति साह्रो नपार्नु
चोक–चोकमा नमार्नु
देवतुल्य यो सृष्टि
र मानवताको यो रूपलाई
हे दानवहरू हो !
नष्ट कहिल्यै नपार्नु
भष्म कहिल्यै नपार्नु
दानवता तिम्रो धर्म हो र पनि
निचोर्नु, चिथोर्नु र जिउँदै मार्नु
तिम्रा लागि साधारण हो र पनि
मेरो बिन्ती छ
हे दानव तिमीभित्र पनि माया र मन छ भने
माया र मनलाई कहिल्यै नमार्नु
जिन्दगी भन्नु प्रेम हो
देव भन्नु प्रेमसागर
प्रेम र प्रेमसागरलाई जल र जालभित्र नपार्नु !
छल र छालभित्र नपार्नु !!
दुख्छ नि मन किन नदुख्नु…?
– लवलेटार (नुवाकोट) नेपाल
हाल : भर्जिनिया, अमेरिका