कल्पित सुख हो पीडा बाँच्नु भ्रममा पाप हो
न झुक्छ न झुकाउँछ नेपाली अमर यो छाप हो
आयातीत प्यालाले नशा लागेपछि धेरै यहाँ
ठान्दछन् ठूलाठालुहरू को बोल्दछ, कसरी कहाँ
भष्म हुन पुतलीहरू आगोमा रमाई नाच्दछन्
जानीजानी कुलङ्गारहरू स्वचालित कुर्सी भाँच्दछन्
सीमा हुन्छ धोकाको पनि हाकाहाकी दिनदिन किन
त्रास छ प्राण जाला कि नबोले झुट एकैछिन्
आगो भुसको भित्रभित्र सल्केर हुन्छ खरानी जब
होस खुल्नेछ षड्यन्त्रको लाग्दैन काम कोही तब
कस्ता रीति, कस्ता नीति, देखेर जन वाक्क छन्
आफू, आफू सबै आफू दुर्गन्धमा स्वार्थ पौडन्छन्
थाकेनन् अझै बौलाहाहरू चिच्चाई पाखण्ड कराउँछन्
छैन उपाय अरू भनी हरदम अहङ्कार बर्बराउँछन्
टुम्पोमा पुगे फेद, फेदमा पुगे टुप्पो चिलाउँछ,
कुर्लन्छन् मूल नायक नै तलमाथि देश बिलाउँछ
नयाँ नौलो आएन केही भएको पनि सब ध्वस्त भो
पिएर रक्सी सिद्धान्तको भुट्न दिमाग त्यो मस्त भो
पगरी गुथी नेतृत्वको जनविश्वास भयो महाभूल
करायौँ खुब पायौं भनी लाग्यो हात कागजको फूल
भरौँ रित्ता भकारी आफैँ दिँदैनन् यिनले केही पनि
यथार्थको दु:ख नै सही बढौँ अगाडि मातृभूमि भनी
हराउँदै छ सपना सबै फर्कन बाध्य हुँदै गयो
युगौँयुगको रगत–पसिना मरुभूमिमा व्यर्थ पानी भयो
भएनन् कोही कतै भन्ने गर्दछु परे ज्यान जाला
वारिपारि व्यस्त सबै बनाउन देश प्रयोगशाला
पुग्यो, सकियो अति भयो नसहु जन अब गोबर
ब्युँझ, जाग, उठ, मुठ्ठी कस बनाउन देश दोब्बर
बालकुमारी–९, ललितपुर
म गरिबको मानिस – राजेन्द्र थापा
म गरिबको मानिस हुँ
मैले ठूलो मानिस चिनेको छैन
आजसम्म मलाई सहयोग गर्नेहरू
गरिब नै छन्
ठूलो मानिसले मलाई
सहयोग गरेको छैन ।
यदाकदा ठूलो मान्छे चिन्न खोज्दा
तिनीहरूले उल्टै मसँग सहयोग खोजे
जब कि उनीहरूसँग मैले
सहयोग खोजेकै छैन
कसैले मलाई सोध्यो
तिम्रा ठूला मान्छे छैनन्
अर्थात् तिमीले ठूला
मान्छे चिनेका छैनौ
मैले भने
अमरसिंह र भक्ति थापालाई
वीरतामा चिनेको छु ।
भानुभक्त र लक्ष्मीप्रसादलाई
साहित्यमा चिनेको छु
तेन्जिङ र पासाङ ल्हामुलाई
साहसमा चिनेको छु
माया गर्नेहरूमा
जन्मदिने आमालाई चिनेको छु
तर थाहा छैन तिनीहरू
ठूला मानिस हुन् कि होइनन्
तपाईं नै भन्नुस्
मात्र मलाई थाहा छ
दरबारमार्गमा माग्ने केटाले मलाई चिन्छ,
आधा रातमा भेट्दा भन्छ
अङ्कल ओजभोलि आउनुभएन कता हुनुहुन्छ ?
कामको खोजी गर्दै आउने असहायहरूले मलाई चिन्छन्
तल्लो तहमा काम गर्ने कार्यालय सहयोगीहरूले चिन्छन् ।
अनेक आशा र भरोसा बोकेर मकहाँ आउँछन्
त्यसै त म भन्छु म गरिबहरूकै मानिस हुँ
हुनसक्छ– मैले सबैलाई सहयोग गर्न सकिनँ होला
तथापि ती गरिब असहायहरू मकहाँ आउँछन्
तिनले मलाई चिन्छन् म तिनीहरूलाई चिन्छु
त्यसैले म भन्छु–
म गरिबहरूको मानिस हुँ, म गरिबहरूको मानिस हुँ ।
प्रतिक्रिया