कम्युनिष्टले फुट्न र जुट्न दुबै जानेका छन्- अध्यक्ष ओली

कम्युनिष्टले फुट्न र जुट्न दुबै जानेका छन्- अध्यक्ष ओली


प्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरुले फुट्न र जुट्न दुबै जानेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको घोषणा समारोहलाई बिहीबार साँझ सम्बोधन गर्दै उनले नेपाली जनताको भावना र चाहनाअनुसार एकता प्रक्रियालाई अन्तिम रुप दिइएको बताए ।

अध्यक्ष ओलीले (एमाले) र (माओवादी केन्द्र)बीचको एकता सामान्य प्रक्रिया नभई एकआपसमा अन्तरघुलित भएको भन्दै एकता ऐतिहासिक र महत्वपूर्ण रहेको बताए ।

एकता प्रक्रियाको महत्व र आवश्यकतालाई जोड दिँदै उनले भने, ‘नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ बाँचिरहनुभएको भए आज खुशीले नाच्नुहुन्थ्यो ।’

‘बहुमतसहितको सरकार, प्रदेश र स्थानीय तहमासमेत हाम्रै बहुमत छ, नेपालको कम्युनिष्ट आन्दोलन यो रुपमा आइपुग्दा संस्थापक महासचिव कति खुशी हुनुहुन्थ्यो होला ?’ अध्यक्ष ओलीले भने ।

उनले नेपालको कम्युनिष्ट आन्दोलनमा अब शरदऋतु नभएको र सधैँ हराभरा हुने दिन शुरु भएको उल्लेख गर्दै ‘आजसम्म पनि एउटै कम्युनिष्ट पार्टीसँग बहुमत थिएन, अब एउटै पार्टीको सरकार छ, एउटैको बहुमत छ, छ वटै प्रदेशमा सरकार छ, पपुलर भोटको बहुमत छ, स्थानीय तहमा एक्लैको बहुमत पुग्छ, त्यसकारण हाम्रा अगाडि सुन्दर सपना छन्, ती सपना पूरा गर्नुपर्दछ,’ भने ।

अध्यक्ष ओलीले सबै तहका सरकार सही र प्रभावकारी नीति बनाएर अगाडि बढ्ने दृढता व्यक्त गर्दै ‘अब कोही कसैलाई पनि दोष दिएर उम्कने ठाउँ छैन, सही नीति तय गरेर देश निर्माण गर्ने अठोट गरेका छाँै,’ भने ।

आगामी चुनावमा कम्तीमा तीन चौथाइ प्राप्त हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले नयाँ पार्टीमा दुई वटा अध्यक्ष किन रहेको भन्ने सन्दर्भमा सुशासन र समृद्धिको यात्रा ट्याम्पु चलाए जस्तो होइन, जेट इञ्जिनमा दुई वटा इञ्जिन हुन्छन् र पाइलट पनि दुई वटा नै हुन्छन् बताए ।

अध्यक्ष ओलीले समृद्धि, सुशासनको महाअभियान अगाडि बढाउन दुई अध्यक्षले मिलेर काम गर्ने, विचार विमर्श गरी अगाडि बढ्ने संकल्प गरेको उल्लेख गर्दै जिन्दगीका खुशीका दिनमध्ये आजको दिन आफूलाई असाध्यै खुशी लागेको दिन रहेको धारणा व्यक्त गरे ।

लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनलाई वर्तमान अनुकूल परिस्थितिलाई सदुपयोग गरी नेपाललाई नयाँ युगमा लैजाने विश्वास व्यक्त गर्दै उनले सानातिना कम्युनिष्ट पार्टीका नाममा पसल खोलेर बस्ने जमाना सकिएको हुँदा बृहत् एकता प्रक्रियामा सहभागी हुन सबैलाई आग्रह गरे ।

अध्यक्ष ओलीले अहंकारबाट मुक्त भएर देश निर्माणको महाअभियानमा एकजुट भएर अगाडि बढ्न आग्रह गर्दै छरिएका रहेका सबै कम्युनिष्ट महाअभियानमा सहभागी भएर योगदान पु¥याउनुपर्नेमा जोड दिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसप्रति लक्षित गर्दै उनले अनावश्यक दम्भ नगर्न आग्रह गरे । राससका अनुसार अध्यक्ष ओलीले अनावश्यक तर्क गरेर आफ्नै प्रतिष्ठा नघटाउन र जनताको माग एंव चाहनालाई सम्बोधन गर्नसमेत अनुरोध गरे ।

आफूहरुलाई अहंकार देखाउन, दमन गर्न बहुमत चाहिएको नभई देश बनाउने जिम्मेवारी सालिनतापूर्वक निभाउन, भ्रष्टाचार रोक्न एकता र बहुमत चाहिएको स्पष्ट पार्दै उनले भने, ‘म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न दिन्न, कानूनी राज, सुशासन लोकतान्त्रिक मूल्यमान्यता, आवधिक निर्वाचन, स्वतन्त्र न्यायालय कानूनको राज चलाउने हाम्रो प्रतिबद्धता छ, यसबाट कोही आत्तिनु पर्दैन ।’

कसैलाई भेदभाव गरिँदैन

अध्यक्ष ओलीले पार्टी एकता प्रक्रियामा सहभागी भएका सबै नेता तथा कार्यकर्तालाई क्षमता, योग्यता र सक्रियताका आधारमा जिम्मेवारी दिइने स्पष्ट पारे ।

उनले भने, ‘कुनै पनि नेता तथा कार्यकर्तालाई भेदभाव गरिँदैन, योग्यता, क्षमता, सक्रियता हेरेर, आजको सक्रियता र भोलिकोसमेत अवस्था हेरेर जिम्मेवारी दिन्छौँ ।’

अध्यक्ष ओलीले नयाँ इतिहास रचना भएको देश नयाँ युगमा प्रवेश गरेको बताउँदै आगामी तीन महिनाभित्रै सबै जनवर्गीय संगठनको एकता र समायोजन प्रक्रिया सम्पन्न गरिने जानकारी दिए ।

हेर्नुहोस् एकताको संयुक्त घोषणा जस्ताको तस्तै–

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) एकीकरणको संयुक्त घोषणा

१) २००६ सालमा स्थापना भएदेखि यता सात दशकसम्म वैचारिक–राजनीतिक सङ्घर्षका अनेकौँ आरोह–अवरोहका अनुभव संगाल्दै नेपाली जनता तथा पार्टी सदस्यहरूको भावना एवम् आकाङ्क्षाअनुरूप आवश्यक छलफल र बहसपश्चात् आज हामीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई विधिवत् एकीकरण गरी नेपाल कम्युनिस्ट पार्टीको पुनर्गठन गरेका छौँ । यस अवसरमा हामी नेपालको वामपन्थी लोकतान्त्रिक आन्दोलनमा जीवन उत्र्सग गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ र अग्रजहरूप्रति उच्च सम्मान प्रकट गर्दछौँ । यो सुखद ऐतिहासिक क्षणमा आइपुग्न सर्वप्रथम २०७४ साल असोज १७ गते ६–बुँदे सहमति गर्दै नेपालको संविधानअन्तर्गत पहिलोपटक हुने प्रतिनिधिसभा र प्रदेश सभाका निर्वाचनमा साझा घोषणपत्र र उम्मेदवारहरूका साथ हामी अघि बढेका थियौँ । सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, एकता, स्वाभिमान, समृद्धि, राजनीतिक स्थायित्व, दिगो शान्ति र सुशासनका साथै समाजवादउन्मुख सामाजिक–आर्थिक रूपान्तरणबाट समृद्ध नेपाल निर्माण गर्ने उद्घोषसहित हामीले गरेका निर्णयहरू जनता तथा पार्टी कार्यकर्ताबाट निर्वाचनमा अनुमोदित भएका छन् । नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमा पहिलोपटक हामीले सङ्घीय संसद्मा दुईतिहाइ बहुमतको निकट रहँदै सरकार गठन गर्नुका साथै सात प्रदेशहरूमध्ये ६ प्रदेशमा स्पष्ट बहुमतको सरकार गठन गर्ने अत्यन्त महत्वपूर्ण सफलता हासिल भएका छन् । निर्वाचनको मोर्चामा दृढताका साथ अग्रसर हुन दुई पार्टीको तर्फबाट जारी विशेष निर्देशनलाई पार्टीपङ्क्तिको दृढ अनुशरणको प्रतिफल यी उपलब्धि प्राप्त भएका छन् । यो अभूतपूर्व उपलब्धिलाई समृद्ध र सुसंस्कृत नेपाल निर्माण गरेर हामीले दिगो र युगीन महत्वको बनाउनेछौँ ।

२) पार्टी एकीकरणको गहनतम कार्यलाई अघि बढाउन यसबीचमा बनेका विभिन्न कार्यदल र दुवै पार्टीका नेताहरू सम्मिलित आठसदस्यीय पार्टी एकता संयोजन समितिले साझा घोषणा, सरकारका सुशासन र विकासका प्राथमिकतासम्बन्धी प्रतिवेदन, राजनीतिक प्रतिवेदन र अन्तरिम विधान तयार गर्ने जिम्मेवारी पूरा गरेका छन् । दुवै पार्टीको शीर्ष नेतृत्वले सक्रियता र दृढताका साथ पार्टी एकीकरणका जटिल पक्षहरूलाई समेत सहज तुल्याउँदै आजको अवस्थासम्म आइपुग्न नेतृत्व प्रदान ग¥यो । यसरी सहमतिका साथ एकताका सैद्धान्तिक, कार्यक्रमिक, नीतिगत र सङ्गठनात्मक आधार तयार गर्दै आजै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र¬) को विधिवत् एकीकरण भई निर्वाचन आयोगमा एकताबद्ध नेपाल कम्युनिस्ट पार्टी दर्ता गरेका छौँ । युगीन महत्वको यस घोषणाले राजनीतिक स्थायित्व, दिगो शान्ति र समृद्धि कायम गर्ने लामो समयदेखिको राष्ट्रको आवश्यकता र जनताको चाहना पूरा भएको छ ।

३) पार्टी एकीकरणको कार्य अगाडि बढाइरहँदा हामीले यसअघि जारी सहमतिपत्र, एकताका आधारहरू तथा राजनीतिक प्रतिवेदनमा सैद्धान्तिक, वैचारिक र राजनीतिक धारणा एवम् मान्यता स्पष्ट गरिसकेका छौँ । नेकपा (एमाले)ले अवलम्बन गरिआएको जनताको बहुदलीय जनवाद र नेकपा (माओवादी केन्द्र)ले अवलम्बन गरिआएको एक्काइसौँ शताब्दीमा जनवादसम्बन्धी सैद्धान्तिक एवम् राजनीतिक मान्यतालाई परिवर्तित नयाँ सन्दर्भमा विकसित र परिमार्जन गरी समाजवादउन्मुख जनताको जनवादका रूपमा अगाडि बढाइनेछ । यिनै वैचारिक मान्यताअनुरूप प्राप्त उपलब्धिको रक्षा र विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गरी सामाजिक–आर्थिक रूपान्तरणमार्फत नेपालको संविधानमा उल्लेखित समाजवादउन्मुख व्यवस्थाको प्राप्तिको दिशामा हामी अग्रसर रहनेछौँ । साथै नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्दादेखिको समाजवाद स्थापनाको महान् लक्ष्य पूरा गर्ने दिशामा अघि बढ्न हामीहरू दृढ रूपले प्रतिबद्ध रहनेछाँै ।

उपर्युक्त वैचारिक र सैद्धान्तिक मान्यताको आलोकमा नेपाल कम्युनिस्ट पार्टी शान्तिपूर्ण प्रतिस्पर्धामार्फत श्रेष्ठता हासिल गर्ने, संविधानको सर्वोच्चता, विधिको शासन, स्वतन्त्र न्यायपालिका, मानवधिकार एवम् मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलतायुक्त खुला समाज, बहुदलीय प्रतिस्पर्धायुक्त आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिहरूद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्थालगायत आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्य–मान्यतामा प्रतिबद्ध छ । त्यस्तै, संयुक्त राष्ट्रसङ्घको बडापत्र, पञ्चशीलका सिद्धान्त र असंलग्नताका मान्यतामा आधारित स्वतन्त्र परराष्ट्रनीति तथा राष्ट्रिय हितको संरक्षण र संवद्र्धनमा पार्टी कटिबद्ध छ । यो पार्टी पारस्परिक समानाता, सम्मान र हितको आधारमा अन्तर्राष्ट्रिय समुदाय तथा छिमेकीलगायत विश्वका सबै देशहरूसँग सुमधुर सम्बन्ध कायम गर्ने मान्यतामा अटल छ ।

४) हाम्रो मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हुनेछ । जनवादी केन्द्रीयताको सङ्गठनात्मक सिद्धान्तका र सामूहिक नेतृत्व एवम् व्यक्तिगत उत्तरदायित्वको आधारमा पार्टीको निर्माण र सञ्चालन हुनेछ । यो पार्टी जनआधारित कार्यकर्ता पार्टी हुनेछ । यस पार्टीमा आन्तरिक लोकतन्त्र र अनुशासनको सन्तुलन रहनेछ । अन्तरिम विधानमा व्यवस्थित सङ्गठनात्मक प्रणालीको अनुशरण गर्दै हामी एकता महाधिवेशन सम्पन्न गर्नेछौँ । पार्टी कमिटी र सबै जनसङ्गठनहरू सोहीअनुरूप परिचालित र क्रियाशील हुनेछन् । यो पार्टी सबै प्रकारका प्रतिक्रियावाद, अवसरवाद र सङ्कीर्णताका विरुद्ध तथा सामाजिक सद्भाव एवम् राष्ट्रिय एकताको पक्षमा रहेको छ । राजनीतिक स्थायित्व, दिगो शान्ति, सुशासन र समृद्धिको मार्गमा अग्रसर रहँदै राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता र देशभक्तिमा आधारित उन्नत सभ्यतायुक्त समृद्ध समाज निर्माण गर्ने हाम्रो उद्देश्य रहेको छ । उपलब्ध साधन र स्रोतहरूको अधिकतम उपयोग, राष्ट्रिय पुँजीको निर्माण र परिचालन तथा ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य हासिल गर्न दुई पार्टीको एकीकरणबाट बलियो आधार सिर्जना हुनेछ । यसअनुरूप सरकारको प्रभावकारी सञ्चालन गरिनेछ । यही लक्ष्य, उद्देश्य र मान्यताअनुरूप पार्टीपङ्क्ति एकताबद्ध, सङ्गठित र परिचालित हुनेछ ।

५) हाम्रा दुई पार्टीको यो एकीकरणबाट विभाजन र मतभेदको अवस्था झेल्दै आएको नेपाली कम्युनिस्ट आन्दोलन मूलतः एकताबद्ध भएको छ । नेपाल र नेपाली जनताको सर्वाेपरि हितमा केन्द्रित यो एकीकरणको मर्मअनुरूप आवश्यक छलफल एवम् बहसको प्रक्रियामा संलग्न हुँदै देशका अन्य कम्युनिस्ट तथा श्रमिक पार्टी वा समूहरूलाई पनि एकताको यस महान् प्रक्रियामा सामेल हुन हार्दिक आह्वान गर्दछौँ ।

६) हाम्रो कष्टसाध्य प्रयत्नबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भई तीनै तहका निर्वाचन गरी देशले आर्थिक क्रान्ति र समृद्धिको चरणमा प्रवेश गरेको समयमा हाम्रो एकीकरणले राष्ट्रिय एकता, स्वाधीनता, स्वाभिमान र समृद्धि चाहने सबैमा खुसी र उत्साहको लहर सिर्जना गर्नेमा हामी विश्वस्त छौँ । राष्ट्रिय हित र समाजवाद निर्माणमा दीर्घकालीन महत्व राख्ने यस एकीकरणलाई पार्टी कमिटी र जनसङ्गठन तथा पार्टी समर्थक सम्पूर्ण पङ्क्तिमा कुशलताका साथ आत्मसात् र रूपान्तरण गर्न एकताबद्ध भई सक्रिय रहन हामी सबै पार्टीसदस्य र शुभेच्छुकहरूमा हार्दिक आह्वान गर्दछौँ । हाम्रो एकीकरणका लागि विभिन्न किसिमले योगदान पुऱ्याउनुहुने सबै नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ । पार्टी एकीकरणको निर्णय र मर्मअनुरूप आगामी दिनहरूमा अझ सशक्त पार्टी निर्माण र यसको विकासमा योगदान पुऱ्याउन सम्बद्ध सबैमा हार्दिक आह्वान गर्दछौँ ।

के.पी. शर्मा ओली पुष्प कमल दाहाल ‘प्रचण्ड’

अध्यक्ष, केन्द्रीय कमिटी अध्यक्ष, केन्द्रीय समिति

नेपाल कम्युनिस्ट पार्टी नेपाल कम्युनिस्ट पार्टी

मिति : २०७५/२/३/५