डेढसयले सगरमाथामा पाइला टेके

डेढसयले सगरमाथामा पाइला टेके


सगरमाथा आरोहणको बिहीबार पाँचौ दिन १८ आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा गएका दुई समूहका १८ जानाले शिखरमा पाइला टेक्न सफल भएको सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

आरोहण गर्नेमा आठ नेपाली र आठ विदेशी रहेको उनले बताए । बिहीबारसम्मको तथ्याङ्कअनुसार यस वर्ष १५९ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् ।

सबैभन्दा बढी बुधबार एकैदिन ९४ जना आरोहीले सगरमाथाको सफल आरोहण गरेको सम्पर्क अधिकृत श्रेष्ठको भनाई छ ।

यस वर्षको वसन्त ऋतुमा १५ जना नेपाली महिलासहित ३४६ जनाले सगरमाथा आरोहणका अनुमति लिएका छन् ।

दोर्जीबाट १५ औं पटक शिखरमा

दोर्जी ग्याल्जेन शेर्पाले १५ औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । राससका अनुसार बिहीबार बिहान ७ः३० बजे शेर्पाले सगरमाथाको सफल आरोहण गरेको सगरमाथा आधार शिविरबाट एचजी एभरेष्ट एक्सपिडिसन कम्पनीका मेनेजर भीम विश्वकर्माले जानकारी दिए ।