अफ्रिकाका शहरमा फेरि इबोलाको प्रकोप

अफ्रिकाका शहरमा फेरि इबोलाको प्रकोप


अफ्रिकी मुलुक कङ्गोमा देखिएको इबोला प्रकोप अन्य शहरमा देखिएको छ । यो रोगको एक नयाँ बिरामी १२ लाख जनसङ्ख्या भएको म्बन्डाका सहरमा देखिएको विदेशी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्राणघातक इबोला भाइरसको एक बिरामी उत्तर–पश्चिम शहर म्बन्डाकामा विहिबार पहिचान गरिएको छ । इबोलाको प्रकोप पहिलोपटक भेटिएको ग्रामीण क्षेत्रभन्दा १५० किमी टाढा रहेको म्बन्डाका शहरमा यसको बिरामी भेटिएको कङ्गोका स्वास्थ्यमन्त्री ओली इलुङ्गाले पुष्टि गरेका छन् ।

पहिले इबोला प्रकोप कङ्गोको केन्द्रमा रहेको ग्रामीण क्षेत्र इकोको इम्पेनगेमा मात्र सिीमित रहेको मानिएको थियो । तर, आफूहरू इबोला प्रकोपको नयाँ चरणमा आइपुगेका र यसले सहरी स्वास्थ क्षेत्र लगायत तीन स्वास्थ्य क्षेत्रलाई प्रभाव पारिसकेको मन्त्री इलुङ्गाले जारी गरेको बक्तव्यमा भनिएको छ ।

विश्व स्वास्थ संगठनले हालैको हप्तामा कङ्गोमा भएको २३ मृत्यु इबोला भाइरसको कारणले भएको अनुमान गरेको छ । इबोला संक्रमणको हालसम्म कुनै प्रमाणित उपचार भेटिएको छैन । आगामी दिन या हप्ताहरूमा हामीले यो रोगका बिरामीको सख्या बढ्ने अनुमान गरेका छौँ भन्दै उनले रोगविरुद्ध हस्तक्षेपकारी पहलकदमी बढाइएको बताए । फिल्डमा रहेका चिकित्सक समूहलाई बढी सहयोग र सामर्थ्य चाहिएको कङ्गोको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता जेसिका इलुङ्गाले भनिन् ।