विश्वको चर्चित आतङ्कवादी सङ्गठन आईएसआईएसले फिफा विश्वकप फुटबलका दौरान आतङ्कवादी हमला गर्ने धम्की दिएको छ । आईएसआईएसले हालै विश्वका चर्चित खेलाडीहरूको पोष्टर सार्वजनिक गर्दै विश्वकपमा आतङ्कवादी हमला हुन सक्ने सङ्केत दिएको छ । फिफा विश्वकपको आगामी संस्करण आउँदो जुनमा रुसमा आयोजना हुँदै छ ।
विश्वकपको आयोजना हुन एक महिना मात्र बाँकी रहेको अवस्थामा आईएसआईएस आतङ्कवादी हमला गर्ने धम्की दिएपछि विश्वकपको आयोजनामा अझ चुनौती थपिएको छ । विश्वकपको आयोजक रुसले जस्तोसुकै आतङ्कवादी हमलालाई विफल पार्ने बताएको छ । त्यसका लागि रुसले विशेष तयारी गरेको पनि जनाएको छ ।
आईएसआईएसले जारी गरेको पहिलो पोष्टरमा दुईजना नकावधारी आतङ्कवादी फुटबल मैदानमा प्रवेशगरी विश्वचर्चित फुटबल खेलाडीद्वय अर्जेन्टिनाका लियोनल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको टाउको काट्न लागेको देखाइएको छ । साथै उक्त पोष्टरको क्याप्सनमा ‘पूरा फुटबल मैदान तिमीहरूको रगतले रङ्गिनेछ’ भनेर राखिएको छ ।

त्यस्तै, आईएसआईएसले जारी गरेको दोस्रो पोष्टरमा आतङ्कवादी हातमा ह्यान्ड ग्रेनेड लिएर फुटबल रंगशालमा उभिएको देखाएको छ । साथै उक्त पोष्टरको क्याप्सनमा ‘फिफा वल्र्डकप रसिया २०१८, जित हाम्रो हुनेछ’ भनेर लेखिएको छ । स्मरण रहोस्, यो सबै पोष्टर आईएसआईएसले सन्देशमा निगरानी गर्ने संस्था सिक्सगिलले जारी गरेको हो ।
आर्ईएसआईएसले यसभन्दा पहिले पनि पोष्टर जारी गर्दै सन् २०१८ जुनमा रसियामा आयोजना हुने विश्वकप प्रतियोगितामा आतङ्कवादी हमला गर्ने धम्की दिएको थियो । सन् २०१७ मा आईएसआईएसले पहिलोपटक खेलाडीको पोष्टर सार्वजनिक गर्दै आगामी विश्वकपमा आतङ्कवादी हमला गर्ने चेतावनी दिएको थियो । आईएसआईएसले सार्वजनिक गरेको उक्त पोष्टरमा अर्जेन्टिनी चर्चित खेलाडी लियोनल मेसी रगतको आँसु निकाल्दै जेलभित्र रोइरहेको देखाएको थियो । जेलभित्र रगतको आँसु निकाल्दै रोइरहेको पोस्टर जारी गरेपछि फुटबलमा सन्त्रास फैलिएको थियो ।
सन् २०१७ मा मेसीको पोस्टर जारी गरेको एक साता बित्न नपाउँदै आईएसआईएसले अर्को त्यस्तै सनसनीपूर्ण पोष्टर सार्वजनिक गरेको थियो । जुन पोष्टरमा बार्सिलोनाका सुपरस्टार मेसी र नेमारलाई एक साथ देखाइएको थियो । जुन पोष्टर यति भयावह थियो कि उक्त त्यसमा मेसीको टाउको काटेर शरीरबाट अलग गरिएको छ भने नेमार घुँडाले टेकेर रोइरहेका छन् । साथै उक्त पोष्टरमा एक आतङ्कवादी चक्कु हातमा लिएर नेमारको गर्धनमा हात राखेको देखाइएको छ ।

पोष्टर/पिक्चरहरु : गुगल
प्रतिक्रिया