पुम्सेमा नेपालको मिश्रित प्रदर्शन

पुम्सेमा नेपालको मिश्रित प्रदर्शन


दोस्रो काठमाडौं अन्तर्राष्ट्रिय ग्यरोगी र पुम्से तेक्वान्दो च्याम्पियनसिपको दोस्रो दिन पुम्सेका खेल सम्पन्न हुँदा नेपालले मिश्रित नतिजा निकालेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार भएको पुम्सेको अन्तिम दिनको खेलमा पुम्सेको सिंगल्समा कोरिया तथा टिम र पेयरमा नेपाल च्याम्पियन भएको छ । टिम पुम्सेमा नेपालको स्युचाटार डोजाङले ३ स्वर्ण, र ३ कांस्य, नेपालकै जेसिस स्कुलले १ स्वर्ण र १ रजत तथा सीतापाइला डोजाङले १ स्वर्ण र २ कांस्य पदक जित्दै क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । टिम पुम्सेका पुरुषतर्पm स्युचाटारका राम गोले, लक्ष्मण गोले र अस्मिन राउतको टिम तथा महिलामा अस्ट्रेलियाका होली स्वाइन, सार्भिका रायना र कातिन्का पेनकेथ सम्मिलित टिम उत्कृष्ट भए ।

सिंगल्स पुम्सेमा भने कोरियाले ३ स्वर्ण र १ कांस्यसहित पहिलो, दोस्रो भएको मलेसियाले ३ स्वर्ण र नेपालको जेसिस स्कुलले १ स्वर्ण, १ रजत र १ कांस्यसहित तेस्रो भए । सिंगल्सको पुरुषतर्पm मलेसियाका अगस्टिन रुडी र महिलामा कोरियाकी जस्मिन बोसुक होङ उत्कृष्ट खेलाडी चयन भए । पेयर पुम्सेमा नेपालको स्युचाटार डोजाङले १ स्वर्ण र १ कांस्य, भारतले १ स्वर्ण र १ कांस्य तथा नेपालकै कोटेश्वर डोजाङले १ स्वर्णसहित क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरे । पेयरमा भारतका दोवासिस दास र विजिता गोस्वामीको जोडी उत्कृष्ट घोषितको प्रतियोगिता संयोजक बद्रीप्रसाद घिमिरेले जानकारी दिए ।

शनिबार नै भएको फाइटतर्पm जुनियर ५१ केजीमुनि नेपालका विकास श्रेष्ठले स्वर्ण, मुकेश लुइँटेलले रजत, नेपालकै सोहिब अख्तर र दीपेश खत्रीले कांस्य, ४८ केजीमुनि नेपालका प्रज्ज्वल तामाङले स्वर्ण, भारतका चन्दनले रजत, नेपालका साधु प्रजा र अरुण तामाङले कांस्य पदक जित्न सफल भए । क्याडेटतर्फ महिलामा २५ केजीमुनि नेपालकी पुष्पा वादीले स्वर्ण, करुणा ढुंगानाले रजत, परिसा कुँवर र योजिना सुइथानीले कांस्य तथा २३ केजीमुनि अस्टे«लियाकी सार्भिका रायानाले स्वर्ण, नेपालकी मेलिना पगामीले रजत, भारतकी तनुस्का सिंह र नेपालकी कृष्णा थापाले कांस्य पदक जितिन् ।

च्याम्पियनसिपमा आयोजक नेपालसहित भारत, बंगलादेश, भुटान, पाकिस्तान, दक्षिण कोरिया, मलेसिया, इन्डोनेसिया, मकाउ, चीन, अस्ट्रेलिया, सिंगापुर र अफगानिस्तान गरी कुल १३ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । जसअन्तर्गत महिलामा २ सय ५० र पुरुष ३ सय ८३ (सिनियर, जुनियर र क्याडेट) गरी ग्यरोगीतर्फ ४६ तौल समूहमा प्रतिस्पर्धा भइरहेको छ । पुम्सेतर्फ (एकल पुम्से, पेयर र टिम पुम्से) गरी कुल ३८ इभेन्ट शनिबार सकिएको छ । आइतबार अन्तिम दिन फाइटमा मात्र खेल हुनेछ ।