घन्टाघर टिम च्याम्पियन

घन्टाघर टिम च्याम्पियन


घन्टाघर डोजो चौथो मेम्बर सेक्रेटरी कप आमन्त्रण अन्तर्राष्ट्रिय कराते तथा किकबक्सिङ प्रतियोगितामा शुक्रबार टिम च्याम्पियन बनेको छ । घन्टाघरले ६ स्वर्ण, ५ रजत र ३ कांस्य जित्यो ।

नेपाल सितोरियो कराते डो सङ्घ, शाखा डोजो ठमेलको आयोजनामा भएको प्रतियोगितामा पनौती डोजोले ३ स्वर्ण, २ रजत र ३ कांस्य हात पाऱ्यो । भारतले २ स्वर्ण, २ रजत र ९ कांस्य प्राप्त गऱ्यो ।

प्रतियोगिताको कुमुतेतर्फ पुरुषमा भक्तपुरका सुन्दर तामाङ तथा महिलामा आयोजककी कृति गौतम उत्कृष्ट खेलाडी चुनिए । किकबक्सिङको पुरुषमा एसएसकेका प्रकाश विष्ट तथा महिलामा भारतकी श्रुति कन्गुडे उत्कृष्ट खेलाडी घोषित भए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा एसियाली खेलकुदअन्तर्गत कराते छनोटका रेफ्री संयोजक राजेन्द्र कपालीलाई सम्मान गरिएको थियो ।