अन्तर्राष्ट्रिय ग्यरोगमा नेपाल च्याम्पियन

अन्तर्राष्ट्रिय ग्यरोगमा नेपाल च्याम्पियन


दोस्रो काठमाडौं अन्तर्राष्ट्रिय ग्यरोगी र पुम्से तेक्वान्दो च्याम्पियनसिपको ग्यरोगी विधामा नेपाल च्याम्पियन भएको छ । सिनियर, जुनियर र क्याडेट गरी तीन विधामै नेपाल च्याम्पियन बनेको हो ।

अन्तिम दिनको खेलमा सिनियरतर्फ नेपाली राष्ट्रिय टिम ‘बी’ सम्मिलित टोली ८ स्वर्ण र १ कांस्य पदक जित्दै नेपाललाई च्याम्पियन बनाउन सफल भएको थियो । नेपाल आर्मी (उपत्यका डिभिजन)३ स्वर्ण, ७ रजत र २ कांस्य पदक जित्दा दोस्रो र बंगलादेशले १ स्वर्ण, १ रजत र ३ कांस्य पदक जित्दै तेस्रो भएको थियो । सिनियरतर्फ राष्ट्रिय टिम ‘बी’का रेजिना कार्की र विक्रान्त डङ्गोल बेस्ट प्लेयर घोषित भए ।

राष्ट्रिय टिमका लागि महिलातर्फ ४९ केजीमा रेजिना कार्की, ४६ केजीमा काजल श्रेष्ठ, ५३ केजीमुनि सन्ध्या सिंह, ७३ केजीमुनि अप्सरा कार्की र ७३ केजीमाथि सुमित्रा केसी र पुरुषमा ६८ केजीमुनि निश्चल श्रेष्ठले स्वर्ण जितेका थिए ।

नेपाल तेक्वान्दो सङ्घको तत्वावधान एवम् युनाइटेड तेक्वान्दो डोजाङको आयोजनामा भएको च्याम्पियनसिपमा क्याडेटतर्फ नेपालकै युनाइटेड तेक्वान्दो डोजाङले २ स्वर्ण र ४ रजत जित्दै पहिलो भयो । दोस्रो भएको भारतले २ स्वर्ण, १ रजत र ३ कांस्य जित्यो भने अस्ट्रेलिया २ स्वर्ण र २ कांस्य पदकसहित तेस्रो भयो ।

क्याडेटततर्फ पुरुषमा भारतका लभनेस र महिलामा अस्ट्रेलियाकी कातिन्का पेनकेथ उत्कृष्ट खेलाडी घोषित भए । च्याम्पियनसिपमा जुनियरतर्फ नेपाल नै हाबी हुँदा चुनदेवी डोजाङ ३ स्वर्णसहित पहिलो र २ स्वर्ण र १ कांस्य पदक जितेको कोटेश्वर डोजाङ दोस्रो भयो ।

त्यस्तै तेस्रो स्थानमा सीमित भएको आयोजक युनाइटेड डोजाङ १ स्वर्ण र ४ रजत पदक जित्न सफल भयो । जुनियरतर्फ पुरुषमा युनाइटेडका पुजन खड्का र महिलामा कोटेश्वरकी सुस्मिता तामाङ उत्कृष्ट खेलाडी घोषित भएको प्रतियोगिता संयोजक बद्रीप्रसाद घिमिरे जानकारी दिए ।

विधागतमा उत्कृष्ट खेलाडीले ट्रफी प्राप्त गरेका थिए । च्याम्पियनसिपमा विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पा, तेक्वान्दो सङ्घका उपाध्यक्ष सञ्जीव रेग्मी, भानबहादुर चन्द, सङ्घका केन्द्रीय सदस्य नोर्बु लामा, प्रतियोगिता संयोजक बद्रीप्रसाद घिमिरे र आयोजक डोजाङका प्रमुख कुमार लामा घिसिङले पुरस्कृत गरेका थिए ।

च्याम्पियनसिपमा आयोजक नेपालसहित भारत, बंगलादेश, भुटान, पाकिस्तान, दक्षिण कोरिया, मलेसिया, इन्डोनेसिया, मकाउ, चीन, अस्ट्रेलिया, सिंगापुर र अफगानिस्तान गरी कुल १३ राष्ट्र सहभागी थिए । जसअन्तर्गत महिलामा २ सय ५० र पुरुष ३ सय ८३ (सिनियर, जुनियर र क्याडेट) गरी ग्यरोगीतर्फ ४६ तौल समूहमा प्रतिस्पर्धा भएको थियो । पुम्सेतर्फ (एकल पुम्से, पेयर र टिम पुम्से) गरी कुल ३८ इभेन्ट समावेश थिए ।