तेक्वान्दो खेल्न नेपाली टोली भियतनाममा

तेक्वान्दो खेल्न नेपाली टोली भियतनाममा


भियतनामको होची मिन्हमा हुने २३औँ एसियाली तेक्वान्दो, पाँचौँ एसियाली पुम्से तेक्वान्दो र चौथो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने १० खेलाडीसहित १३ सदस्यीय नेपाली टोलीलाई बिदाइ गरिएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवम् नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पाले बिदाइ गरेका हुन् ।

पुरुषको ५४ केजीमुनि मनोज मल्ल, ७४ केजीमुनि दुर्गाबहादुर थापा तथा महिला ४९ केजीमुनि कल्पना चौधरी र ५७ केजीमुनि सीता तामाङले २३औँ संस्करणमा प्रतिस्पर्धा गर्नेछन् । व्यक्तिगत पुम्सेको ३० वर्षमुनि पुरुषमा कमल श्रेष्ठ र महिलामा पार्वती गुरुङले सहभागिता जनाउने छन् ।

पारातर्फ पुरुष ५८ केजीमुनि गोविन्द थापा र ६१ केजीमुनि रामबहादुर अधिकारी तथा महिला ५८ केजीमुनि सीता भण्डारी र ५८ केजीमाथि पलेशा गोबर्धनले भाग लिनेछन् ।

प्रशिक्षकमा टार्जन सुब्बा र प्रकाशमान राजभण्डारी तथा निर्णायकमा नवीनकुमार श्रेष्ठ रहेका छन् । पारा खेलाडी, २ प्रशिक्षक र निर्णायक भियतनाम प्रस्थान गरिसकेका छन् । बाँकी टोली जेठ ८ र ९ गते जाने कार्यक्रम रहेको नेपाल तेक्वान्दो सङ्घले जनाएको छ । प्रतियोगिता जेठ १० देखि १४ गतेसम्म हुनेछ ।