नेपाली युवा स्पिनर सन्दीप लामिछाने आज अपराह्न स्वदेश फर्कँदै छन् । भारतमा जारी इन्डियन प्रिमियर लिग–आईपिएल क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप आज स्वदेश फर्कन लागेका हुन् । सन्दीप जेट एयरमार्फत अपराह्न सवा ४ बजे त्रिभुवन विमानस्थलमा अवतरण हुने बुझिएको छ ।
युवा स्पिनर लामिछानेले आईपिएलमा तीन खेल खेल्दै १२ ओभरमा ८२ रन खर्चिएर पाँच विकेट लिएका थिए ।
शुरुका एघार खेलमा सन्दीपलाई नखेलाएको दिल्लीले अन्तिम चारमा नपर्ने भएपछि सन्दीपलाई मैदानमा उतारेको थियो । उनले रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध खेलेर आईपिएलमा डेब्यू गरेका थिए ।
आईतबार भएको मुम्बई इन्डियन्सविरुद्धको खेलमा सन्दीपले चार ओभरमा ३६ रन दिएर तीन विकेट हात पारेका थिए । सन्दीपले खेलेका तीनमध्ये दुई खेलमा दिल्ली विजयी भएको थियो।
सन्दीपले अब मे ३१ तारिखमा लर्डस मैदानमा टी-ट्वेन्टी विश्व च्याम्पियन वेस्ट इन्डिजसँग खेल्नेछन् । दिल्लीले २० लाख भारतीय रुपैयाँमा सन्दीपलाई आईपिएलमा आबद्ध गरेको थियो ।
प्रतिक्रिया