राखेपद्वारा दुई मुख्य प्रशिक्षक नियुक्त

राखेपद्वारा दुई मुख्य प्रशिक्षक नियुक्त


राष्ट्रिय खेलकुद परिषद्ले नेपाल पौडी सङ्घको मुख्य प्रशिक्षकमा शंकर कार्की र नेपाल टेबुलटेनिस सङ्घको मुख्य प्रशिक्षकमा धर्ममान बज्राचार्यलाई नियुक्त गरेको छ । बज्राचार्य र कार्कीलाई जेठ २ गतेको सदस्यसचिवस्तरीय निर्णयअनुसार सोही मितिदेखि लागू हुनेगरी मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ।

काठमाडांै जिल्ला खेलकुद विकास समितिमा कार्यरत टेबुलटेनिस प्रशिक्षक बज्राचार्यलाई समान पद, श्रेणी तथा सेवा कायम रहने गरी टेबुलटेनिसको मुख्य प्रशिक्षकमा नियुक्त गरिएको तालिम तथा प्रशिक्षण विभाग, प्राविधिक प्रशासनका उपनिर्देशक विमलकुमार पोखरेलद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

मुख्य प्रशिक्षक बज्राचार्य दक्षिण एसियाली खेलकुदका एक रजत र ४ कास्य पदकधारी खेलाडी हुन् । उनले सन् १९८६ मा जापानबाट सोलिडारिटी कोचेज कोर्स गरेका छन् । यस्तै, टेबुलटेनिसमा अन्तर्राष्ट्रिय स्तरमा सबैभन्दा बढी पदक प्राप्त गर्ने सफल खेलाडीको रूपमा उनको नाम आउँछ । बज्राचार्यले २०६२ मा काठमाडौंमा सम्पन्न तीनमहिने प्रशिक्षक प्रशिक्षण तालिम लिएका छन् । १७औँ राष्ट्रिय प्रतियोगिता खेलेका बज्राचार्य दुईपटक जुनियर र पाँचपटक पुरुष एकलमा च्याम्पियन खेलाडी पनि हुन् ।

पौडीका पूर्वमुख्य प्रशिक्षक वाङ्देन लामाले विशेष कारण देखाई आफ्नो पदबाट दिएको राजीनामापश्चात् मुख्य प्रशिक्षकको पद रिक्त रहेको थियो । काठमाडांै जिल्ला खेलकुद विकास समितिमा कार्यरत पौडी प्रशिक्षक कार्कीलाई समान पद, श्रेणी तथा सेवा कायम रहने गरी मुख्य पौडी प्रशिक्षकमा नियुक्त गरिएको तालिम तथा प्रशिक्षण विभाग, प्राविधिक प्रशासनका उपनिर्देशक विमलकुमार पोखरेलद्वारा हस्ताक्षरित पत्रमा जनाइएको छ ।

मुख्य प्रशिक्षक कार्कीले सन् २००२–००३ मा भारतको पटियालाबाट पौडी प्रशिक्षकमा डिप्लोमा गरेका छन् । यस्तै कार्कीले २०१४ मा भारतकै बेंग्लोरबाट आस्का (अमेरिकन स्विमिङ कोचेज एसोसिएसन) लेभल थ्री कोर्स, सोही वर्ष दोहाबाट दोस्रो गोल्डेन कोचेज क्लिनिक कोर्स र एलाइट कोचेज प्रशिक्षण लिएका छन् ।