उपराष्ट्रपति चिल्ड्रेन गेम्स सम्पन्न

उपराष्ट्रपति चिल्ड्रेन गेम्स सम्पन्न


प्रदेश नम्बर ३ स्तरीय प्रथम उपराष्ट्रपति चिल्ड्रेन गेम्समा टिम काठमाडौं च्याम्पियन बनेको छ । ४ खेल समावेश प्रतियोगितामा काठमाडौंले १८ स्वर्ण, ४ रजत र ४ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो । दोस्रो भएको नुवाकोटले ५ स्वर्ण, ५ रजत र ८ कांस्य जितेको थियो । समान ३–३ स्वर्ण, रजत र कांस्य जितेको भक्तपुरले तेस्रो स्थान प्राप्त गरेको थियो ।

एथलेटिक्समा नुवाकोट पहिलो
एथलेटिक्समा नुवाकोटले ४ स्वर्ण, १ रजत र १ कांस्य जित्दै पहिलो भएको छ । दोस्रो भएको भक्तपुरले ३ स्वर्ण र १ कांस्य र तेस्रो भएको चितवनले २ स्वर्ण, १ रजत र १ कांस्य जितेको थियो । एथलेटिक्समा छात्रछात्रामा पाँच–पाँच विधामा स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको १ सय मिटर दौडको छात्रमा भक्तपुरका विमल बुढाथोकी र छात्रामा काभ्रेकी भूमिका लुइँटेल, २ सय मिटर दौडको छात्रमा भक्तपुरका विमल बुढाथोकी र छात्रामा भक्तपुरकी स्वागता खाइजू, सटपुटको छात्रमा नुवाकोटका रघु राई र छात्रामा नुवाकोटकी अमिजा शाही, लङजम्पको छात्रमा नुवाकोटका दिपेश कुमाल र छात्रामा चितवनकी मनिका महतो तथा ट्रिपलजम्पको छात्रमा नुवाकोटका रन्जित राई र छात्रामा चितवनकी मनिका महतोले स्वर्ण जितेका थिए ।

करातेमा काठमाडौंको वर्चस्व
करातेमा ७ स्वर्ण, २ रजत र १ कांस्य जित्दै काठमाडौं टिम च्याम्पियन बनेको छ । १ स्वर्ण साथ काभ्रे दोस्रो र ३ रजतसहित रामेछाप तेस्रो भएका थिए । छात्रमा ३० केजीमा सुशील परियार, ३४ केजीमा सुशान्त हुमागाईं, ३८ केजीमा वीरेन्द्र तामाङ तथा एकल कातामा पनि सुशान्तले स्वर्ण जितेका थिए । स्वर्ण विजेता सबै काठमाडौंका हुन् ।

छात्रा ३० केजी र एकल कातामा एन्जिला राई, ३४ केजीमा सञ्जु देसार तथा ३८ केजीमा मीना ब्लोनले स्वर्ण जितेका थिए । मीना काभ्रेकी हुन् भने बाँकी काठमाडौंका हुन् । छात्र÷छात्रामा समान ४–४ स्वर्णका लागि प्रतिस्पर्धा भएको रेफ्री संयोजक राजेन्द्र कपालीले जनाएका छन् ।

उसुमा पनि काठमाडौं च्याम्पियन
उसुमा पनि काठमाडौं नै च्याम्पियन बनेको छ । ६ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा काठमाडौंले सर्वाधिक ५ स्वर्ण जितेको थियो । काठमाडौंले थप १ कांस्य पनि प्राप्त गरेको थियो । १ स्वर्ण, २ रजत र ३ कांस्य साथ ललितपुर दोस्रो तथा २ रजत र १ कांस्य साथ नुवाकोट तेस्रो स्थानमा रहेका थिए ।

छाङछवान्को छात्रमा विजय श्रेष्ठ र छात्रामा सारा तामाङ, नान्छवान्को छात्रमा छिरिङ लामा र छात्रामा प्रवीणा कार्की तथा चाइची छवान्को छात्रमा विवेक मण्डल र छात्रामा मारिया राईले स्वर्ण पदक जितेका थिए । विवेकबाहेक सबै काठमाडौंका हुन् । विवेकले ललितपुरबाट खेलेका थिए ।

तेक्वान्दोमा पनि काठमाडौंले बाजी मार्‍यो
विभिन्न ८ स्पर्धा समावेश तेक्वान्दोमा काठमाडौंले ६ स्वर्ण, २ रजत र २ कांस्य जित्दै उपाधिमाथि कब्जा जमाएको थियो । १ स्वर्ण, २ रजत र ३ कांस्य साथ नुवाकोट दोस्रो तथा २ रजत र १ कांस्य साथ दोलखा तेस्रो भएका थिए ।

ग्योरोगीतर्फ पुरुष ३३ केजीमा विवेक श्रेष्ठ, ३७ केजीमा विशाल थापा र ४१ केजीमा अपिल लामाले स्वर्ण जितेका थिए । महिला २९ केजीमा करुणा श्रेष्ठ, ३३ केजीमा रिमा खत्री र ३७ केजीमा लक्ष्मी सुनखरी मगर पहिलो भए । एकल पुम्सेमा विवेक श्रेष्ठ र लक्ष्मी सुनखरी मगरले आ–आफ्नो समूहमा पनि स्वर्ण हात पारे । रिमा दोलखा, अपिल नुवाकोट र बाँकी स्वर्णधारी काठमाडौंका हुन् ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, प्रदेश ३ का संयोजक एवम् राखेप सदस्य देवकुमार अधिकारी (बद्री), राखेपका सदस्य उपेन्द्र पौडेल, राखेप कर्मचारी सङ्घका अध्यक्ष रञ्जन थापालगायतले पुरस्कृत गरेका थिए ।

एकदिने प्रतियोगितामा एथलेटिक्स, कराते, तेक्वान्दो र उसुमा प्रदेश ३ का विभिन्न १३ जिल्लाका ३ सय ६४ खेलाडीले प्रतिस्पर्धा गरेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवम् प्रतियोगिता संयोजक देवकुमार अधिकारीले जनाएका छन् । कक्षा ६ देखि ८ सम्ममा अध्ययनरत १४ वर्षसम्मका छात्रछात्रालाई लक्षित गरी प्रतियोगिता आयोजना गरिएको हो ।

यसै प्रतियोगिताबाट राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा काठमाडौंमै हुने केन्द्रस्तरीय प्रथम उपराष्ट्रपति चिल्ड्रेन गेम्सका खेलाडी छनोट हुनेछन् । एथलेटिक्समा पहिलो हुने तथा बाँकी तीन खेल कराते, तेक्वान्दो र उसुमा पहिलो, दोस्रो हुने खेलाडी केन्द्रीय प्रतिस्पर्धालाई छनोट भएका छन् ।