राष्ट्रिय खेलकुद परिषद्, दीर्घायु गुरु हस्पिटल एन्ड रिसर्च सेन्टर, चाबहिल र दृष्टि आइकेयर सिस्टम, कलंकीबीच सम्झौता भएको छ । राखेपका सदस्यसचिव केशवकुमार विष्ट, दीर्घायुका प्रबन्ध–निर्देशक सुरज बलाय श्रेष्ठ र दृष्टिका कार्यकारी निर्देशक डा. भाइराजा श्रेष्ठले छुट्टाछुट्टै सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सो सम्झौताबाट सम्पूर्ण खेलाडी र खेलाडी परिवार, राखेप कर्मचारी र परिवार, खेल पत्रकार र पत्रकार परिवार, खेल पदाधिकारी र परिवारले सहुलियत दरमा स्वास्थ्य सेवा उपलब्ध गराउन पाउने भएका छन् ।
दीर्घायुसँगको सम्झौतामा राखेपले आयोजना गर्ने कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा दीर्घायु आधिकारिक हस्पिटल पार्टनरका रूपमा रहनेछ । त्यस्तै, राखेपको सिफारिसमा खेलाडी, प्रशिक्षक, खेलकर्मी, कर्मचारी, खेल पत्रकारका साथै प्रशिक्षणमा सहभागी सम्पूर्ण खेलाडी एवम् अन्य खेलाडीलाई आवश्यक स्वास्थ्य उपचार दीर्घायुले गर्नेछ । दीर्घायुमा उपलब्ध नशा रोग, हाडजोर्नी, स्त्री तथा प्रसूति रोग, मुटु, ईएनटीलगायत अन्य आवश्यक सेवा प्रदान गर्नेछ ।
त्यस्तै ओलम्पियन खेलाडीलाई ओपीडी सेवा निःशुल्क, अन्य सम्पूर्ण परीक्षणमा ५० प्रतिशत छुट, शल्यक्रियामा ३५ प्रतिशत छुट र औषधिमा १० प्रतिशत छुट दिने सहमति भएको छ । ओलम्पियनमाथि आश्रित परिवार (बाबु, आमा, श्रीमती र छोरा÷छोरी) लाई ओपीडीमा १ सय शुल्क, परीक्षणमा २५ प्रतिशत छुट, शल्यक्रियामा २० प्रतिशत छुट र औषधिमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । अन्य खेलाडी र राखेपका कर्मचारीको हकमा ४२५ रुपैयाँ ओपीडी शुल्कमा १ सय मात्र तोकिएको छ । परीक्षण र शल्यक्रियामा २५ प्रतिशत छुट र औषधिमा १० प्रतिशत छुट कायम गरिएको छ । खेलाडी र कर्मचारी परिवारलाई ओपीडी शुल्कमा १ सय मात्र लिने र परीक्षणमा २० प्रतिशत छुट, शल्यक्रियामा १५ प्रतिशत छुट र औषधिमा १० प्रतिशत छुटको व्यवस्था छ ।
खेल पत्रकार र परिवारको ओपीडी शुल्क पनि १ सय मात्र लिनुपर्ने तथा परीक्षणमा २० प्रतिशत छुट, शल्यक्रियामा १५ प्रतिशत छुट र औषधिमा १० प्रतिशत छुट हुने सम्झौता भएको छ । त्यस्तै खेल पदाधिकारी र परिवारलाई ओपीडी शुल्क १ सय मात्र राखिएको छ । परीक्षण र शल्यक्रियामा २० प्रतिशत छुट तथा औषधिमा १० प्रतिशत छुट गरिनेछ ।
राखेपले काठमाडौंमा आयोजना गर्ने सम्पूर्ण प्रतियोगितामा आवश्यकताअनुसार मेडिकल टिम दीर्घायुले खटाउने र राखेपले अनुरोध गरेमा खेलाडीलाई तत्कालै स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने भएमा आकस्मिक विभागमा कम्तीमा दुई बेड स्ट्यान्डबाई राख्नेलगायतका सम्झौता भएका छन् । सम्झौता अवधि दुई वर्षको हुनेछ ।
आँखासम्बन्धी उपचार उपलब्ध गराउने दृष्टिसँग पनि ओलम्पियन, अन्य खेलाडी, राखेप कर्मचारी, खेल पत्रकार र खेल पदाधिकारीका साथै उनीहरूका परिवारका लागि निश्चित छुटको व्यवस्था गरी सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतामा पनि ओलम्पियन प्राथमिकतामा राखी अरूको भन्दा छुट प्रतिशत बढी दिइएको छ ।
सदस्यसचिव विष्टले सम्झौता दुई संस्थाबीच भए पनि यसबाट हजारौँ लाभान्वित हुने बताउँदै दुवै संस्थालाई खेलकुद र खेलाडीमा गरेको योगदानको प्रशंसा गर्दै धन्यवाद दिएका थिए । विष्टले महत्वपूर्ण प्रतियोगिता साग, एसियाली र ओलम्पिक खेलकुदमा सहभागी हुने खेलाडीका साथै आर्थिक अवस्था अत्यन्तै कमजोर भएका खेलाडीको उपचारमा अझ बढी सहुलियतका लागि राखेपले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
दीर्घायुका प्रबन्ध–निर्देशक श्रेष्ठले गुणस्तर र सहज ढङ्गले सेवा दिने प्रतिबद्धता व्यक्त गर्दै खेलकुद क्षेत्रमा पनि योगदान पुगोस् भन्ने उद्देश्यले सम्झौता गरिएको बताए । त्यस्तै दृष्टिका कार्यकारी निर्देशक श्रेष्ठले आँखा मानिसको महत्वपूर्ण अङ्ग भएकाले गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया