क्रिकेटको उपलब्धिको मापन हुनुपर्नेमा एकमत

क्रिकेटको उपलब्धिको मापन हुनुपर्नेमा एकमत


– श्रीविक्रम भण्डारी

यतिबेला नेपाली खेलकुदमा क्रिकेटप्रति दुःखेसो पोख्ने थुप्रै खेलकुद पदाधिकारी देखिएका छन् । त्यस्तो दुःखेसो पोख्नेहरूमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टदेखि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पासम्म छन् । अन्य सङ्घका पदाधिकारी जसको खेलले अन्तर्राष्ट्रियस्तरमा पदक जितेर राष्ट्रको मानसम्मान बढाएको छ । उनीहरू त क्रिकेटसँग आफ्नो खेलको तुलनासमेत गर्न चाहँदैनन् । क्रिकेट लोकप्रिय खेल हो, तर नेपालमा उक्त खेलले हासिल गरेको उपलब्धिको मापन हुनुपर्नेमा सबैको एकमत छ । यतिबेला नेपालमा क्रिकेटको जति नाम र ख्याति छ त्यसको प्रतिफल राज्यले कस्तो पाएको छ, त्यसको बारेमा कसैले सत्यतथ्य विश्लेषण गरेको देखिँदैन ।

विश्वभरि कति राष्ट्रले क्रिकेट खेल्छन् त्यो औँलाले गन्न सकिन्छ । त्यसमध्ये नेपालले वर्षभरि कतिवटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्छ त्यो पनि औँला भाँची–भाँची भन्न सकिन्छ । यतिबेलासम्म नेपालले खेल्दै आएका अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र एसियन क्रिकेट काउन्सिल (एसीसी)ले आयोजना गरेका विभिन्न डिभिजनअन्तर्गतका सिरिजबाहेक अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले प्रतिस्पर्धा गर्न पाएको छैन । उदीयमान राष्ट्र भएरै होला, अहिलेसम्म विश्वचर्चित अर्थात् आईसीसीको वरीयतामा परेका राष्ट्रहरू जसलाई क्रिकेटको तीनै विधाको मान्यता प्राप्त छ, ती राष्ट्रसँग नेपालले अहिलेसम्म खेल्ने अवसर जुटेको छैन । प्रतिस्पर्धा त परै जाओस्, ती राष्ट्रका राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने अवसर पनि प्राप्त भएको छैन ।

क्रिकेटका महत्वपूर्ण तीनवटा विधामा ट्वान्टी–२०, एक दिवसीय र टेस्ट क्रिकेट पर्छन् । जसलाई एसीसी र आईसीसीको मान्यता प्राप्त छ । तीमध्ये केही राष्ट्रले मात्र टेस्ट र एकदिवसीय खेल्ने मान्यता पाएका छन् । टेस्ट र एकदिवसीय मान्यता प्राप्त राष्ट्रले सोझै ट्वान्टी–२० क्रिकेट खेल्न पाउँछ । यहाँ बुझ्नुपर्ने कुरो के छ भने यी अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता यी राष्ट्रका बीच मात्र आईसीसीको क्यालेन्डरअनुसार सञ्चालन हुन्छ । त्यसमा उदीयमान र अन्य आईसीसी र एसीसीअन्तर्गत हुने क्रिकेट प्रतियागिता खेल्ने राष्ट्रले खेल्न पाउँदैन । त्यसका लागि डिभिजन एकमा सफलता पाउनुको साथैै एकदिवसीय र त्यसपछि टेस्ट मान्यता पाउनुपर्छ ।

पछिल्लो समय नेपालले पनि एकदिवसीय मान्यता पाएको छ । नेपालले एकदिवसीय मान्यता कसरी प्राप्त गऱ्यो त्यसको चर्चा गर्नुभन्दा नगर्नु नै वेश होला । नेपालले प्राप्त गरेको एकदिवसीय मान्यताबारे मात्र एउटा कुरा भन्न उपयुक्त हुन्छ ‘नेपाल भाग्यमानी थियो’ । नेपाल जसरी भए पनि अहिले २२ वर्षको अन्तरालमा एकदिवसीय मान्यता प्राप्त गरेको छ, यो खुसीको कुरा हो ।

तर, नेपालले एकदिवसीय मान्यता प्राप्त गरे पनि अब नेपालले कुन–कुन राष्ट्रसँग एकदिवसीय खेल खेल्न पाउँछ यसबारे क्रिकेटप्रेमीहरूमा भ्रमको खेती गरिएको छ । जस्तो सञ्चारमाध्यमहरूमा मेन हेडिङ बनाएर क्रिकेटको समाचार बढाइचढाई गरेर सम्प्रेषण गरिएको छ त्यो कुरा क्रिकेटका खेलाडी र पदाधिकारीले राम्रोसँग बुझेका छन् । तर, उनीहरूले पनि यो भ्रमलाई चिर्ने कोसिस गरेका छैनन्, उल्टै यसैलाई साँवा सम्झिँदै ब्याज खाने कोसिस गरिरहेका छन् ।

नेपालले एकदिवसीय मान्यता पाए पनि भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, वेस्टइन्डिज, श्रीलंका, दक्षिण अफ्रिका, बंगलादेश, जिम्बाबे, अफगानिस्तान, आयरल्यान्ड, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स र नेदरल्यान्ड एकदिवसीय खेल खेल्न पाउँदैनन् । नेपाल अब एकदिवसिय क्रिकेट खेल्ने भनेको हङकङ, बर्मुडा, क्यानडा, मलेसिया, थाइल्यान्डलगायतका राष्ट्रसँग मात्रै हो । यी राष्ट्रहरूसँग नेपालले हिजो पनि एकदिवसीय र ट्वान्टी–२० क्रिकेट खेल्दै आएको थियो, भोलि पनि यिनै देशसँग खेल्ने हो ।

यहाँ नेपालले जुन ऐतिहासिक सफलता प्राप्त गरेको र फड्को मारेको चर्चा गरिएको छ त्यो आईसीसीको क्यालेन्डरले पनि प्रस्ट पार्छ । यहाँ भन्न खोजिएको कुरो के भने माथि उल्लेखित टेस्ट मान्यता प्राप्त कुनै पनि राष्ट्रसँग नेपालले कुनै पनि क्रिकेटका सिरिज खेल्न पाउँदैन । तर, एउटा कुरा के सत्य हो भने नेपाललाई एकदिवसीय मान्यता प्राप्त भएका कारण एसिया कप क्रिकेट भने खेल्न पाउँछ । जसमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशको सहभागिता रहने हुँदा नेपालले एसिया कपमा यी राष्ट्रसँग खेल्न पाउँछ ।

नेपालले अन्तर्राष्ट्रियस्तरमा कस्तोखाले प्रतियोगिता खेल्न पाउँछ त्यो घामजस्तै छर्लङ्ग छ । ती प्रतियोगितामा हुने विजय पराजयले राष्ट्रमा कत्तिको प्रभाव पार्छ त्यो सोझै अनुमान लगाउन सकिन्छ । तर, विडम्बना ! यहाँ क्रिकेटले विदेश गएर एउटा खेल जित्दा विश्वकप जितेकोजस्तो गरिन्छ, आखिर किन ? यो प्रश्न अहिले आमखेल र क्रिकेटप्रेमीहरूका लागि समेत अहम् बनेको छ । नेपालको राष्ट्रिय क्रिकेट टोलीले हङकङ, मलेसिया, थाइल्यान्ड र बर्मुडालाई जित्दा नेपालको प्रतिष्ठा बढ्छ कि भारतको राष्ट्रिय टोलीसँग पराजित हुँदा ? यो अहिले मनन गर्न योग्य कुरा भएको छ ।

तर, यहाँ सरकारदेखि सम्बन्धित निकाय यसबारे अनविज्ञता प्रकट गर्दै आएकोजस्तो देखिएको छ । अन्यथा डिभिजन वानको प्रतिस्पर्धामा चार खेलमा पराजित भएको र दुईवटा खेल मात्र जितेको नेपाली क्रिकेट टोलीलाई लाखौँको नगद पुरस्कारबाट कदापि सम्मानित गर्ने थिएन । यसबाट पनि प्रस्ट हुन्छ, नेपाल सरकारले क्रिकेट कति बुझेको छ भनेर ? त्यसैले बिनाअध्ययन क्रिकेटलाई सगरमाथाको टुप्पोमा पुऱ्याउनुभन्दा क्रिकेटमा हामीकहाँ छौँ, त्यसलाई आत्मसात् गर्नुमा नै समग्र क्रिकेटको भलाइ देखिन्छ ।

यतिबेला पनि आईसीसीले नेपाली क्रिकेटलाई निलम्बनमा गरेको अवस्था छ । आउँदो जुनमा आईसीसीले प्रतिबन्ध फुकाउने चर्चा चले पनि त्यसमा लालमोहर लगाउने स्थिति छैन । तर, नेपाली क्रिकेटको गतिविधि हेर्दा नेपाल निलम्बनमा परेको कुनै कोणबाट देखिँदैन । यसैकारण अहिले नेपालमा ह्वात्तै बढेको क्रिकेटको क्रेज र चर्चालाई स्वयम् खेलकुदका पदाधिकारीहरूले समेत शङ्काको घेरामा राखेका छन् । अर्को कुरा हालै नेपालको भ्रमणमा आएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समेत नेपाली क्रिकेटको चर्चा गर्दै आईपीएलमा सन्दीप लामिछानेको चर्चा गरेका थिए ।

जुन दिन प्रधानमन्त्री मोदीले सन्दीपको नाम उच्चारण गरे त्यस्तै दिन दिल्ली डेभियल्लले सन्दीपलाई पहिलोपटक आईपीएलमा डेब्यु गरेको थियो । सन्दीप उक्त खेलमा खरो उत्रिँदै किफायती बलिङ गर्दै १ विकेटसमेत लिएका थिए । यसरी निलम्बनमा परेको नेपाली क्रिकेटलाई माथि उठाउन भारतले किन विभिन्न तरिकाले अथक प्रयास गरिरहेको छ, यसलाई भारतको व्यापारिक रणनीति भन्नेहरू पनि प्रसस्त भेटिएका छन् । आखिर सत्यता के हो ? त्यसको प्रतीक्षा गर्नु नै राम्रो होला ।