० तपाईं १३ महिनाको जेल बसाइपछि रिहा हुनुभएको छ, जेलबाट नेपालको राजनीतिलाई कसरी हेर्नुभयो ?
– एक वाक्यमा भन्नुपर्दा नेपालको राजनीति सबैले अपेक्षा गरेजस्तो अगाडि बढ्न सकेन । राज्यको रूपान्तरण या राज्यको विद्यमान ढाँचालाई परिवर्तन गर्नेगरी जे–जस्ता आन्दोलन भए, संविधानसभाले जुन प्रतिबद्धता जनाएको थियो त्यो अगाडि बढ्नुको साटो त्यसलाई पछाडि धकेल्ने काम नै यसबीच भएको देखिन्छ ।
० कसरी पछि धकेलियो त मुलुकका एजेण्डा ?
– यो बुझ्न धेरै कठिन छैन । किनकि, संविधान बन्नु थियो र संविधानले पुराना मान्यतालाई लिएर हिँड्ने एजेण्डा निश्चय पनि बोकेको थिएन । राज्यको रूपान्तरण, पुनर्संरचना, यस देशका विभिन्न क्षेत्र, वर्ग, भाषाभाषी, उत्पीडित–उपेक्षित समुदायका चाहनालाई नयाँ संविधानमा व्यवस्था गर्नु थियो, त्यो हुन सकेन । मुख्य असहमतिको विषयचाहिँ राज्यको रूपान्तरणको विषय नै हो । अन्य तपसिलका असङ्ख्य विषयहरूमा विगतको संविधानसभामा सहमति हुँदाहुँदै पनि सोअनुरूप व्यावहारिक तवरमा काम हुन नसकेबाट मुलुक पछि प-यो भन्ने नै त सावित हुन्छ ।
० विगतमा हुन नसकेका काम पूरा गर्नकै लागि भनेर फेरि संविधानसभाको चुनाव हुन लागेको छ नि त ?
– राज्यको रूपान्तरण या पुनर्संरचना गर्ने सन्दर्भमा यसअघि जे–जस्ता एजेण्डा तय गरिएको थियो त्यसमा अहिलेसम्म कुनै प्रतिबद्धता जनाइएको छैन भने चुनाव गर्ने भनेर मात्र के हुन्छ ? नयाँ संविधानसभा गठनका लागि चुनावको प्रक्रिया मात्र सुरु भएको छ अहिले, तर कस्तो संविधान हुने, राज्यको पुनर्संरचना कुन रूपमा हुने भन्ने विषयहरू हिजोको दिनमा टुङ्गो नलागेकाले संविधानसभा फलदायी हुन नसकेको निष्कर्ष जो थियो, त्यही निष्कर्षको धरातल त अहिले पनि कायम नै छ नि ।
० मुलुकमा एउटा सहमतिको यात्रा त सुरु भएकै मान्नुपर्छ नि यसलाई, होइन र ?
– असहमति मात्रै देखिएको परिवेशमा यति हुनुलाई सकारात्मक नै मान्न सकिएला ।
० तपाईंको विचारमा मधेसमा अब मधेसी दलहरू के एजेण्डा लिएर जानुपर्ला र तपाईं के एजेण्डा लिएर जाने सोचमा हुनुहुन्छ ?
– अन्य दलहरू के एजेण्डा लिएर जान्छन् त्यो उनीहरूकै कुरा हो । मैले सुझाव दिइरहनु आवश्यक नहोला । मधेसले राज्यको अग्रगामी रूपान्तरणको सिलसिलामा मधेस एउटा प्रदेश बन्नुपर्ने, मधेसका भाषाहरूले मान्यता पाउनुपर्ने, समान जनसङ्ख्याको आधारमा निर्वाचन प्रणाली कायम हुनुपर्ने, समावेशिताको व्यवस्था हुनुपर्नेलगायतका एजेण्डाहरू जहाँसम्म मधेसले उठाएको थियो र वस्तुतः यी एजेण्डाहरू मधेसका मात्रै कहिल्यै पनि रहेनन् । यी विषयको आज हामीले मूल्याङ्कन ग-यौँ भने मलाई लाग्छ रत्ति पनि हामी अगाडि बढ्न सकेका छैनौँ । तसर्थ अब लैजाने भनेको एजेण्डा कुनै नयाँ नभई यिनै मुद्दा लिएर जाने हो ।
० तर मधेसले धेरै अधिकार प्राप्त गरिसक्यो भन्छन् मधेसी मोर्चाका कैयन नेताहरू त ?
– मधेसी मोर्चाका नेताहरूले चुनावमा आफ्नो सान्दर्भिकतालाई सिद्ध गर्नका लागि यतिबेला बढी कसरत गरिरहेका छन् भन्ने मलाई लाग्छ । जसरी यसबीचमा उहाँहरू राजपाटमा सरिक रहनुभयो, यो स्वाभाविक पनि हो कि मधेसमा आफ्नो उपस्थिति उपयोगी तुल्याउनका लागि उहाँहरू यस्तो कुरा गरिरहनुभएको छ । तर, आखिर मधेसको एजेण्डा के थियो त भन्ने प्रश्न म उठाइरहेको छु । मधेसको एजेण्डा सङ्घीयता थियो, सङघीयताभित्र मधेस एउटा स्वायत्त प्रदेश बनोस् भन्ने थियो, मधेसका भाषाहरूले मान्यता पाउनुपर्छ भन्ने थियो, समान जनसङ्ख्याको आधारमा निर्वाचन प्रणालीको व्यवस्था हुनुपर्ने थियो । यी विषय या एजेण्डाहरू अहिले आएर मूल्याङ्कन गर्दा कत्ति पनि उपलब्धि हासिल भएको देखिँदैन । अब कसले के अधिकार पाएर के भने त्यो उहाँहरूले प्रस्ट्याउनुहोला नि त मधेसका जनतासमक्ष ।
० अहिले चार राजनीतिक शक्तिका बीचमा जुन ११बुँदे सहमति भयो, यसका आधारमा विश्लेषण गर्नुपर्दा मधेसी मोर्चाले विजय हासिल ग-यो कि केही गुमायो होला ?
– ११बुँदे सम्झौताका आधारमा मलाई लाग्छ कि मधेसी मोर्चाले मधेसका लागि मात्र नभई सिङ्गो देशकै लागि जुन भूमिका निर्वाह गर्नुपर्दथ्यो त्यो सकेन । एक मात्र दृष्टान्त दिनुपर्दा ११ सूत्रीय सम्झौताको आठौँ बुँदामा भनिएको छ कि विघटित संविधानसभामा राजनीतिक दलदहरूको बीचमा जुन विषयहरूमा सहमति भएको छ ती विषयको स्वामित्व लिने । विघटित संविधानसभाको सबैभन्दा अहम् विषय भनेको सङ्घीयता थियो । सङ्घीयताबारे विघटित संविधानसभाको राज्यपुनर्संरचना समितिले जुन प्रस्ताव दिएको थियो त्यसको स्वामित्व लिएन । राजनीतिक दलहरूले त्यसलाई विवादित विषय बनाएका छन् । त्यसपछि राज्यपुनर्संरचना आयोग जुन बन्यो त्यसमा बहुमतको १४ प्रदेश र ११ प्रदेशको प्रस्ताव थियो । त्यसको स्वामित्व पनि यस सम्झौताका आधारमा लिइएको देखिएन । भनेपछि मधेसी मोर्चाले उपयुक्त भूमिका निर्वाह ग-यो या मधेसले लाभ हासिल ग-यो भन्न सकिने ठाउँ त रहेन ।
० हिजो बामे सर्न नसक्ने मोर्चालाई मैले हिँड्न सिकाएँ तर अहिले मधेसी मोर्चाले माओवादी र एमालेको भाषा बोल्न थाल्यो भन्ने प्रतिक्रिया तपाईंले दिनुभयो, यो भावनामा बगेर दिनुभएको प्रतिक्रिया हो कि के हो ?
– यो कुनै भावनामा बगेर व्यक्त गरेको प्रतिक्रिया होइन । सत्य कुरा त म भनिनै रहन्छु । अतीतमा मधेसी मोर्चाको भूमिका निष्क्रिय प्रकारको थियो, मधेसको एजेण्डाहरूमा भन्दा पनि सरकार गठन र विघटनमा मधेसी मोर्चाको सक्रियता देखिन्थ्यो । माधव नेपाल सरकारको बेला मोर्चाको भूमिकाले यो कुरा स्पष्ट पार्दछ । यस विषयमा म अहिले अरू धेरै टिप्पणी गरिरहन चाहन्न ।
० अबको राजनीतिमा तपाईं आफ्नो भूमिकाको खोजी कसरी गर्नुहुन्छ त ?
– मैले भनिहालेँ कि आजका दिनसम्म मधेसका हकमा कुनै नयाँ एजेण्डाको दरकार छैन, जो हिजो उठाइएका थिए त्यसैलाई बुलन्द ढङ्गमा उठाउनु अपरिहार्य देखिन्छ । राज्यको अग्रगमनकारी एजेण्डालाई मधेसले बोकेको थियो र म अहिले जेलबाट बाहिर आएको अवस्था होस् या जेलभित्रै रहँदाको अवस्थामा होस्, मधेसको अवस्थाको मूल्याङ्कन गर्दाखेरि मैले मधेस र राज्यपुनर्संरचनाको पक्षमा कामकुरा अगाडि बढेको देखेको छैन । त्यसकारण यिनै विषयलाई मधेसी जनतासमक्ष लिएर जाने सोचमा छु ।
० तपाईं नयाँ पार्टी पनि बनाउनुहुन्छ कि अब ?
– मधेसमा यसै पनि थुप्रै दलहरू खुलिसकेका छन्, त्यसैले तत्काल नयाँ राजनीतिक पार्टी निर्माण गर्ने पक्षमा म छैन । धेरै पार्टीको सङ्ख्यामा एउटा पार्टी थप्नुभन्दा पनि एजेण्डाबाट विचलित भएको मधेसको राजनीतिलाई ट्रयाकमा ल्याउन व्यापक जनमत निर्माण गर्नु छ । सुभेच्छुक र सहयोगी साथीहरूसँग मिलेर यही अभियान अघि बढाउने सोचमा म रहेको छु । केही दिनमै परामर्श र छलफल गरी यसमा लागिपर्नेछु । उक्त अभियानले नै पछि राजनीतिक दलको स्वरूप लिएछ भने बेग्लै हुरा, होइन भने तत्काल म नयाँ दल गठन गर्ने पक्षमा छैन ।
० जेलमा रहँदा तपाईंले बिर्सन नसक्ने कुनै घटना भएको छ कि ?
– सबभन्दा नरमाइलो कुरा त मुलुकको राजनीति अत्यन्त सङ्कटपूर्ण किसिमबाट बगिरहेको र त्यसमा आफ्नो भूमिका या योगदानको खोजी गरिरहेको परिवेशमा अत्यन्त षड्यन्त्रपूर्ण ढङ्गले मलाई जेल पठाइयो । म जुन सकारात्मक भूमिका निर्वाह गर्न चाहिरहेको थिएँ– त्यो सकिनँ । मलाई जेलमा रहँदा सबैभन्दा बढी बिझाएको कुरा यही हो । न्यायका सन्दर्भमा दोहोरो मापदण्ड प्रयोग गरेर मलाई अनाहक दुःख जो दिइयो, यसबाट मेरो हृदयमा खेद उत्पन्न हुनु स्वाभाविक थियो । राजनीतिमा मेरो भूमिका निस्तेज गर्न या मूलधारबाट मलाई हटाउनका लागि सर्वोच्च अदालतका ती न्यायाधीशहरू कसैको इशारामा वा कुनै धारणाको बसिभूत भएर मेरो निर्णय गरेको त जगजाहेर नै छ । यसले दिएको पीडाबाहेक अन्य त्यस्तो दुःखद् सन्दर्भ मैले अनुभूत गरिनँ ।
० बितेको १३ महिनामा तपाईं सर्वाधिक खुसी भएको दिनचाहिँ कुन होला नि ?
– हरेक दिन नै खुसी थिएँ । दिनमा ७०–८० जना साथीभाइ तथा शुभेच्छुकहरू भेट्न आउनुहुन्थ्यो । उहाँहरूसँग कुराकानी गर्दा पनि मन बहलिन्थ्यो । फुर्सदमा लेखपढ गर्थें । तर, सोमबार जब म बाहिर आएँ, हजारौँ साथीले स्वागत गरे र मधेसको मुद्दाप्रति आफ्नो प्रतिबद्धता देखाए । मलाई साथीहरूले शुभकामना दिनुभयो, म अत्यन्त खुसी भएँ ।
– ऋषि धमला
रेग्मीज्यूको बाटो पनि सहज छैन —विहङ्गमराज तिमिल्सिना
सम्पर्क: ९८४१३१४१२०, ९८४६१२०१११
० तपाईंले गत पुसमै नेपाली काङ्ग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्री बन्नुहुन्न, बरु नयाँ मान्छे सरकारको नेतृत्वमा आउँछन् भन्नुभएको थियो, साँच्चै कसैले कल्पना नगरेका प्रधानन्यायाधीशले सत्ताको जिम्मेवारी सम्हाल्नुप-यो । अब खिलराज रेग्मी नेतृत्वको सरकार सफल हुन सक्ने–नसक्ने या यो सरकार कहिलेसम्म अगाडि जान सक्ने देखिन्छ त ?
– प्रधानन्यायाधीश खिलराज रेग्मीले बिहीबारका दिन ९ बजेर २५ मिनेटको समयमा शपथ लिनुभएको थियो । उक्त समयको आकाशीय ग्रह, तारा, पिण्डहरूको अवस्थामा समयशुद्धि गर्न सकिएन । त्यसले यो सरकार पनि प्रमाणित तवरले समस्या निराकरणमा अग्रसर हुन अपेक्षाकृत नसक्ने देखिन्छ । विभिन्न बाधा–अड्चन र झन्झट आइलाग्ने तथा विभिन्न दलहरूबाट विरोध भइरहने देखिन्छ । उहाँले दश महाविद्याको एउटा बज्रशक्ति सूत्र सङ्कल्प साधना गरी कुनै काम गर्ने अठोट लिए मात्र अन्तिम अवस्था कार्यसिद्धि हुनेछ । नेपालआमा रोएकी छिन्, राजनीतिक आकाशमा कालो बादल मडारिएको छ । यस्तो परिवेशमा राशि, पिण्ड, ग्रहगोचरको उग्र अवस्थालाई साम्य पार्ने अर्थात् दश महाविद्याको बज्रशक्ति सूत्र कवच दश महासङ्कल्प गर्ने कुरालाई उपेक्षा गरे सफलतामा रोडा अड्किने निश्चित छ । यो कुरा मैले बारम्बार दोहो-याउँदै आएको पनि छु, नेताहरूसँग पनि भनेको हुँ, तर उहाँहरूले ध्यान नदिँदा पार्टी–पार्टीमा बेमेल र अविश्वास बढिरहेको छ । सरकारप्रमुख खिलराज रेग्मीको हकमा पनि उपरोक्त सङ्कल्प सिद्ध गराउनैपर्ने देखिन्छ, अन्यथा जति सहजताका साथ उहाँलाई शासनाधिकार हात लागेको छ, त्यसका तुलनामा सफलता हात लाग्न भने उहाँलाई अत्यन्त कठिन पर्ने र सफलता मिले पनि आंशिक मात्र हासिल हुने निश्चितप्रायः छ । काम गरेर पनि जश नमिल्ने अवस्था हुन सक्छ । मुख्य कुरा उहाँले कुनै पनि व्यक्तिगत स्वार्थ नराखी राष्ट्र र जनताको सर्वोपरी हितमा कटिबद्ध हुने सोच राख्नु अपरिहार्य देखिन्छ । कुनै दलविशेषको चक्कर वा चपेटाबाट अछुतो रहने प्रयत्न गर्नुभएमा उहाँको भावी बाटो केही सहज हुन सक्छ ।
० उहाँ असफल हुनु भनेको त देशमा चुनाव नै नहुनु हो, के असारमा चुनाव हुन नसक्ने देखिन्छ ?
– राजनीतिक दृष्टिमा असार महिनाको तारा ग्रह होरा लग्न नवांश सबै हेर्दा असारमा चुनाव हुन अलिक कठिन देखिन्छ, तर नेपालमा चुनाव नै नहुने अवस्था भने अब टरेको छ । अर्थात्, चुनाव त खिलराज रेग्मीकै कार्यकालमा हुन्छ । तथापि, चुनाव हुनु नै उहाँको सफलता ठहरिनेछ भन्ने कुरा यतिबेलाको परिवेशका आधारमा भन्नुपर्दा त स्वाभाविक नै हो, तर भविष्यमा राजनीतिक घटनाक्रमले यस्तो रूप लिनसक्ने देखिन्छ कि निर्वाचन भए पनि विभिन्न कारणले सरकार असफल भएको अपजश रेग्मीज्यूलाई मिल्न सक्छ । व्यक्तिगत रूपले रेग्मी या अन्य नेताहरूलाई दोष दिनुभन्दा पनि नेपाल राष्ट्रलाई नै दशा लागेको अवस्था रहेकोले यो दशाको ज्योतिषीय उपचार आवश्यक छ ।
० नेपालको राजनीतिमा ब्वाँसो, सिंह, चितुवा, मृग, बाख्राजस्ता विविध प्रकृति र प्रवृत्तिका मानिस सक्रिय छन्, अब एकैसाथ यस्ता सबैलाई खुसी पार्न त कसरी सकिएला त ?
– ज–जसले जे–जे चिताएको छ त्यही–त्यही ट्वाक्क–ट्वाक्ट दिएर खुसी पार्न त अहिलेको भौतिकवादी संसारमा कसैले पनि सक्दैन । सरकारप्रमुखका नाताले रेग्मीज्यूले त्यसो गर्नुपर्छ भन्न खोजेको पनि होइन । यसरी विविध प्रकृति तथा सोचविचारका व्यक्ति समाजमा रहने र मुलुकको ग्रह–दशाचाहिँ खराब चलिरहेको अवस्थाले गर्दा यतिबेला विशेष सचेत भई विवेकपूर्ण कदम चाल्नु आवश्यक छ भन्न खोजेको हुँ । व्यक्तिविशेष वा दलविशेषको मुख नहेरी देशलाई नै आफ्नो आराध्य माता ठानेर काम गर्न खोजे उहाँलाई केही सहज हुनेछ भन्ने मेरो आशय हो ।
० मुलुकको जुन अवस्था छ, यसभन्दा अब सम्हालिने या सुध्रने स्थिति बन्छ कि बन्दैन त ?
– चुनाव हुने अवस्था रहेकोले आशावादी हुन सकिने आधार छ । तर दल–दलबीचको बेमेल, झैझगडा रहिरहने र त्यसले मुलुक तथा मुलुकवासीमा पीडा प्रदान गरिरहन सक्ने देखिन्छ । यसर्थ, संसारमा अति नै शक्तिशाली दश महाविद्याको बज्रशक्ति सूत्र दुर्लभ महायन्त्र गर्ने हो भने पार्टीमा भाइचारा बढ्छ, मेलमिलाप हुन्छ, बेग्लै शान्त र सुखकारी माहोल बन्ने म देखिरहेको छु । यो कुरा आजभन्दा तीन वर्षअघिदेखि म भनिरहेको छु, तर कतै सुनुवाइ भइरहेको छैन ।
० चुनाव हुन्छ नै भन्नुभयो, त्यसो भए नेपालमा सैनिक शासनको सम्भावना त रहेन होइन त ?
– मंगल अमृत स्थानमा बसेर शक्तिशाली बनेका भए त्यस्तो अवस्था निम्तिने थियो, खिलराज रेग्मी घोर असफल सावित भई क्षतविक्षत हुने अवस्था नरहेकाले सैनिक शासनको सम्भावना देखिन्न र नेपालका लागि अहिले सैनिक शासन लाभदायक हुने पनि देखिन्न ।
० भनेपछि अहिले लोकतान्त्रिक गणतन्त्र भनिएको यही व्यवस्था संस्थागत हुन्छ त नेपालमा ?
– यही व्यवस्था सुदृढ र सुसंस्कृत बन्दै जानुको विकल्प नेपालमा देखिन्न । अन्य राजनीतिक सोच लागू गर्न खोजिए पनि त्यो दिगो किसिमले टिक्न सक्दैन । तसर्थ यही शासन व्यवस्थालाई अब सबै मिलेर राम्रो र बलियो तुल्याउन लाग्नुमै सबैको कल्याण हुन्छ ।
० प्रसङ्ग बदलौँ, पूर्वयुवराज पारस झन्डै–झन्डै बितिसकेको अवस्थाबाट पनि पुनर्जीवन पाएझैँ भए, उनको गइसकेको प्राण फर्केझैँ राजसंस्था फर्कन सक्ने अवस्था पनि छ भन्छन् नि कतिपय त, तपाईंको दृष्टिले के देख्छ ?
– पूर्वराजा ज्ञानेन्द्रको दशाग्रह, नवांश हेर्दा तत्काल राजसंस्था फर्किने देखिन्न । तर, दलहरूको यस्तै रवैया रहिरहँदा जनतामा ‘बरु राजसंस्था रहेकै भए पो शान्ति हुन्थ्यो कि’ भन्ने भावनाचाहिँ स्वाभाविक रूपमा पैदा हुन्छ । तथापि, राजतन्त्र फर्कने अवस्था मुलुकको ग्रहगोचरले त दर्शाउँदैन ।
० माओवादी वैद्य समूहले पहिलेकै जस्तो युद्ध गर्ने कुरा पनि गरिरहेको छ, नेपालमा त्यस्तै युद्ध र अशान्तिको सम्भावना देखिन्छ कि देखिँदैन नि ?
– मोहन वैद्यजी या उहाँको पार्टीलाई उपेक्षा गर्नु एकदम प्रत्युत्पादक हुने देखिन्छ । तसर्थ, खिलराज रेग्मीज्यूले उहाँलाई पनि सम्झाएर साथमा लिने प्रयत्न गर्नैपर्छ, ‘मोहन वैद्य’को नामबाट हेर्दा उहाँको कारण देशमा झैझगडा उत्पन्न हुने, द्वन्द्व बढ्ने सम्भावना देखिन्न । तर सरकारले उहाँसँग समझदारी बढाएर काम गर्नु अत्यावश्यक देखिन्छ ।
० अबको चुनावपछि कस्तो या कसको नेतृत्वमा सरकार बन्ला भन्ने केही देख्नुभएको छ ?
– त्यसका लागि मैले विस्तृत रूपमा कुण्डलीहरू नियाल्दै छु, काङ्ग्रेस, एमाले, माओवादी, मधेसवादी सबैतिरका नेताहरूको जन्मकुण्डली मगाइरहेको छु । त्यो अध्ययन गरिसकेपछि मात्रै यकिनसाथ भन्न सकिन्छ, अहिले यस विषयमा यत्तिकै भन्ने
कुरा आएन ।
प्रतिक्रिया