नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले सरकारले गर्ने सबै काम र तहमा कांग्रेसले खबरदारी गर्ने बताएका छन् । सरकार दुई तिहाई बहुमत र ठूलो पार्टीको घमण्ड बोकेर अघि बढेको र उसले स्वेच्छाचारी रुपमा काम गर्ने लक्षण स्पष्ट रुपमा देखा परिरहेकोले अब कांग्रेसले सशक्त विपक्षीका रुपमा सरकारको खबरदारी गर्ने धारणा उनले राखेका हुन् ।
नुवाकोटमा पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै डा. महतले सरकारले प्रचारको शैलीमा काम गरेको, राजस्व अनुसन्धान विभागदेखि कतिपय संवेदनशील कार्यालयहरु नै प्रधानमन्त्री कार्यालयअन्तर्गत राखेर स्वेच्छाचारी बन्ने छनक देखाएकोले अब कांग्रेसले सरकारका हरेक तहको निगरानी र खबरदारी गर्ने बताए ।
सरकारका नीति तथा कार्यक्रमहरु प्रचारात्मक र लोकप्रिय बन्ने शैलीमा आएका तर तिनको प्राप्तिका लागि कुनै भरपर्दाे आधार नदेखिएको उनले प्रस्ट्याए । सरकारले काम थाल्नुभन्दा पनि यो गर्दैछु र उ गरिनेछ भनेर प्रचार मात्र बढी गर्ने गरेको भन्दै डा. महतले भने– ‘सरकारले कामलाई ध्यान दिनुभन्दा पनि प्रचारमा बढी रमाएकोले अब प्रतिपक्षीको भूमिका महत्वपूर्ण हुनेछ, त्यो हामीले निर्वाह गर्नेछौँ ।’
नेपाली कांग्रेसले आफूले गरेका राम्रा काम पनि प्रचारात्मक शैलीमा बाहिर नल्याउने गरेकोले संगठन र प्रचार गर्ने शैली कम्युनिष्ट दलबाट सिक्नुपर्ने बेला आएको पनि डा महतले स्वीकार गरे ।
प्रतिक्रिया