नेपाललाई तेस्रोबाट पहिलो विश्वमा पुऱ्याउने प्रधानमन्त्रीको दाबी

नेपाललाई तेस्रोबाट पहिलो विश्वमा पुऱ्याउने प्रधानमन्त्रीको दाबी


सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा र सम्मानको प्रत्याभूति दिने ढंगबाट काम गरिरहेको दाबी प्रधानमन्त्री केपी ओलीले गरेका छन् । सरकारको आव २०७५/७६ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा आइतबार छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले सरकारी संयन्त्रलाई प्रभावकारी रुपमा परिचालन गरी भ्रष्टाचार, तस्करी र कालाबजारी अन्त्य गर्ने दृढता व्यक्त गरे ।

थप उत्साहित लवजमा उनले भने, ‘नेपाल सधैँ गरीब र पछि रहिरहन सक्दैन, त्यसैले अब नेपाललाई तेस्रो विश्वबाट पहिलो विश्वमा पुऱ्याउने नीति तथा कार्यक्रमले उद्देश्य लिएको छ ।’

भ्रष्टाचार नियन्त्रण र उन्मूलन गरिन्छ, वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण, कर छल्ने र अनुचित कार्यको अन्त्य गरिने छ, कर्मचारी प्रशासन ठीक ढंगले अघि बढाइने छ र प्रशासनलाई चुस्तदुरुस्त बनाउने नीति लिइनेछ भन्दै उनले सरकारको नीति तथा कार्यक्रम सही रहेको जिकीर गरे । विपक्षीले आलोचना गरे पनि नीति तथा कार्यक्रम अग्रगामी रहेको दाबी गर्दै प्रम ओलीले कार्यक्रमा देशका समग्र विषयलाई समेटिएको, विकास र समृद्धिका विषयलाई समेटेको, नेपाली जनताको चाहना समेटिएको, पूरा गर्ने स्पष्ट बाटाहरु देखाएको बताए ।

राम्रो कामलाई राम्रो तथा नराम्रो कामलाई नराम्रो भन्न प्रतिपक्षी दललाई आग्रह गर्दै उनले सरकार प्रतिपक्षसँग एक भएर अघि बढ्न तयार रहेको खुलासा पनि गरे ।

कोशी, कर्णाली र गण्डकमा पानी जहाजको माध्यमबाट समुद्रसम्म जान्छौँ, पानीजहाजबाट सामान ढुवानी हुनेछ । रेलमार्गलाई काठमाडौँ, केरुड र लुम्बिनीसँग जोड्न अध्ययन भइरहेको छ, तीन वर्षभित्र काठमाडौँमा मेट्रो चल्छ, यो योजनाविहीन ढंगले भनेको होइन भन्दै उनले विराटनगर र नेपालगञ्ज विन्दुबाट अन्तर्राष्ट्रिय जहाज अवतरणका लागि हवाइजहाजले प्रवेश पाउने, अप्टिकल फाइबर ओछ्याउने र अर्को वर्ष विद्युत्भार कटौती अन्त्य गर्ने ढंगबाट काम भइरहेको जानकारी दिए ।

तस्बिर रासस