चन्डोल खुला ब्याडमिन्टन सम्पन्न

चन्डोल खुला ब्याडमिन्टन सम्पन्न


ज्येष्ठ ब्याडमिन्टन एकेडेमीका नीरविक्रम देवकोटा र सुनील जोशीको जोडी श्री चन्डोल युवा क्लब खुला ब्याडमिन्टन प्रतियोगिता ०७५ को उपाधि जित्न सफल भएको छ । नीर र सुनीलको जोडीले जी. फोर क्लबका आकाश छन्त्याल र अभिषेक गुरुङको जोडीलाई २१–९ २१–१७ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।

विजयी खेलाडीले नगद २० हजार र मेडल तथा प्रमाणपत्र प्राप्त गरेका थिए । त्यस्तै, उपविजेताले १० हजार प्राप्त गरे । एपीएफका विशाल प्रधान र सुमन लिम्बूको जोडी र भूपू क्लबका राम बानियाँ र रोमन बानियाँको जोडी संयुक्त रूपमा तेस्रो भए । तेस्रो हुनेले नगद ५ हजार, मेडल तथा प्रमाण पत्र प्राप्त गरेका थिए ।

नव वर्ष ०७५ को उपलक्ष्यमा चन्डोल युवा क्लबले ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ जेठ १० देखि १२ गतेसम्म प्रतियोगिता आयोजना गरेको थियो ।

‘बी’ इभेन्ट भूपू क्लबका रोमन बानियाँ र सुमन गोतामेको जोडीले ज्येष्ठ क्लबका दीपक राना र सञ्जय श्रेष्ठको जोडीलाई २१–१६, २१–१८ को सोझो सेटमा पराजित गरेको थियो । त्यस्तै ‘सी’ इभेन्टतर्फ रत्न गुरुङ र धु्रव बानियाँको जोडी तथा दिलीप राई र विदुर थापाको जोडी तृतीय भएका थिए । विजेता, उपविजेता र तेस्रो हुनेले क्रमशः १५, १० र ५ हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए ।

विजेताहरूलाई प्रमुख अतिथि नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, विशेष अतिथिहरू का.म.पा.– ४ का वडाध्यक्ष मोहनबहादुर विष्ट, राखेपका ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदीप योञ्जन, काठमाडौं जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष दीपक थापा र क्लबका अध्यक्ष राजु खड्का क्षेत्रीले संयुक्त रूपमा मेडल, प्रमाणपत्र र नगद पुरस्कार वितरण गर्नुभयो ।

नेपाल ब्याडमिन्टन सङ्घ तथा काठमाडौं जिल्ला ब्याडमिन्टन सङ्घको प्राविधिक सहयोग र स्थानीय विभिन्न १५ वटा सङ्घसंस्थाको प्रायोजन रहेको ब्याडमिन्टन प्रतियोगितालाई सफल पार्न स्थानीय आर्थिक कारोबार बचत तथा ऋण सहकारी संस्था लि.को विशेष सहयोग रहेको थियो । प्रतियोगिता संयोजन क्लबका सचिव किरण शर्मा भट्टराई र नेपाल ब्याडमिन्टन सङ्घका सचिव समीरबहादुर सिंहले म्याच रेफ्रीको भूमिका निभाएका थिए ।