लोकतन्त्र छाडातन्त्रमा परिणत भएकोले त्यसको खवरदारी गर्न स्वतन्त्र नागरिक समाजले शान्तिबाटिका रत्नपार्कमा एक सभाको आयोजना गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि वक्ताका रूपमा निम्त्याइएका वरिष्ठ पत्रकार एवं इतिहासविद प्रेम कैदीले वौद्धिक व्यक्तिहरूको उपस्थिति गराएर खबरदारी सभा गरेकोमा आयोजक पक्षका शंकर मघैयाको प्रयासको प्रशंसा गर्दै विश्वको आधिपत्य कायम रहेको नेपालमा ‘श्री ५’को शासन आवश्यक रहेको बताए । विचार र सिद्धान्तभन्दा राष्ट्र माथि रहने भएकोले आफू यस्ता कार्यक्रममा बोल्न सरिक भइरहने उनको प्रष्टोक्ति थियो ।
विशिष्ट अतिथिका रूपमा कार्यक्रममा सहभागिता जनाउँदै प्रा.डा. शास्त्रदत्त पन्तले नेपालको प्रत्येक समस्याको समाधान आफूले लेखेका १०१ वटा किताबमा रहेको दाबी गर्दै जनबलको आधारमा २०७२ सालको संविधान नच्यातिएसम्म नेपालको विकास र समृद्धि सम्भव नहुने ठोकुवा गरे ।
यस्तै, वरिष्ठ गायिका मीरा राणाले ‘झुक्दै नझुक्ने म नेपालकी छोरी’ भन्ने राष्ट्रिय भावनाले ओतप्रोत सदावहार गीत गाएर सहभागीहरूलाई मन्त्रमुग्ध पारिन् भने गणेश पुडासैनीले राष्ट्रपति शासन भएको मुलुकमा को जहाँ–जहाँ आगमन हुन्छ त्यहाँ–त्यहाँ पैसाको खोलो बग्ने गरेको टिप्पणी गरे । उनले थपे– ‘हिजो तराईमा हिन्दी भाषाको बिगबिगी थियो, भारतीय मुद्रा चल्थ्यो, नेपाल नै स्वतन्त्र राष्ट्र हो कि होइन भन्ने अवस्थामा राजा महेन्द्रले नेपाललाई बचाइबक्सेको थियो । आज यो मुलुक जोगाउन पुनः राजसंस्थाको आवश्यकता महसुस आमजनताले गरेका छन्, फुलवारीको रखवाली गर्ने फूल उन्ने संवैधानिक राजसंस्था आवश्यक छ ।’
अर्का वक्ता सुदिप ढकालले आयातीत गणतन्त्रको विषयमा पटक–पटक आन्दोलित भइएको तर बहुसंख्यक जनताको भावनाविपरीत धर्मनिरपेक्षता लादिएको, कम्युनिष्ट एकाधिकार कायम गर्न खोजिएको आरोप लगाए ।
डिल्लीराम खनालले चाहिँ मधेसवादी नेता उपेन्द्र यादवले ‘फेरि नाकाबन्दी खेप्न तयार भएर बस्नु भन्नुको तात्पर्य के हो ?’ भनी जिज्ञासा अघि सारे ।
संस्कृतिविदका रूपमा चिनिएका महेश्वरजुजु राजोपाध्यायले चीन र भारतलाई सन्तुलनमा राख्ने शक्ति राजा नै हो भनी ठोकुवा गरे ।
गोरखानिवासी नव पन्तले सञ्चालन गरेको सो कार्यक्रममा सूर्य नेपाल, वरिष्ठ अधिवक्ता विष्णु भट्टराई, इन्दिरा अर्याल, केशव अधिकारी, राजमान लामा आदिले समसामयिक विषयमा प्रकाश पारेका थिए भने स्वतन्त्र नागरिक समाजका संयोजक हेमविक्रम सिलवालले देशको अस्तित्व जोगाउन जेष्ठ २५ गते व्यवस्थापिकाका सभामुखलाई र जेष्ठ २९ गते नेपाली सेनाका प्रधानसेनापतिलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको जानकारी दिएका थिए ।
राष्ट्रिय समाज सुधार संस्थाका संयोजक एवं राष्ट्रवादी/प्रजातान्त्रिक आन्दोलनमा लामो समयदेखि क्रियाशील शंकर मघैयाले कार्यक्रमको सभापतित्व गरेका थिए ।
प्रतिक्रिया