‘मधुमास सकियो… अब राम्रो गर्नुहोस् सरकार !’

‘मधुमास सकियो… अब राम्रो गर्नुहोस् सरकार !’


– जयप्रकाश आनन्द

सरकारले सय दिन पूरा गरेको छ । सरकारका लागि यो मधुमास भए पनि मेरा निम्ति यी दिनहरू आशाप्रद नै रहे ।

यस अवधिमा मैले यस सरकारले अधिनायकवाद ल्याउँछ भन्ने कहिल्यै सोचिनँ । प्रधानमन्त्रीले गफ दिइरहनुभएको छ जस्तो पनि लागेन । चीनपछि, दिन ढल्न नपाउँदै, लगत्तै भारतसँग रेललाइन बिच्छ्याउने समझदारी भयो । कोसी हुँदै हिन्द महासागरसम्मको यात्राको कुरा आयो । भारदह जहाँ ०४८ सालसम्म एउटा माध्यमिक विद्यालय थिएन, मैले नै त्यहाँ बीपी कोइरालाको स्मृतिमा मावि स्थापना गराएँ । सोच्छु, कति छिटो कस्तो दिन आयो, अब यो भारदहमा नेपाललाई जलमार्गबाट हिन्द महासागरसम्म पुऱ्याउने बन्दरगाह बन्नछ । कस्तो हुने होला भारदह !

यी सब महायोजना कत्तिको सम्भाव्य छ ? यसका लागि चाहिने विपुल लगानी कहाँबाट आउने ? यसबारे कुनै पनि पल मैले शङ्का गरेको छैन । देउवा, डा. रामशरण र डा. बाबुरामको आशङ्कालाई मैले शुभमुहूर्तका बेला बिघ्न विचार मात्र ठानेको छु ।

बल्ल त देश सोच्न थालेको छ । निमोठ्दा, कुत्कुत्याउँदा पनि काउकुती नलाग्ने हाम्रा निर्जीव झैँ भइसकेको शरीर जाग्दै छ । स्वप्नहरूले स्पन्दित हुँदै छ शरीर । कसले के भनेको थियो ? फलानो विकास ल्याइदिने वाचा गरेर गएको थियो । तर, के भनेका थिए त विकासका लागि गर्ने भनेको ? यस्तो सम्झनाहरू पनि स्मृतिमा थिएन । चिप्लेर जान्थ्यो, यस्तो कुरा अड्नै नसक्ने दिमागमा अब बल्ल ठूलाठूला कुराहरूले स–साना ठाउँ बनाउँदै लगेको छ ।

म सोच्छु, सरकारका यसअघिका आश्वासनहरूबारे किन अविश्वास गरूँ ? बल्ल त कसैले सपनासम्म देखाएको छ । अब यिनलाई पनि अपत्यार गर्ने हो भने फेरि स–साना सपना पनि देखाउन नसक्नेलाई विश्वास गरूँ त ? कति कठिन हुनेछ, फेरि बिनासपनाको बाँच्नु ।

‘हामी जस्ताहरूको एउटै चाहना छ, सरकार हाम्रो प्रतिरक्षा गर्नुहोस् । जति नै दिन सक्नुहुन्छ, दिनुहोस् । सुविधा दिनुहोस् । अवसर दिनुहोस् । गरिखाने मौका दिनुहोस् । बाँकी तपाईंहरू राज्य चलाउनुहोस् । सुखी हुनुहोस् ।’

म यस देशमा प्रतिस्पर्धामा छैन ।

म अरूलाई भोट मात्र हाल्न पाउने नागरिक हुँ । मेराअगाडि पस्किएका नामहरूमध्ये कुनै एक–दुई वा धेरैलाई छान्न पाउने अवसर मात्र छ मलाई । म आफू स्वयम् जनप्रतिनिधित्वको दाबा गर्न सक्दिनँ । सबैका लागि संविधानप्रदत्त मौलिक अधिकारहरू मेरो हकमा कतिपय ठाउँमा निलम्बित छ ।

दिएको मानो, छुट्याई दिएको मानो खाएर अब स्वप्नदर्शीको विश्वासमा डेग चलाउनु छ । सन्तोष मान्नुको विकल्प छैन, यसर्थ म लाखौँलाख ती मानिसको खातमध्येका एक हुँ, जो सरकारप्रति विश्वास गर्नका लागि बाध्य छ । निर्विकल्प विश्वासका अनुचरझैँ भएको छु म ।

म जति नै निरीह भए पनि, मजस्ता निरीहहरूको शृङ्खला जति नै लामो र कातर भए पनि फेरि सरकार कति बलियो छ नि । प्रतिपक्षीका सबै प्रहारबाट अभेद्य ! यसले कोसँग डर मान्नुपर्ने ?

संविधानका अगाडि दैव पनि निहुरिनुपर्ने हाम्रो मुलुकमा अहिलेको सरकार संविधानका असङ्ख्य धाराहरूबाट प्रतिरक्षित छ । फेरि किन डराउनु ? हामी जस्ताहरूको एउटै चाहना छ, सरकार तपाईं जहाँ हुनुहुन्छ त्यो तपाईंहरूको दैवी अधिकारले सुरक्षित ठाउँ हो । सरकार, बाहुन वा शुद्र जसको बर्चस्वको किन नहोस्, तर तपाईं सरकारमा हुनुहुन्छ भने त्यो तपाईंको क्षेत्रीयता हो । क्षेत्रीको धर्म हुन्छ, निरीहउपर हुने अन्यायबाट उसलाई प्रतिरक्षा गर्नु ।

सरकार हाम्रो प्रतिरक्षा गर्नुहोस् । जति नै दिन सक्नुहुन्छ, दिनुहोस् । सुविधा दिनुहोस् । अवसर दिनुहोस् । गरिखाने मौका दिनुहोस् । बाँकी तपाईंहरू राज्य चलाउनुहोस् । सुखी हुनुहोस् ।

हामी ईष्र्या गर्दैनौँ, सम्झिने छौँ– सरकार यी सब हाम्रै लागि गरिरहेको छ । मीठो खानु होस्, हामी सम्झिन्छौँ हाम्रो राम्रोकै लागि मीठो खाइरहनुभएको छ ।

मधुमास सकियो । अब राम्रो गर्नुहोस् सरकार !

(जेपी आनन्दको फेसबुकबाट)