राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रथम उपराष्ट्रपति चिल्ड्रेन गेम्समा प्रदेश ३ समग्रमा टिम च्याम्पियन बनेको छ । एथलेटिक्स, कराते, तेक्वान्दो र उसु गरी ४ खेल समावेश प्रतियोगितामा प्रदेश ३ ले सर्वाधिक १४ स्वर्ण, ५ रजत र १० कांस्य जित्दै टिम च्याम्पियन बनेको हो । दोस्रो भएको प्रदेश ४ ले ५ स्वर्ण, ९ रजत र २ कांस्य जितेको थियो । त्यस्तै, तेस्रो भएको प्रदेश ५ ले ४ स्वर्ण, ८ रजत र ९ कांस्य हात पा¥यो ।
एथलेटिक्सबाहेक प्रदेश ३ बाँकी तीनै खेलमा टिम च्याम्पियन बनेको हो । एथलेटिक्समा भने प्रदेश ५ ले बाजी मारेको थियो । प्रदेश ५ ले ४ स्वर्ण, २ रजत र ५ कांस्य जित्दै प्रदेश तीनलाई ४ खेल समावेश प्रतियोगिताको उपाधि क्लिनस्विप गर्नबाट रोकेको थियो । प्रदेश ३ ले एथलेटिक्समा भने कुनै स्वर्ण जित्न सकेन । प्रदेश ३ ले तेक्वान्दोमा ४ स्वर्ण, १ रजत र ४ कांस्य, करातेमा ६ स्वर्ण र ३ रजत तथा उसुमा ४ स्वर्ण, ३ रजत र ३ कांस्य जितेको थियो ।
एथलेटिक्स ः
ब्वाइज २ सय मिटर दौडमा प्रदेश २ का अमर यादव पहिलो भए । उनले निर्धारित दूरी २४ः१८ सेकेन्डमा पूरा गरेका थिए । सो स्पर्धाको गल्र्समा प्रदेश ५ की प्रशान्ति थारूले शीर्ष स्थान हात पार्दै २८ः९५ सेकेन्डमा दूरी तय गरेकी थिइन् । ब्वाइज र गल्र्सको १ सय मिटरमा पहिलो भएका क्रमशः राहुल गुरुङ र रिया थापा २ सय मिटरमा भने दोस्रो स्थानमा चित्त बुझाएका थिए । राहुल र रिया दुवै प्रदेश ४ का हुन् ।
लङजम्पको ब्वाइजमा प्रदेश ५ कृष्ण घिमिरे पहिलो भए । उनले ५.५९ मिटर जम्प गरेका थिए । त्यसै, गल्र्सतर्फ ४.४९ जम्प गर्दै प्रदेश २ की अनुषा राउतले स्वर्ण जितेकी थिइन् । कृष्ण र अनुषाले ट्रिपलजम्पमा पनि स्वर्ण जितेका थिए ।
सटपुटको ब्वाइजमा प्रदेश १ का तुलसीराम थारू तथा गल्र्समा प्रदेश ४ की सुशीला श्रेष्ठले स्वर्ण हात पारे । तुलसीले १२.९३ मिटर तथा सुशीलाले ७.८४ मिटर टाढा फाले ।
कराते ः
करातेको ब्वाइज एकल कातामा प्रदेश १ का सूर्यचन्द्र राईले स्वर्ण जिते । उनले प्रदेश ४ का प्रिन्स गुरुङलाई पराजित गरेका थिए । सोही स्पर्धाको गल्र्समा प्रदेश ३ की सन्जु देशारले प्रदेश ५ की अनिता पुनलाई हराउँदै पहिलो भएकी थिइन् ।
ब्वाइज ३० केजीमा प्रदेश ३ का सुशील परियार पहिलो भए । उनले फाइनलमा प्रदेश ४ का रूपेश तामाङलाई पाखा लगाएका थिए । ३४ केजीमा प्रदेश ३ सुशान्त हुमागाईंले प्रदेश ४ का विपिन पुन तथा ३८ केजीमा प्रदेश ४ का भाष्कर पुनले प्रदेश १ का अतिम राईलाई फाइनलमा पन्छ्याउँदै पहिलो स्थान हात पारेका थिए ।
गल्र्सको ३० केजीमा प्रदेश ३ की एन्जिला राईले प्रदेश ५ की सृृष्टि गुरुङ, ३४ केजीमा प्रदेश ३ की सन्जु देशारले प्रदेश ५ की अनिता विक तथा ३८ केजीमा प्रदेश ३ की मीना ब्लोनले प्रदेश ५ की अनिता पुनलाई पाखा लगाउँदै प्रथम स्थान हात पारेका थिए ।
तेक्वान्दो ः
ब्वाइज ४१ केजीमुनि प्रदेश ६ का सुशील बर्ला पहिलो भए । उनले फाइनलमा प्रदेश ४ का लेखनाथ कुर्मीको चुनौती समाप्त पारेका थिए । एकल पुम्सेमा प्रदेश ३ का विवेक श्रेष्ठले प्रदेश १ का सोहन कार्कीलाई पछि पार्दै स्वर्ण जितेका थिए ।
गल्र्सको ३३ केजीमुनि प्रदेश ३ की निमा खत्रीले प्रदेश १ की ममता माझी तथा ३७ केजीमुनि प्रदेश ७ की प्रकृति पालीले प्रदेश ३ की लक्ष्मी सुनाखरी मगरलाई निराश पार्दै शीर्ष स्थान कब्जा गरेकी थिइन् । लक्ष्मी पुम्सेमा भने स्वर्ण जित्न सफल भइन् । लक्ष्मीले प्रदेश ५ की आशा विकलाई पराजित गरेकी थिइन् ।
उसु ः
छाङ छ्वानको ब्वाइजमा प्रदेश ३ का अरुण तामाङ र गल्र्समा प्रदेश ३ की सारा तामाङ, नान् छ्वानको ब्वाइजमा प्रदेश १ का एलिस मरिक र गल्र्समा प्रदेश ७ दीक्षा साउद तथा थाइची छ्वानको ब्वाइजमा प्रदेश ३ का विवेक मण्डल र गल्र्समा प्रदेश ३ कै मारिया राईले स्वर्ण पदक जितेका थिए ।
विजेतालाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), राखेपका सदस्यसचिव केशवकुमार विष्टलगायतले पुरस्कृत गरेका थिए । चारै खेलको प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई क्रमशः ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
दुईदिने प्रतियोगितामा ७ प्रदेशबाट ४६ का दरले ३ सय २२ खेलाडीको सहभागिता रहेको थियो । ब्वाइज, गल्र्सतर्फ एथलेटिक्समा समान ५–५, कराते र तेक्वान्दोमा समान ४–४ तथा उसुमा समान ३–३ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।
एथलेटिक्स र तेक्वान्दो लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्र, तेक्वान्दो सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर र उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा खेलाइएको थियो ।
प्रतिक्रिया