नियमविपरीत सडक बनाउने वडाध्यक्षको निर्णयप्रति चौतर्फी विरोध

नियमविपरीत सडक बनाउने वडाध्यक्षको निर्णयप्रति चौतर्फी विरोध


भरतपुर महानगरपालिका–२३, गौचरणमा वर्षौँदेखि चलनचल्तीको फराकिलो बाटोलाई खुम्च्याएर चार मिटर मात्रै कायम गर्ने वडा कार्यालयको निर्णयको चौतर्फी विरोध भएको छ ।

गौचरणको पूर्व तथा उत्तरतर्फको दश मिटरभन्दा बढी चौडाइ रहेको सो क्षेत्रकै सबैभन्दा पुरानामध्येको उक्त बाटो चार मिटर मात्रै कायम गर्ने गरी वडाध्यक्ष नरिनारायण पौडेलले हालै निर्णय गराएका थिए ।

जगतपुरको खड्गौली चोकदेखि गौचरण हुँदै जाने सो बाटो झन्डै १० मिटर चौडाइको रहेको छ । साना–ठूला निजी सवारीसाधनका साथै दैनिक सार्वजनिक बससमेत गुड्ने उक्त बाटो विगतमा स्थानीय निकायले मर्मतसम्भार गर्दै आएको बाटो हो । उक्त क्षेत्रका बासिन्दाको अनुपस्थिति र असहमतिमा वडाध्यक्षले गत वैशाख १२ गते गौचरण क्षेत्रको बाटो चार मिटर मात्रै कायम गर्ने गरी निर्णय गराएका थिए । उक्त निर्णयप्रति स्थानीयले गम्भीर आपत्ति र असहमति जनाउँदै आएका छन् ।

वडा कार्यालयले सोही निर्णयलाई कार्यान्वयनमा अगाडि बढाउने तयारी गरेपछि स्थानीयले आइतबार वडा अध्यक्ष पौडेललाई ज्ञापनपत्र बुझाउँदै चलनचल्तीको फराकिलो बाटोलाई नै कायम गर्न माग गरेका छन् । वडा नम्बर २३ का वडाध्यक्ष पौडेललाई स्थानीयले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘महानगरपालिकाले भित्री बाटोसमेत कम्तीमा ६ मिटर कायम गराइरहेको अवस्थामा स्वयम् वडाध्यक्षले चार मिटर बाटो कायम गर्ने गरी गरेको निर्णयले महानगरपालिकाकै ऐन, नियमको समेत बर्खिलाप गरेको छ । त्यसमाथि उक्त बाटो यस क्षेत्रकै महत्वपूर्ण र एक प्रमुख बाटो भएकोले कम्तीमा १० मिटरभन्दा कम कायम गर्नु कुनै पनि हिसाबले न्यायोचित र व्यावहारिक छैन ।’

ज्ञापनपत्रमा चलनचल्तीमा रहेको मुख्य बाटोलाई खुम्च्याएर महानगरपालिकाको नियम र यस क्षेत्रको आवश्यकताभन्दा सानो बनाउने वडाध्यक्षको गैरजिम्मेवारीपूर्ण र हास्यास्पद कार्यको घोर भत्र्सना गर्दै यसले जनप्रतिनिधिको रूपमा रहेका वडाध्यक्षको विकासप्रतिको विगतको प्रतिबद्धतामा प्रश्नसमेत उठेको उल्लेख गरिएको छ ।

चलनचल्तीमा रहेको फराकिलो बाटोलाई महानगरपालिकाको नीति, नियमलाई लत्याउँदै साँघुरो बनाउने कार्यले आफूहरू स्तब्धित भएको र सो निर्णयलाई कार्यान्वयन गर्नु एउटा गल्तीमाथि झन् अर्को ठूलो गल्ती हुने भएकोले समयमै सचेत गराइएको स्थानीय शिवकान्त चालिसेले बताए । उक्त बाटोबाट साना–ठूला निजी सवारीसाधनका साथै दैनिक सार्वजनिक बससमेत गुड्छन् ।

जगतपुरको कदम आधारभूत विद्यालय रहेको खड्गौली चोकदेखि गौचरणको सोही मूल बाटोले जगतपुरलाई केरुङ्गा खोलाको पुलबाट वडा नम्बर २४ हुँदै त्यसवरिपरिको क्षेत्र तथा मेघौलीसम्म जोडेको छ । त्यस क्षेत्रमा मानवबस्तीको विकास भएदेखि नै धेरै वर्ष अगाडिदेखि यो बाटो चलनचल्तीमा रहेको स्थानीयले बताएका छन् । उक्त बाटो त्यस ठाउँमा सदिऔँदेखि बसोबास गरिरहेका स्थानीय बासिन्दाका लागि मात्रै होइन त्यस क्षेत्रमा यातायात आवागमन तथा पश्चिम चितवन क्षेत्रको आर्थिक, सामाजिक तथा पर्यटकीय विकासका लागि समेत अत्यन्तै महत्वपूर्ण सरोकार राख्ने बाटो हो ।

धेरै लामो समयदेखि चलनचल्तीमा रहेको उक्त बाटोको स्तरोन्नति गरी कालोपत्रे गर्न वडा कार्यालय तथा जनप्रतिनिधिहरूलाई आफूहरूले पटकपटक आग्रह गर्दै आएको स्थानीय ऋषिराम पौडेलले बताए । उनी भन्छन्, ‘स्थानीय तहमा जनप्रतिनिधि आएको वर्ष दिन बित्दासमेत चलनचल्तीको यति महत्वपूर्ण बाटो कायम गरी स्तरोन्नति गर्ने विषय त परै जाओस् चलनचल्तीको यो बाटोलाई थुनछेक गरेर बाटो नै साँघु¥याउने गरी स्थानीय बासिन्दाको तीव्र असहमतिबीच हाम्रो भावनामाथि नै प्रहार गर्ने गरी वडाध्यक्षले गराएको निर्णयप्रति हामी यस क्षेत्रका वासिन्दाको गम्भीर आपत्ति र असहमति रहेको छ ।’

सदिऔँदेखि चलनचल्तीमा रहेको उक्त बाटोलाई कायम गरी स्तरोन्नति गर्नैपर्ने विषयमा हाल भरतपुर महानगरपालिका–२३ का वडाध्यक्ष रहेका नरिनारायण पौडेल तथा सबै उम्मेदवारले गत स्थानीय तह निर्वाचनमा प्रतिबद्धतासमेत जाहेर गरेका स्थानीय बासिन्दा बताउँछन् । वडा नम्बर–१२ गौचरणका यमनाथ गिरी भन्छन्, ‘निर्वाचनअघि वडाध्यक्ष पौडेलले यहाँका बासिन्दाको बीचमा गएर चलनचल्तीको बाटोलाई कायम गरी स्तरोन्नति गर्ने प्रतिबद्धता जनाउनुभएको थियो, उहाँले अहिले एकाएक किन यस्तो निर्णय गर्नुभयो ? भन्ने विषयले हामी अचम्मित मात्रै भएका छैनौँ झस्किएका पनि छौँ ।’

विगतमा चितवन जिल्लाको नापी हुँदा गौचरण रहेका क्षेत्रमा चलनचल्तीको बाटोलाई कहीँकतै पनि बाटो कायम गरी अलग्गै नछुट्याइएको र अहिले विभिन्न ठाउँमा बाटो निर्माण तथा स्तरोन्नति गरिँदा चलनचल्तीमा रहेको सोही बाटोलाई कायम गरी स्तरोन्नति गरिँदै आएकोसमेत उक्त ज्ञापनपत्रमा स्मरण गराइएको छ । वडाध्यक्षले आफ्नो मनोमानीमा, उक्त क्षेत्रका बासिन्दाको सहमतिविपरीत अन्यायपूर्ण ढङ्गले, स्थानीय आवश्यकतासमेतलाई लत्याउँदै चार मिटर मात्रै बाटो कायम गर्ने गरी गरिएको निर्णय सच्याउन र बाटोको चौडाइ कम्तीमा १० मिटर कायम गर्ने निर्णय गर्न स्थानीयले ज्ञापनपत्रमार्फत वडाध्यक्ष पौडेलसमक्ष माग गरेका छन् ।

भरतपुर महानगरपालिकाबाट उक्त बाटो कालोपत्रे गर्न विनियोजन गरिएको रकम र योजनाअनुरूप स्थानीय उपभोक्ताहरूको समेत पूर्ण सहभागितामा पारदर्शी रूपमा बाटोको स्तरोन्नति गरी तुरुन्त पिच बाटो निर्माणकार्य अगाडि बढाउनसमेत ज्ञापनपत्रमा माग गरिएको छ । चलनचल्तीमा रहेको बाटो कायम गर्नुपर्ने उक्त क्षेत्रको सामूहिक मागलाई बेवास्ता गरी वडाध्यक्ष तथा वडा कार्यालय निरङ्कुश, मनोमानी र अन्यायपूर्ण ढङ्गले अगाडि बढ्ने कोसिस गरेमा उक्त कार्य आफूहरूलाई मान्य नहुने स्थानीय सीता पौडेलको भनाइ छ । ‘जनप्रतिनिधिले आफूलाई जनताको सेवक नभई शासक र जनतालाई रैती ठानी हाम्रो मागलाई बेवास्ता गरी यदि जबर्जस्ती ढङ्गले बलपूर्वक अगाडि बढ्न खोजे उक्त कार्य रोक्न हामी आन्दोलनमा उत्रिनसमेत बाध्य हुनेछौँ भने यसबाट निस्कने परिणामको जिम्मेवारी र जवाफदेही स्वयम् वडाको नेतृत्व गर्नुभएका वडाध्यक्ष र वडा कार्यालय हुने पनि जानकारी गराउँछौँ,’ उक्त ज्ञापनपत्रमा भनिएको छ ।

हाल भरतपुर महानगरपालिका– २३ मा पर्ने गौचरण विगतमा पटकपटक अतिक्रमण गर्ने प्रयास गर्दा स्थानीय बासिन्दाले नै त्यसको दह्रो प्रतिकार गरी बचाइराख्न सफल भएका र पहिले खुला रहेको गौचरण स्थानीयकै पहलमा तारबार गरी संरक्षण गरेर राखेको ज्ञापनपत्रमा उल्लेख छ । वडाका बासिन्दाका लागि गौचरण शारीरिक तन्दुरुस्तीका लागि बिहान, साँझ शारीरिक अभ्यास गर्ने, विभिन्न सभा, समारोह एवम् कार्यक्रम गर्ने र युवा तथा बालबालिकाका लागि खेलकुद मैदानको रूपमा समेत रहेको छ । यसलाई महानगरपालिका तथा वडा कार्यालयले दीर्घकालीन रूपमा संरक्षण गर्ने नीति अवलम्बन गर्दै आवश्यक बजेटको समेत प्रबन्ध गरी वडाको खेलकुद मैदानको रूपमा विकास गरिनुपर्छ भन्नेसमेत स्थानीय बासिन्दाको माग रहेको छ ।

गत साल उक्त बाटो पिच गर्न परेको बजेटसमेत वडाध्यक्षले नक्सा नै नभएको अर्को बाटोमा लगेर लगानी गरेको विषयसमेत उल्लेख गर्दै ज्ञापनपत्रमा अगाडि भनिएको छ, ‘वडाध्यक्षज्यू, तपाईंले यस्तो किन गर्नुभयो र कसरी सम्भव भयो भन्ने कुरा खोजीको विषय बन्न सक्छ । जनताका प्रतिनिधि तपाईंले आफ्नो वडाभित्रको खास एउटा स्थानको विकासको सन्दर्भमा किन यति धेरै पक्षपात गरिरहनुभएको छ ? लोकतान्त्रिक राज्यमा यस्तो अन्याय हामीले कतिन्जेल सहनुपर्ने हो ? यस्तो कार्य हेपाइको पराकाष्ठा भएको हाम्रो ठहर छ । त्यसैले यस्तो व्यवहार तुरुन्त सच्याएर वास्तविक रूपमा जनताका प्रतिनिधिको व्यवहार प्रदर्शन गर्न पनि हामी हार्दिकताका साथ अनुरोध गर्दछौँ । आशा छ न्यायका लागि उठाइएको हाम्रो आवाजको समयमै सुनुवाइ हुनेछ र जनप्रतिनिधिलाई साँच्चिकै जनताका प्रतिनिधिको रूपमा सम्मान गर्ने वातावरण तयार गर्नुहुने नै छ ।’