सङ्घीय समाजवादी फोरमले संविधान निर्माणदेखि नै असन्तुष्ट जनाएर संशोधनको माग निरन्तर उठाउँदै आएको थियो । तर, आइतबार नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसँग भेट भएपछि फोरम अध्यक्ष उपेन्द्र यादव एकाएक बदलिए । संशोधनको मागलाई थाती राखेर फोरम सरकारमा जान तयार रहेको वार्तामा सहभागी स्रोतले जनायो ।
प्रधानमन्त्री ओली र नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेतासँग छलफलपछि फोरमले नीति तथा कार्यक्रममाथि हालेको संशोधन फिर्ता लिएको र सरकारमा पनि सहभागी हुने सङ्केत देखाएको स्रोतको भनाइ छ । फोरम यसै साता सरकारमा सहभागी हुने नेकपाका एक नेताले जानकारी दिए ।
नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको आइतबार प्रधानमन्त्री ओलीले जवाफ दिनुअघि बिहान फोरम अध्यक्ष यादव बालुवाटार पुगेर ओलीसहित पुष्पकमल दाहाललाई भेटेका थिए ।
वार्तामा सहभागी नेकपा एक नेताका अनुसार प्रधानमन्त्री ओलीले मधेसकेन्द्रित दलहरूलाई पनि सरकारमा सहभागी गराउने प्रक्रिया शुरु गर्नुभएको छ । फोरम अध्यक्षसँग छलफलपछि संसद्मा जवाफ दिने क्रममा ओलीले संविधान संशोधन आवश्यकता र औचित्यका आधारमा हुने भन्दै सकारात्मक धारणा राखेकोको फोरम सरकारमा जान तयार देखिएको स्रोतको भनाइ छ ।
उता संविधान संशोधनबिना राष्ट्रिय जनता पार्टी नेपाल भने सरकारमा नजाने निर्णय गरेको छ । संशोधनबिना सरकारमा जाने आफ्नो कुनै योजना नरहेको राजपा नेपालका नेता अनिल झाले जानकारी दिए । प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको जवाफमा राजपाले चित्त बुझाएको छैन । वामपन्थी सरकारले मधेसकेन्द्रित दलहरूलाई पनि सहभागी बनाएर दुईतिहाइ पु¥याउने पहल सरकार गठन भएदेखि शुरु गरेको थियो ।
प्रतिक्रिया