ग्राण्ड जुनियर ओपन लन टेनिस प्रतियोगिता सम्पन्न

ग्राण्ड जुनियर ओपन लन टेनिस प्रतियोगिता सम्पन्न


गएको आइतबारदेखि शुरु भएको ‘फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस’ एकल प्रतियोगिता मण्डीखाटार टेनिस कोर्टमा सम्पन्न भएको छ । आइएमई फाउन्डेसनको आयोजना एवम् अल नेपाल लन टेनिस एसोसियसन (एएनएलटीए)को सहयोग र जुनियर टेनिस इनिसियसन (जेटीआई)को संयोजनमा सम्पन्न उक्त एकल प्रतियोगितामा ४० जना महिला र ५३ जना पुरुष गरी कूल त्रियानब्बे (९३) खेलाडीहरूले भाग लिएका थिए ।

गत शनिबार मण्डीखाटार टेनिस कोर्टमा आयोजित समापन कार्यक्रममा विजेता र उपविजेतालाई मेडल, प्रमाण–पत्र र पुरस्कार प्रदान गरिएको थियो । पुरस्कार वितरण समारोहका अतिथि एवम् नेपाल टेनिस एसोसिएसनका महासचिव मनोहर दास मुलले बालबालिकाहरुको चरित्र निर्माणमा खेलकुदको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै टेनिस खेलको विकासमा आइएमई फाउन्डेसनले देखाएको सदासयताका लागि धन्यवाद व्यक्त गर्नुभयो । आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले बालबालिकाहरू एकैप्रकारका क्षमता लिएर जन्मिने हुँदा उनीहरुको क्षमता अभिवृद्विमा अभिभावक चनाखो रहनुपर्ने बताउनुभयो ।

साताव्यापी प्रतियोगितामा चौध वर्षमुनिका विभिन्न उमेर समुहबाट कुल चालिस (४०) जना विजेता र उपविजेता छनोट भएका छन् । पुरस्कार स्वरूप विजेताहरूलाई थाइल्याण्डसम्मको हवाई टिकटको व्यवस्था गरिएको छ भने उपविजेताहरूले विभिन्न टेनिस कोर्टको प्रवेश शूल्क र चन्द्रागिरि केबलकार भ्रमणको सुविधा पाउनुहुनेछ ।

आइएमई फाउन्डेसन २०६६ सालमा दर्ता भएको परोपकारी संस्था हो । आइएमई ग्रुपले आफ्नो संस्थागत सामाजिक उत्तदायित्व अन्तर्गतका कार्यहरू यहि फाउन्डेसन मार्फत गर्दै आएको छ ।