नेकपा र फोरमबीच सहमति, फोरम सरकारमा जाने निश्चित

नेकपा र फोरमबीच सहमति, फोरम सरकारमा जाने निश्चित


नेपाल कम्युनिस्ट पार्टी र सङ्घीय समाजवादी फोरमबीच आज सोमबार बिहान २ बुँदे सहमतिमा सम्झौता भएपछि फोरम सरकारमा जाने सुनिश्चित भएको छ । हिजो आइतबार नै फोरमले सरकारमा जाने र नीति तथा कार्यक्रममा समर्थन गर्ने निर्णय गरेको थियो ।

आज बिहानको सम्झौताअनुसार फोरमले उठाएका संविधान संशोधनका माग क्रमशः सम्बोधन गर्र्दै जाने विषयमा नेकपाले सहमति जनाएको छ । यही सहमतिका आधारमा फोरम सरकारमा जान लागेको हो । संविधान संशोधन आवश्यकताअनुसार गर्नेबारे दुवै पक्ष सहमतिमा जुटेका हुन् । दुवै पक्षका नेताहरूले सहमतिका २ बुँदे एजेन्डामा लिखित हस्ताक्षरसमेत गरेका छन् ।

सहमतिपत्रमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा फोरमबाट अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् । हस्ताक्षरपछि पार्टीले उठाएका मागप्रति नेकपा सकारात्मक भएकोले फोरम सरकारमा जाने अध्यक्ष यादवले जानकारी दिए ।

हस्ताक्षर कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेल, फोरमका उपाध्यक्ष राजेन्द्र श्रेष्ठलगायतका नेताहरूको उपस्थिति थियो ।