प्रधानमन्त्री कप क्रिकेट

प्रधानमन्त्री कप क्रिकेट


प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब र प्रदेश नम्बर ७ ले विजयी शुरुआत गरेका छन् । एपीएफले प्रदेश ४ लाई ५ विकेटले हराउँदा प्रदेश ७ ले कर्णाली प्रदेशलाई ४८ रनले पराजित गरेको थियो ।

राष्ट्रिय टोलीका युवा स्टार रोहित पौडेलले मध्यक्रममा शानदार इनिङ खेलेपछि प्रदेश ४ पोखराले दिएको २ सय ४० रनको लक्ष्य एपीएफले ३६.३ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको थियो । चौका प्रहार गर्दै टिमलाई जित दिलाएका रोहितले ४१ बल खेलेर ७३ रन प्रहार गरेका थिए । छैटौँ नम्बरमा ब्याटिङमा आएका रोहितले ३ छक्का र १० चौका प्रहार गरेका थिए । उनी खेलको म्यान अफ द म्याचसमेत बने ।

ओपनर आसिफ शेख दोस्रो ओभरमै ५ रनमा र तेस्रो नम्बरमा आएका अनिल शाह तेस्रो ओभरमा १ रनको व्यक्तिगत स्कोरमा आउट भएपछि एपीएफ शुरुमै दबाबमा परेको थियो । तर, अर्का ओपनर सुवास खकुरेल र प्रदीप ऐरीले तेस्रो विकेटका लागि ७९ रनको साझेदारी गरी टिमलाई सहज अवस्थामा पु¥याएका थिए ।

१८औँ ओभरमा ऐरी ३७ रनमा आउट हुँदा २५औँ ओभरमा अर्धशतकनजिक पुगेर खकुरेल पनि आउट भए । उनले ६१ बल खेलेर ४८ रन बनाए । इन्ज्युरीपछि पहिलो एकदिवसीय प्रतियोगिता खेलेका सुवासले उत्कृष्ट पुनरागमन गरेका छन् ।

त्यसपछि आएका पृथु बास्कोटा र रोहितले एपीएफलाई सम्मानजनक जित दिलाएका हुन् । यी दुईले पाँचौँ विकेटका लागि ११० रनको साझेदारी गरेका थिए । पृथुले ५३ बलमा ५३ रन बनाउने क्रममा ७ चौका र १ छक्का प्रहार गरेका थिए ।

यसअघि टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको प्रदेश ४ ले बलियो मानिएको एपीएफविरुद्ध उत्कृष्ट व्याटिङ गरी निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३९ रन बनाएको थियो । प्रदेश ४ का लागि मध्यक्रमका ब्याट्सम्यान हरिबहादुर चौहानले ५७ रनको अर्धशतकीय पारी खेलेका थिए । उनले ६४ बल खेलेर ७ चौका र १ छक्का प्रहार गरेका थिए । उनका अलावा कप्तान विधान श्रेष्ठले ४३, विपिन खत्रीले २७ र अनिल गुरुङले २१ रन बनाएका थिए । ३८ अतिरिक्त रन पाएको थियो । बलिङतर्फ एपीएफका कमलसिंह ऐरीले ३ तथा अमरसिंह रौतेलाले २ विकेट लिए ।

मूलपानी मैदानमा भएको खेलमा प्रदेश नम्बर ७ ले कर्णाली प्रदेशलाई ४८ रनले पराजित गरेको थियो । टस जितेर ब्याटिङ गरेको प्रदेश ७ ले ३१.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय २५ रन बनाएको थियो । प्रदेश ७ का लागि सन्जु दमाईंले अर्धशतक पार गर्दै ५४ रन र सुनिल चन्दले २५ रनबाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन छुन सकेनन् ।

बलिङतर्फ टेक सलामी एक्लैले ५ विकेट लिए । उत्कृष्ट बलिङ गरेका उनले ८.३ ओभरमा जम्मा १२ रन दिएका थिए । १ सय २६ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश २२.२ ओभर खेल्दा ७७ रनमा अलआउट भयो । कर्णालीका रवीन्द्रजंग शाहीले ३६ तथा दिवान पुनले १३ रन बनाउँदा अन्यको प्रदर्शन खराब रह्यो । कर्णालीलाई सस्तैमा समेट्नका लागि म्यान अफ द म्याच शेर मल्लले ५ विकेट र विनोद लामा र सन्तोष भट्टले २–२ विकेट लिएका थिए ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेण्डी शेर्पा, राखेप सदस्यसचिव केशवकुमार विष्टलगायतको उपस्थिति थियो ।

पहिलोपटक सङ्घीय संरचनाअनुसार आयोजना भएको प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहेको छ । प्रतियोगिताअन्तर्गत जेठ १४ गते सोमबार हुने खेलहरूमा टीयू मैदानमा नेपाल पुलिस र प्रदेश ७ तथा मूलपानीमा प्रदेश २ र प्रदेश ४ बीच खेल हुनेछ ।